कोहलपुर, मंसिर ३,

अझै पनि टिकटकमा पहुँच पुगिरहेको वा चलिरहेको भए तत्काल जानकारी गराउन नेपाल दूरसञ्चार प्राधिकरणले आग्रह गरेको छ ।

इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकहरूलाई टिकटक नचल्ने बनाउन निर्देशन दिइसकेको जानकारी गराउँदै प्राधिकरणले अझै चलेको पाइएमा त्यसबारे जानकारी गराउन आग्रह गरेको हो । यस्तै, प्राधिकरणले टिकटक सञ्चालनमा रोक लगाउने सरकारको निर्णय प्रभावकारी कार्यान्वयनका लागि प्राविधिक समिति पनि गठन गरेको छ । प्राविधिक समितिले ७ दिनभित्र टिकटक बन्द गरे÷नगरेको सम्बन्धमा अनुगमन र अनुसन्धान गरी रिपोर्ट पेस गर्ने प्राधिकरणले जनाएको छ । यसअघि प्राधिकरणले सरकारको निर्णय कार्यान्वयनमा सहयोग गर्न टिकटकलाई आग्रह गरेको छ ।

टिकटकलाई बन्द गर्ने सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । रिटमा कानुन व्यवसायी तथा डिजिटल अधिकार वकालतकर्ताहरुले सरकारको निर्णय गैरसंवैधानिक रहेको दाबी गर्दै त्यसलाई खारेज गर्न माग गरेका छन् । यस रिटमा भोलि प्रारम्भिक सुनुवाइ हुँदैछ । सरकारले सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परेको भन्दै टिकटकको प्रयोगमा रोक लगाएको हो ।

Leave a Reply

Your email address will not be published.