कोहलपुर, कात्तिक २५,
शनिबार यमपञ्चक अर्थात् तिहार शुरु भएको छ ।
यमपञ्चकको पहिलो दिन शनिबार कागतिहार परेको छ । कात्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइने गरिन्छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ ।
यसवर्ष तिथिको घटबढका कारण भोलि कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको छ । गाईपूजा पर्सि सोमवार परेको छ । गोरुपूजा, हलितिहार, गोवर्द्धनपूजा, बलीपूजा र आत्म अर्थात् म्हपूजा मङ्गलवार परेको छ । कात्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवर्द्धन र म्हपूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । भाइटीका बुधवार परेको छ ।
बुधवार बिहान १० बजेर ५१ मिनेटमा भाइटीकाको उत्तम साइत रहेको छ । यस्तै दिपावली सुरु भएसँगै कोहलपुर बजार झिलिमिल बन्न थालेको छ । कोहलपुरका घर, भवन तथा चोकहरुमा रङ्गीचङ्गी बत्ती राख्न थालिएको छ । शहर बजारका ठूला भवनदेखि गाउँका साधारण घरमासम्म तिहारका झिलिमिली बत्ती बल्न थालेका छन् । तिहारलाई उज्यालोको पर्वको रुपमा लिईने भएकाले पनि यहाँका घर, भवन तथा चोकहरुमा थरीथरीका बत्ती बाल्न शुरु भएको हो ।