कोहलपुर, मंसिर ८,

नवौं नेपालगन्ज म्याराथनको उपाधि एपीएफका गोपीचन्द्र पार्कीले जितेका छन । उपाधिसँगै पार्कीले दुई लाख नगद पुरस्कार प्राप्त गरेका छन ।

उनले आठौं नेपालगन्ज म्याराथनका विजेता नेपाली सेनाका खडकबहादुर खड्कालाई पछि पार्दै उपाधि जितेका हुन । पार्कीले यसअघि छैटौं संस्करणको उपाधि पनि जितेका थिए । नेपाली सेनाका खड्काले दोस्रो स्थानमा चित्त बुझाउँदै एक लाख पुरस्कार पाएका छन भने एपीएफका किरणसिंह बोगटीले तेस्रो स्थान हासिल गर्दै नगद ५० हजार रुपियाँ पुरस्कार हात पारेका छन ।

महिलातर्फको म्यराथनमा भने सन्तोषी श्रेष्ठले लगातार तेस्रो पटक जितेर उपाधिमा ह्याट्रिक गरेकी छन । सातौं संस्करणबाट लगातार प्रथम स्थान हासिल गरेर श्रेष्ठले महिला म्याराथनमा ह्याट्रिक गरेकी हुन । यस्तै फूलमती राना द्वितीय र पुष्पा भण्डारीले तृतीय स्थान प्राप्त गरे । प्रथम स्थान हासिल गरेकी सन्तोषीले ७५ हजार रुपियाँ प्राप्त गरीन भने दोस्रो भएकी रानाले ५० हजार र तेस्रो हुन सफल भण्डारीले २५ हजार नगद पुरस्कार पाईन । त्यसैगरी ह्वीलचेयर दौडमा पनि पुरुष तथा महिलातर्फ अलगअलग शीर्ष तीनलाई पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँबाट पुरस्कृत गरिएको छ । किड्स रन तर्फका विजेतालाई शैक्षिक उपहारबाट प्रोत्साहन गरिनेछ आयोजकले जनाएको छ । कर्पोरेट पाँच किलोमिटर दौडमा विजेतालाई पदक र विभिन्न आकर्षक प्याकेजबाट सम्मानित गरिएको छ ।

प्रतियोगिता क्रियटिभ ह्यान्ड्सको आयोजना तथा क्रियटिभगञ्ज मिडिया एन्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा गरिएको थियो । नेपाल सरकार र तत्कालीन सशस्त्र माओवादीका बीचमा मसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताको स्मरणमा नेपालगन्ज म्याराथन हुँदै आएको छ । यता ज्ञान बहुमुखी क्याम्पस कोहलपुरले म्याराथनमा सहभागिहरुलाई पानी सहयोग गरेका थिए । कोहलपुरको साझाचोकमा बसेर स्वयमसेवकको भुमिकामा रहदैं पानी सहयोग गरेको हो । क्याम्पसका सहायक क्याम्पस प्रमुख तिलक खत्री तथा लेक्चर दिनेश अर्यालको नेतृत्वमा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले स्वयम सेवकको भुमिका निर्वाह गरेका हुन् । यस्तै खेलाडिहरुको सुरक्षामा खटिएका बेटर लाईफ ईन्स्टिच्युटले पानी र फलफुल वितरण गरेको छ ।

Leave a Reply

Your email address will not be published.