कोहलपुर, भदौ २१,
हामी चाहन्छौं, आफ्नो बच्चा स्वस्थ, तन्दुरुस्त, तगडा, बलियो, फूर्तिलो तथा सक्रिय र उर्जावान् होस् । यसका लागि कामना गरेर मात्र पुग्दैन, उनीहरुलाई केही कुरामा अभ्यस्त गराउनुपर्छ । यसका केही अभ्यासहरु :
–बच्चाहरुलाई सफा राखेमा उनीहरु स्वस्थ मात्रै रहदैनन्, उनीहरुको आकर्षण र आत्मविश्वास पनि बढ्छ । बच्चाहरुलाई सानोमा स्वस्थ बनाइदिने मात्रै होइन उनीहरुलाई आफ्नो सरसफाइ कसरी गर्ने भनेर पनि सिकाउनुपर्छ ।
–हरेक बच्चामा बाल्यकालदेखि लागेको बानी ठूलो हुँदा सम्म पनि बसिरहन्छ । त्यसैले उनीहरुलाई सानैदेखि आफ्नो सरसफाइको बारेमा सिकाउनुपर्छ ।
–मुखको सरसफाई प्रत्येक बच्चाको दिनचर्याको एक प्रमुख हिस्सा हुनुपर्छ । मुखको सरसफाईमा उचित ध्यान दिएमा बच्चाहरु दाँतको समस्या, सास गन्हाउने र मुटुको रोगबाट बच्न सक्छन् ।
–आफ्नो बच्चालाई दिनमा २ पटक कम्तीमा पनि २ मिनेटको लागि आफ्नो दाँतलाई ब्रसले सफा गर्न आवश्यक छ । विशेषगरि खाना खाएपछि मुखको सफाइ आवश्यक छ ।
–बच्चालाई कम उमेरदेखि नै सँधै ब्रस र कुल्ला गर्ने बानी बसाल्नुहोस् ।
–आफ्नो बच्चाको दाँत नियमित रुपले जाँच गराउनुहोस् ।
–आफ्नो बच्चाहरुमा सकेसम्म दैनिक नुहाउने बानी बसाल्नुहोस् । दैनिक नुहाउनाले शरीर त सफा नै रहन्छ उनीहरुको मृत छाला पनि निस्कन्छ ।
–बच्चाहरुमा हप्तामा २ पटक कपाललाई स्याम्पु लगाएर धुने बानी बनाउनुहोस् यसले कपालबाट तेल र फोहोर राम्रोसँग निस्कन्छ ।
–बच्चामा हात नियमित धुने बानी बसाउनुहोस् । उनीहरुलाई हात धुन थोरै समय मात्रै लाग्छ भन्ने सिकाउनुहोस् । साथै उनीहरुलाई हात धुनाले विभिन्न रोगका ब्याक्टेरियाहरु फैलनबाट रोक्न र बिरामी हुनबाट बच्न सकिन्छ भनेर बुझाउनुहोस् ।
–विशेषगरि खाना खाएपछि र खानुअघि हात धुन सिकाउनुपर्छ । हाँछ्यु वा खोकेपछि, कुनै खेल खेलेपछि, वासरुम गएपछि हात धुन पर्छ भनेर सिकाउनुहोस् ।
–बच्चाहरुलाई हात धुने समयमा साबुन, हृयान्डवास र पानीको सही प्रयोग गर्न सिकाउनुहोस् ।
–फोहोर खुट्टाले दुर्गन्ध आउनेमात्रै होइन दाद र अन्य संक्रमणको पनि खतरा बढ्छ त्यसैले बच्चालाई खुट्टा सफा राख्न पनि धेरै आवश्यक छ भन्ने थाहा हुन पर्छ ।
–बच्चाहरुहरुको नङलाई सफा राख्न सिकाउनुहोस् । फोहोर नङमा ब्याक्टेरियाहरु जम्मा हुन्छ जसले बिरामी बनाउन सक्छ ।
नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरद्धारा जनहितमा जारी सन्देश