कोहलपुर, असोज १५,

पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाँकेको ओभरीदेखी जिरो प्वाइन्ट (खैरी चेक पोष्ट) सम्म टाइम कार्ड लागु गरीएको छ ।

बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गतको राजमार्ग क्षेत्रमा हुने दुर्घटना न्यूनिकरणकालागी पहिलो चरणमा ओभरीदेखी जिरो प्वाइन्टसम्मको १५ किलोमिटर क्षेत्रमा टाइम कार्ड लागु गरीएको बाँके राष्ट्रिय निकुञ्जका निमित्त संरक्षण अधिकृत अर्जुन भुषालले जानकारी दिए । टाइम कार्ड लागु भएपछि अब उक्त दुरी २३ देखी २८ मिनेटमा पार गर्नुपर्नेछ । निमित्त संरक्षण अधिकृत भुषालका अनुसार टाइम कार्ड लागु भएको क्षेत्रमा गाडी रोक्न पाईने छैन । दुर्घटनाको जोखिमयुक्त क्षेत्रमा ट्राफिक नियम अनुसार प्रतिघण्टा ४० किलोमिटरको रफ्तारले मात्र सवारी साधन चलाउन पाईने प्रावधान रहेको उल्लेख गर्दै भुषालले उक्त प्रावधानमै टेकेर पहिलो चरणमा ओभरीदेखी जिरो प्वाइन्टसम्मको दुरी निर्धारण गरीएको बताए ।

टाइम कार्ड लागु भएपछि निकुञ्ज क्षेत्रमा हुने सम्भावित दुर्घटना न्यूनिकरण हुने दावी गर्दै भुषालले नियम पालना गर्न÷गराउन सबैलाई आग्रह समेत गरे । बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गतको अर्जुन बाण गणका गणपती अशोक खड्काले निकुञ्जभित्रका राजमार्गमा टाइम कार्ड लागु गर्नु अनिवार्य रहेको बताए । बन्यजन्तुका साथै मानविय र भौतिक क्षति कम गर्न टाइम कार्डसँगै ट्राफिक सचेतानाका कार्यक्रमहरु पनि संचालन गरीनुपर्ने खड्काले बताए । निकुञ्ज क्षेत्रमा स्पाई क्यामराको मद्धतले सवारीसाधनको गति मापन गरी हरेक दिन नियम उलंघन गर्ने १५/१६ जनालाई कारबाही गर्दै आएको बताउँदै खड्काले राजमार्ग क्षेत्रको थप नियमनकालागि प्रविधिको उच्चतम प्रयोग गर्नुपर्ने बताए ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुन्दर तिवारीले बाँकेका प्रमुख जिल्ला अधिकरीसहित सरोकारवाला निकायसँगको बैठकले निकुञ्ज क्षेत्रमा टाइम कार्ड लागु गर्ने निर्माण गरेको बताए । सोही निर्णय अनुसार पहिलो चरणमा ओभरीदेखी खैरीसम्म लागु गरीएको टाइम कार्ड प्रणाली आगामी दिनमा थप केही स्थानमा समेत बिस्तार गर्नेगरी छलफल भईरहेको तिवारीले बताए ।

डिएस्पी तिवारीले यसअघि निकुञ्जमा हुने सवारी दुर्घटना रोक्न सवारी साधन बिग्रिएर सडकमा राख्नुपर्ने अवस्थामा अनिवार्य रूपमा सवारी साधनको ५० मिटर अगाडि र ५० मिटर पछाडि रिफ्लेक्टर ट्याङगल राख्ने, निकुञ्जभित्र बिग्रेको सवारी साधन मर्मतको लागि एक घण्टा भन्दा बढी लामो समय लाग्ने भएमा सम्बन्धित सवारी धनी र व्यवसायी पक्षले खर्च व्यहोर्ने गरी सुरक्षा निकायले सवारीलाई निकुञ्ज भन्दा बाहिर ल्याएर राख्ने र बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा फोहोर नगर्ने निर्णयलाई कडाइका साथ कार्यान्वयन गरीने बताए ।

Leave a Reply

Your email address will not be published.

You missed