कोहलपुर, भदौ २२,

कोहलपुर नगरपालिकाको स्थानीय मदिरा नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी कार्यविधि माथी व्यापक छलफल गर्दै कार्यान्वयन प्रक्रिया सुरु गरेको छ ।

बिहीबार नगरपालिकाका सरोकारवाला पक्षसँग कार्यविधि कार्यान्वयनका सवालमा छलफल कार्यक्रमको आयोजना गर्दै नगरपालिकाले पालिका क्षेत्रमा मदिरालाई व्यवस्थित गर्ने प्रक्रियाको सुरु गरेको हो । कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यको अध्यक्षतामा भएको छलफलमा ईलाकाप्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक डिएसपी सुन्दर तिवारीले अवैध मदिरा उत्पादन नियन्त्रण तथा मदिरा जन्य पदार्थको बिक्रि वितरण नियमन सम्बन्धि जानकारी दिएका थिए । उनले मदिरा सेवन गर्दै सवारी चलाएर भएका सडक दुर्घटना तथा मानवीय क्षतिका विषयमा जानकारी दिएका थिए ।

डिएसपी तिवारीले भदौ महिनाको २० गते मदिरा सेवन गरि कुटपिट, मदिरा सेवन गरेको अवस्थामा लडेर उपचारका क्रममा मृत्यु तथा अत्याधिक सेवन गरेका कारण मृत्यु भएको जानकारी दिएका थिए । तिवारीले मदिराको बढ्दो प्रयोग स्वास्थ्यका लागि हानिकारक भएको जान्दाजान्दै पनि अधिकांशले कुनै न कुनै बहानामा मादक पदार्थ सेवन गरिरहेको बताए । पछिल्लो समय मदिरा सेवन गरी सवारी चलाउनेको संख्या बढिरहेकोले चेकिङ्गलाई कडा गरको बताए । मदिराको सेवनपछि मानिस लठ्ठिनेदेखि विभिन्न अशोभनीय गतिविधिमा समेत संलग्न हुने भन्दै डिएसपी तिवारीले अनुमति बिना मदिराको बिक्री वितरण गर्ने, मदिरा सेवन गरेर जथाभावी गरी हिँड्ने र नशामा सवारी चलाउनेमाथि कारवाही गरिने बताए । तिवारीले भने,–‘अधिकांश सवारी दुर्घटना र घरेलु हिंसाको कारण मदिरा बनेको छ । यसलाई व्यवस्थापन गर्न सकिएन भने अवस्था भयावह हुन्छ ।’

डिएसपी तिवारीले मदिरा सम्बन्धी कानूनी व्यवस्था, मदिराको कुलतमा लाग्नुका कारणहरु, मरिा सेवनबाट पर्न सक्ने असरहरु, सर्वपक्षिय पहल लगायतका विभिन्न विषय माथी प्रकाश पारेका थिए । अव कुनै पनि व्यक्तिले इजाजतपत्र वेगर र इजाजतपत्र पाएकाले पनि इजाजतपत्रमा तोकिएको शर्त बाहेक मदिरा उत्पादन विक्री वितरण गर्न नपाइने गरी कार्यविधि बनाइएको नगर प्रहरी प्रमुख वीरबहादुर थापाले बताए । थापाले विहान १० बजेदेखि राती १० बजेसम्म मात्रै मदिरा विक्री वितरण गर्न पाउने उल्लेख गरे । नगरपालिकाबाट इजाजतपत्र लिएको भएता पनि नगरपालिकाको स्वास्थ्य, शिक्षा, सरकारी कार्यालय, धार्मिक स्थल र पुरातात्वीक महत्वका क्षेत्रहरुमा मदिराजन्य पदार्थ विक्री वितरण निषेधित क्षेत्र घोषणा गर्न सकिने कार्यविधिमा उल्लेख गरिएको छ । सार्वजनिक कार्यक्रम, सभा, समारोह, मेला, महोत्सव, धार्मिक कार्यक्रम, शैक्षिक कार्यक्रम, खेलकुद, भेला, सम्मेलन, गोष्ठि, कार्यशाला, कन्सर्ट जस्ता कार्यक्रममा मदिरा सेवन तथा बेचविखनमा प्रतिबन्ध लगाइएको छ ।

यस्तै किराना, खाद्यान्न, तरकारी, औषधि, मासु, कपडा, फलफूल लगायतका कुनैपनि पसलबाट मदिरा विक्री वितरण गर्नमा समेत कार्यविधिले रोक लगाएको छ । यस्तै मानव स्वास्थ्यप्रति चेतना गराउने सूचना तथा होर्डिङ वोर्ड बाहेक मदिराको प्रचार प्रसार, माइकिङ, विज्ञापन तथा होर्डिङ वोर्ड राख्न समेत नपाइने भएको छ । मदिरा विक्रेताहरुले मदिरा विक्री कक्षमा मदिरा बाहेक अन्य मालसामान राखेर कारोवार गर्न समेत नपाइने कार्यविधिमा उल्लेख गरिएको नगर प्रहरी प्रमुख थापाले बताए । कार्यविधि विपरीतको कसुर गर्नेलाई कारवाही समेत गरिने उल्लेख छ । नगरपालिका क्षेत्रभित्र नगरपालिकाबाट इजाजत नलि मदिरा विक्री वितरण गरेको पाइएमा मदिरा जफत गरी पहिलो पटक रु १० हजार, दोस्रो पटक रु २० हजार र तेस्रो पटक र सो भन्दा बढी भएमा प्रत्येक पटकको लागि रु ३० हजार जरिवाना गरिने उल्लेख छ ।

नगरपालिका क्षेत्रभित्र कसैले घरेलु मदिरा उत्पादन, विक्री वितरण तथा ओसारपसार गरेको भेटिएमा उक्त मदिरा नष्ट गरि पहिलो पटक रु ५ हजार, दोस्रो पटक रु १० हजार र तेस्रो पटक रु १५ हजार जरिवाना गरिने पनि कार्यविधिमा उल्लेख छ । मदिरालाई व्यवस्थित र नियन्त्रण गर्न मदिरा व्यवस्थापन कोषको समेत व्यवस्था गरिएको थापाले जानकारी दिए । ‘कार्यविधि विपरीत मदिरा विक्री वितरण र सेवन गर्ने व्यक्तिबाट कार्यविधि बमोजिम उठेको जरिवाना रकमको १० प्रतिशत सुराक दिने व्यक्तिलाई, २५ प्रतिशत सुरक्षा निकायलाई इन्धन, अन्य व्यवस्थापनका लागि २५ प्रतिशत सम्बन्धित वढा कार्यालयलाई र ४० प्रतिशत नगरपालिकाको मदिरा व्यवस्थापन कोषमा रहने पनि जानकारी दिए ।

मदिरा कोषको रकम गम्भीर रोेग लागेका तर आर्थिक अभावका कारण उपचार गर्न असमर्थ भएका व्यक्तिलाई सहयोग गर्ने, घरेलु हिंसामा परेका महिलालाई आवश्यक जीविकोपार्जनका लागि आवश्यक सहयोग गर्ने लगायतका कार्यमा खर्चिने भएको छ । कार्यविधि कार्यान्वयनका लागि आयोजना गरिएको छलफल कार्यक्रममा नगर प्रमुख पूर्ण प्रसाद आचार्यले नगरपालिका क्षेत्रभित्र मदिराजन्य पदार्थको कारोवार र प्रयोगलाई व्यवस्थित गर्ने प्रयास गरिएको बताए । कार्यक्रमको समापन गर्दै नगर प्रमुख आचार्यले मदिराको कारोबार, बिक्री वितरणलाई व्यवस्थित गर्न कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याएको बताएका छन् । आचार्यले मदिराको सेवनले गर्दा सार्वजनिक स्थलमा हुने अवाञ्छित क्रियाकलाप, हो–हल्ला, झै–झगडा लगायतका कार्य नियन्त्रण गरी कानुनी कारबाही गर्नका लागि कार्यविधिले मार्ग प्रशस्त गरेको बताए । प्रचलित कानुन र कार्यविधिबमोजिम व्यवसाय दर्ता नगरी अवैध मदिराको कारोबार गरेको पाइएमा जरिवाना र अन्य दस्तुर प्रचलित कानुनबमोजिम असुलउपर गर्ने नियम बनाइएको बताए ।

कार्यक्रममा सहभागीहरुले कार्यविधिलाई कार्यान्वयन गरेर लैजान स्थानीय सरकारलाई सुझाव दिए । उनीहरुले कार्यविधि कार्यान्वयनसँगै अनुगमनको पाटोलाई पनि प्रभावकारी बनाएर लैजानु पर्ने धारणा राखेका थिए । कार्यक्रममा कोहलपुर नगरपालिका क्षेत्रका राजनीतिक दलका प्रतिनिधि, उद्योगी व्यवसायी, जनप्रतिनिधि, सञ्चारकर्मी, विभिन्न सामाजिक संघसंस्थाका अगुवा, आमा समूह लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.