बिधुत्मा रैका भुजेल,
कोहलपुर, मंसिर १२,

गत मंसिर ५ गते कार्यालय समय थियो । दिउँसोको करिब १/२ बजेको हुँदो हो समय ठ्याक्कै एकिन भएन । म्यासेन्जरमा दुई पटक कल आएछ । काम गरिरहेका कारण खासै वास्ता गरिन । केही काम सकाएर कसले कल गरेको रहेछ भनेर हेर्न खोज्दा संचारिका समुह नेपाल, बाँके शाखाका अध्यक्ष रुपनी जि.एम.ले कल नउठेपछि आफूलाई कल गर्न भनिएको म्यासेज छोड्नु भएको रहेछ । तत्काल फोन गरे । र काम सोधे । उहाँले संचारिका समुह नेपाल, बाँके शाखाको समन्वय तथा बाँके राष्ट्रिय निकुजको सहकार्यमा रिर्पाेटिङका लागि पत्रकार महिलाहरुलाई बाँके राष्ट्रिय निकुञ्जको सफारीको व्यवस्था गरिएको र त्यसमा मलाई पनि समावेश गरिएको जानकारी दिनु भयो । मैले खुशीका साथ अरु केही नभनी हुन्छ भने अनि समय, स्थान लगायतका विभिन्न कुराहरुको जानकारी लिए ।

उसो त मलाई यात्रा भनेपछि पैदल होस् की सवारी होस् एकदमै मन पर्ने त्यसमाथी निकुञ्ज सफारी आफै-आफै प्रफुल्लित भईरहे । बिहान ७ बजेको समय थियो । ७ बजे नै पश्चिम सेक्टर कार्यालय बाँके राष्ट्रिय निकुञ्ज कोहलपुर पुगे । यता उता हेरे कसैलाई नदेखे पछि निकुञ्ज जाने साथीहरुको बारेमा फोनबाट जानकारी लिए र सबै जना आउँदै हुनुहुदो रहेछ । एकछिनमा पश्चिम सेक्टर कार्यालय बाँके राष्ट्रिय निकुञ्जका वार्डेन उत्तम चौधरी आउनु भयो । उहाँको कार्यकक्षामा बसेर निकुञ्ज तथा वन, वन्यजन्तु, तथा जैविक विविधता सम्बन्धि जानकारी लिए । यति बेला करिब ८ बजिसकेको थियो । यो समयमा संचारिक समुह नेपाल, लुम्बिनी प्रदेशका सदस्य लक्ष्मि तिमील्सेना, जिल्ला सदस्य सबि विश्वकर्मा पुगिसक्नु भएको थियो । लामो समय पछि भेटिएका भएर हामीले केही आफ्ना कुराहरु सेयर गर्याै । एकै छिनमा बाँके शाखाका महासचिब पवित्रा परियार र सदस्य शिवानी बि.क. पनि पुग्नु भयो ।

यतिञ्जेल पर्सा राष्ट्रिय निकुजबाट भरखरै सरुवा भई आएका निकुञ्ज कार्यालय प्रमुख मनोज शाहले हामीसँगै हुनुहुन्थ्यो । हामीले अध्यक्ष जी.एम.लाई कुर्याै उहाँ आउन समय लाग्ने सूचना पाएपछि केही ईन्ट्र्याक्सन कार्याक्रम औपचारिक रुपमा गर्याै । उहाँले ईतिहास कालदेखि हालसम्मका वन तथा वन्यजन्तु र मानव जीवनमा एकअर्काे प्रतिको सम्बन्धका बारेमा जानकारी गराउनु भयो । हामीले करिब आधा घण्टा बढी अन्तरक्रिया पनि गर्याै । उहाँ मार्फत निकुञ्जका कुरा, अहिलेसम्मको निकुञ्जको विकास तथा भावि योजनाका बारेमा दोहोरो छलफल गर्याै । यतिञ्जेल अध्यक्ष जि.एम. आईपुग्नु भयो र खाजा खाएर सफारीका लागि निस्किने भयौं खाजा खादा खादैं अर्को एकजना थप गर्ने कुरा भयो र ज्ञानु थापा पनि हाम्रो टिममा समावेश हुनु भयो । हामीलाई सफारीका लागि दुई वटा गाडि थिए । दुईवटै गाडिमा मिलेर करिब १० बजे कोहलपुरबाट निस्कियौं । हामीसँग वार्डेन उत्तम चोधरी पनि सँगै जानु भयो ।

बिच बाटोमा हामी एउटा गाडिमा भएकाहरुले वन वन्यजन्तु तथा निकुञ्ज विकासका बारेमा गफियौं । सबै कुरा यहाँ लेख्न सम्भव भएन । केही समय पछि हामी खड्गवारमा रहेको हात्तिसारमा पुग्यौं । हुन त त्यो हात्ति चर्नका लागि जंगल लगिसक्नु पर्ने थियो तर हामी आउने खबरले हात्ति हात्तिसारै थिए । हामीले हात्ति हेर्याै । केही थान फोटो खिच्यौं र हात्तिका आनीबानी बारेमा जानकारी लियौं । करिब १५ मिनेट पछि हात्ति जंगल लगियो । जंगल जादाको ४ वटा हात्तिको लस्कर साँच्चै मनमोहक देखियो ।

मन चङ्गा भयो । त्यसपछि हामी हात्तिसारको उत्तरपश्चिम क्षेत्र तिर लाग्यौं । केही समय हिडेपछि हामी एउटा पक्की अग्लो मचानमा पुग्यौं त्यहाँबाट देखिने निकुञ्जको सुन्दर दृष्यावलोकन गर्याै । हाम्रो उद्देश्य मचानबाट केही जंगली जनावर विषेश गरि नीलगाई हेर्ने थियो । तर दिउँसो भैसकेका कारण जनावर देखिएनन् । साँझ बिहान भने नीलगाई लगायतका जनावरहरु देखिने गरेका रहेछन् । मचानबाट हेर्दा बाँके राष्ट्रिय निकुञ्ज भौगोलिक हिसाबले होस्, चाहे जैविक विविधताको हिसाबले होस्, चाहे पर्यटनको अथाह सम्भावना बोकेको छ ।

निकुञ्ज भ्रमण गर्नेहरुले यहाँको प्रकृतीको रसस्वादन गर्न सक्नेछन् । घुम्न आउने पर्यटकलाई यहाँ रहेका विभिन्न वन्यजन्तुले स्वागत गर्नेछन् । आँखै अगाडि देखिने यहाँको भौगोलिक तथा जैविक सुन्दरताले पर्यटकको मन लोभ्याउने छ । यहाँका विभिन्न घाँसे मैदानमा देखिने विभिन्न जीवजन्तु पर्यटकको रोजाइँमा पर्नेछ । पर्यटनका लागि बाँके राष्ट्रिय निकुज सम्भावनाको खानी बन्न सक्ने प्रबल सम्भावना छ । तर बाँके राष्ट्रिय निकुञ्जको वृद्धि विकास कमै भएका कारण यसको प्रचारप्रसार हुनसकेको छैन । यो निकुञ्ज कटेर बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न जाने पर्यटकहरुलाई हामीले बाँकेमा रोक्न सकेका छैनौं । यदी हामीले अन्यन्त्र जाने पर्यटकहरुको रोजाईमा यो निकुञ्ज पार्न सके आर्थिक समृद्धिको ढोका खुल्न समय लाग्दैन । घाँसे मैदानमा चित्तलका बथान चरिरहेका हुन्छन्, घाँसे मैदानमा मयुर नाँचेको दृष्यले त पर्यटकको मनै लोभ्याउने गरेको छ ।

यहाँ यर्यटनको ठूलो सम्भावना रहे पनि प्रचारप्रसारको अभावले पर्यटक यहाँ आउन सकेका छैनन् भने पर्यटकहरुका लागी स्तरीय होटल, रेष्टुरेन्ट तथा लजहरु छैनन् । निकुञ्जको पश्चिम क्षेत्रमा गाभर भ्याली होम स्टे, मिनि गाभर होम स्टे तथा खप्तड कृषि होम स्टे संचालित छन् । यतिले मात्रै पर्यटकका लागि आवास पूर्ण हुँदैन । निकुञ्जभित्र साना-ठुला घाँसे मैदानसँगै ठाउँ–ठाउँमा अन्य थुप्रै साना–ठूला धेरै फाँटामा विभिन्न प्रजातीका चराचुरुङ्गी देख्न पाइन्छ । पर्यटकका लागि मचानबाट निकुञ्जको दृश्यावलोकन गराउने व्यवस्था गरिएको छ । पर्यटकको सहजताका लागि निकुञ्ज कार्यालयले बाटो मर्मत मचान निमार्ण र सरसफाइ जस्ता कार्यक्रम गरिरहेको छ । यहाँको निकुञ्जमा देखिने पाटोबाघ, हात्ति, कृष्णसार, चित्तल, मृग, मयुर पर्यटकको मुख्य आकर्षण हो । यो निकुञ्जको वृद्धि विकास गरि यहाँको सुन्दरताबारे राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गरे मात्रै यहाँको पर्यटन व्यवसाय फस्टाउन मद्दत पुग्ने छ ।

केही समय मचानमा गुजारेपछि छेउमै रहेको डुडुवा खोलाको तिरमा पुग्यौँ । खोला साना ठुला माछा तथा भुराहरु ओहोर दोहोर गरिरहेको दृष्य आँखामा पर्याे । हामीसँग जानुभएका निकुञ्जका दुई जना सवारी चालकले माछा तथा डुडुवा खोलाको बारेमा जानकारी दिए । खोलाले गरेको निकुञ्ज क्षेत्रको कटान तथा माछा संरक्षणका कुरा गयौं । निकुञ्ज क्षेत्रमा माछा मार्न नपाईने भएका कारण त्यहाँ माछा बाँच्न सकेका रहेछन् नभए स्थानीयले मारेर खाईदिदा रहेछन् । हाल माछा मार्ने मछवारालाई रोक लगाईएको रहेछ । त्यहाँबाट फर्केर आएर हात्तिसारमा पुग्दा सबैले एकएक गिलास पानी खायौं । माथी आकाशमा केही गिद्धहरुका वथान देखिए । सबैका आँखा आकाश तिर गए ।

आकाशमा पंख फिँजाउँदै स्वतन्त्र तवरले हामीलाई लोभ्याउँदै उडिरहेका दर्जन बढी गिद्धहरुलाई हामीले क्यामेरामा कैद पार्दै जनावरका लागि कृतिम निर्माण गरिएको पोखरी हेर्न गयौं हाम्रो आशा थियो पोखरीमा कुनै जनावर पानी खाईरहेको हुन सक्छ । पोखेरी पुग्दा जनावर त थिएनन् । मजुँर कराईरहेको आवाज सुनियो । मजुँरको सुन्दर दृष्य नदेखे पनि हामीले अनुमान लगायौं मजुर प्वाँक फिजाउँदैं नाँचिरहेछ रमाईरहेछ । त्यसपछि फेरी हामी घुम्दैं र्फिर्दै रुम्जाटार भने जस्तै हात्तिसार फर्कियौं । र गाडि चढेर गाभर तिर लाग्यौं । गाभरमा रहेको होम स्टेको न्यानो आथित्यतासँगै केही थारु परिकार र खाना खाएर सफारी सकाएर आ–आफ्नै काममा फर्कियौं ।

बि.सं. २०६७ साल अर्थात सन् २०१० मा स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्ज नेपालकै सबैभन्दा कान्छो राष्ट्रिय निकुञ्ज हो । ५५० वर्ग कि.मि.क्षेत्रफलमा फैलिएको बाँके राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्रको ३४३ वर्ग कि.मि. ओगटेको छ । यो निकुञ्जले पूर्वमा दाङको बबई तथा दंगीशरण गाउँपालिका, उत्तरमा सल्यानको कालिमाटी गाउँपालिका, पश्चिममा बैजनाथ गाउँपालिकाको वडा नम्ब्र ५ र ७ तथा उत्तरमा बाँके जिल्लाका विभिन्न स्थानलाई छोएको छ । भने यस निकुञ्जको पूर्वी सिमाना शिवखोला, पश्चिम कोहलपुर सुर्खेत राजमार्ग, उत्तर चुरे पर्वत र दक्षिण पूर्व–पश्चिम राजमार्ग यस निकुञ्जको सिमाक्षेत्र रहेको छ । यो निकुञ्ज पाटेबाघ र हात्तीको महत्वपूर्ण वासस्थानको रूपमा रहेको छ । बिषेश गरि बाघ संरक्षणका लागि स्थापना गरिएको यो निकुञ्जमा हालसम्म बाघको संख्या वृद्धि भएर २५ पुगिसकेको छ ।

बाँके राष्ट्रिय निकुज पनि बाघको संख्या वृद्धिका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । यस निकुञ्जमा ४४ प्रजातिका स्तनधारी जनावर, जैविक विविधताको दृष्टिले ८ वटा इकोसिष्टम, १२४ प्रजातिका वनस्पति, ३ सय भन्दा बढी प्रजातिका चरा, ५५ प्रजातिका माछा, ९ प्रकारका उभयचर, २२ सरीसृप रहेका छन् । यो निकुञ्ज पश्चिममा बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । जसका कारण ठूला वन्यजन्तुको लागि एकदमै महत्वपूर्ण बासस्थानको रूपमा रहेको छ । निकुञ्जमा ६ वटा रैथाने हात्ति रहेपनि बर्दिया राष्ट्रिय निकुञ्जबाट आवत जावत गर्ने भएका कारण २० देखि २५ वटा हात्तिको संख्या पुग्ने गरेको छ । निकुञ्जमा दुईवटा हात्तिसार रहेका छन् । जस मध्य खड्गवार हात्तिसार यहाँको प्रमुख हात्तिसार हो । जंगल सफारी तथा अवलोकनका लागि २ वटा हात्तिको प्रयोग हुँदै आएको छ । भने २ वटा हात्ति पर्यटकहरुको अवलोकनका लागि राखिएका छन् ।

निकुञ्जमा हुने चोरी सिकारी नियन्त्रणका लागि ७६ वटा उपभोक्त समुह गठन भएका छन् भने ९ वटा उपभोक्ता समिति रहेका छन् । यि समुहले चोरी सिकारी नियन्त्रणमा सहयोग गर्नुका साथै सूचना आदान प्रदान तथा अन्नवाली नोक्सानीका लागि सिफारिस गर्दै आएका छन् । निकुञ्जको सुरक्षाका लागि नेपाली सेना समेत परिचालित छन् । अर्जुन वाण गणका गणपति तथा प्रमुख सेनानी अशोक खड्काको नेतृत्वमा नेपाली सेना परिचालित छन् । अर्जुन वाण गणले निकुञ्जको सुरक्षाका लागि विभिन्न स्थानमा आफ्ना १६ वटा सुरक्षा पोष्ट खटाउँदैं आएको छ । निकुञ्जका २० वटा पोष्ट रहेका छन् । नेपाली सेनाको अर्जुन वाण गण तथा निकुञ्जको टोलीले एकल गस्ती, सवारी गस्ती, हात्ति गस्ति गर्दै आएको र एम्बुस बस्दै आएको पश्चि सेक्टर कार्यालय बाँके राष्ट्रिय निकुञ्जका वार्डेन उत्तम चौधरीले बताएका छन् । यता निकुञ्ज तथा वन्यजन्तु दृष्यावलोनका लागि निकुञ्जका विभिन्न स्थानमा पक्की तथा काठका मचान निर्माण गरिएका छन् भने जंगली जनावरलाई पानीका लागि प्राकृतिक पोखरीहरु निर्माण गरिएका छन् ।

वन्यजन्तुको संरक्षण मात्रै नभई जैविक मार्ग संरक्षण गर्ने पनि यस निकुञ्जको प्रमुख उद्देश्य रहेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख मनोज कुमार शाहले बताएका छन् । वन्यजन्तु संरक्षण तथा निकुञ्जमा हुनु सवारी दुर्घटनाबाट वन्यजन्तुलाई जोगाउनका लागि करिब १ महिला अघि टाईम कार्ड सिस्टमको लागु भएको शाहले बताए । यस्तै निकुञ्जको विकाससँगै निकुञ्ज सफारीका लागि सडक निर्माण हुँदैछ । पश्चिमको गाभरदेखि पूर्वको अगैयासम्मको सफारीका लागि सडक निर्माण हुँदै गरेको शाहले बताए । उनका अनुसार एउटा प्रमुख सडक तथा बाँकी सहायक सडकहरु रहेछन् । उनले भने,–‘समृद्धिको प्रमुख आधार भनेकै पर्यटन हो यसको प्रचारप्रसारमा सबैले लाग्नुपर्छ । यहाँ देखिने जीवजन्तुले यहाँ आउने पर्यटकको मनै लोभ्याउनेमा कुनै दुई मत छैन । उनले यो निकुञ्जको प्रचारप्रसारका लागि विभिन्न संघ, संस्था तथा निकायसँग सहकार्य गरेर काम गरिरहेको बताए ।

Leave a Reply

Your email address will not be published.