बिधुत्मा रैका,
कोहलपुर, भदौ १,
‘भनिन्छ पढ्ने ईच्छ्यालाई उमेरले छेक्दैन’ यो पुर्खादेखि चलन चल्तीमा आएको वाक्याङ्श हो । हो, साँच्चै पढ्ने उमेरलाई उमेरले नछेक्दो रहेछ । तर उमेरले मात्रै पनि नहुँदो रहेछ । पढ्नका लागि मन, ईच्छ्या, रुची पनि उत्तिकै जरुरी हुन्छ । कोहलपुर नगरपालिका वडा नम्बर ५ एनसिसिएन की प्रेमदेवी गिरी अहिले उमेरले ६१ पुगिसकेकी छन् । उनका उमेरका महिलाहरुलाई बुढेसकालले छोईसक्यो । तर उनी भने बालापनमा फर्किएकी छन् । घर्किदैं गएको उमेरसँगै उनीभित्रका कैयन सपना सकिए ।
बितेर गएको समयसँगै उनको जोवन गयो । तर उनलाई पढ्न ईच्छ्याले कहिल्यै छोडेन । कर्णाली प्रदेशको सुर्खेत माईत रहेकी प्रेमदेवी सानैदेखि धेरै पढेर ठुलो मान्छे बन्ने अभिलाषा बोकेर विद्यालय जान थालिन् । घरको पारिवारिक बाध्यताका कारण उनका कलिला सपनाहरु निमोठिनु पर्याे । उनले ५ कक्षा पास गरेर पढाई छोड्नु परेको तितो अनुभव सुनाईन् । नभन्दै उनको बिहे भयो । बिहे गरेपछि घरमा पढ्ने सहज वातावरण नभएर छोड्नु परेको उनले बताईन् । उनी भन्छिन्,–‘बिहेपछि मेरो पढाई छुट्यो, सपना पनि टुट्यो ।’ तर एकदिन न एकदिन पढ्ने छु भन्ने विश्वास भने उनको कहिले टुटेको थिएन ।
आज एकाईसौं शताब्दीमा पनि महिलाहरुलाई हेर्ने समुदायको दृष्टिकोण फरक छ । झनै त्यो बेला कस्तो हुन्थ्यो होला हामी कल्पना गर्न सक्छौ । त्यसैले उनी घरधन्दा चुल्होचौको तथा पारिवारिक काममै व्यवस्त भईन् । घरभित्रको काम होस् बाहिरको उनी बेलाबेला आफू पढिरहेको झझल्को गरिरहन्थिन् । समय बित्दै जादा उनी ५ छोरी र एक छोराकी आमा बनिन् । अब उनको जिम्मेवारी झनै बढ्यो । आफ्नो हरेक ईच्छ्या मार्दै उनले छोराछोरी हुर्काईन्, बढाईन् अनि पढाईन् । छोरी छोरी सबै आ–आफ्नो ठाउँमा जिम्मेवार भैसकेका छन् । प्रेमदेवीकी जेठी छोरीका छोरा बुहारी त अहिले अष्ट्रेलियामा छन् ।
उनका श्रीमान पेसाले ड्राईभर हुन् । उनी पनि बुढो भैसके र सबै काम छोडेर घरै बस्दै आएका छन् । तर उनीभने किताब कापी कलमको झोला बोकेर स्कुल तिर आउँछिन् । बिहान सबेर उठेर खाना नास्ता बनाई घरको सबै काम भ्याएर उनी कोहलपुरको साझामा रहेको ज्ञानज्योति माद्यामिक विद्यालयमा पढ्न आउँछिन् । दिनभर शिक्षक तथा आफूसँगै पढेने बालबालिकासँग रमाउँदैं पढ्छिन् । उनलाई आफू उमेरका महिलाहरुहरु हाँसो बनाएको बताउछिन् । उनी भन्छिन्,–‘सुरुमा भर्ना हुँदाखेरी यो उमेरमा पनि के पढ्न मन लागेको होला । यो त आराम गर्नुपर्ने उमेर हो भन्थे । तर मैले कसैको कुरा सुनिन ।’ उनलाई उनीसँगै पढेको विद्यार्थीले आमा भनेर बोलाउछन् । उनीसँग मिलेर पढ्छन् । उनले नजानेको कुरा सिकाई पनि दिने गरेको उनी बताउँछिन् ।
सार्वजनिक सवारी चढेर उनी विद्यालयसम्म पुग्छिन् । सँगै यात्रा गरिरहेकाहरु उनले पहिरेको विद्यालय पोषाक, भिरेको झोला देखेर अचम्म मान्दै उनलाई हेर्छन् । तर उनी यी सबै कुरालाई सामान्य मान्छै आएकी छिन् । कसैले त सोधिपनि हाल्छन्,–‘बसमा आउँछु अनि मलाई देखेर हेर्छन् । म बुझ्छु उनीहरुको कुरा तर खासै मतलब लाग्दैन । उनी भन्छिन्, कसैले त सोधि नै हाल्छन् । यो उमेरमा पढ्न जानुभएको भनेर, म सजिलै हजुर भनिदिन्छु ।’ पढ्ने ईच्या भएका अन्य महिलाहरुलाई पनि विद्यालय भर्ना हुन उनी सुझाव दिन्छिन् ।
उनका परिवारको पनि उनलाई राम्रो साथ मिलेको छ । पढाइको महत्वलाई बुझेर बुढेसकालमा पढ्न सुरू गर्नेदेखि उमेर छँदा पढ्ने अवसर नपाएर उमेर ढल्किएपछि पढाइलाई निरन्तरता दिने पनि समाजमा प्रशस्त छन् । सांसद शान्ता चौधरीदेखि नायिका करिश्मा मानन्धरसम्मको चर्चा हामीले सुनेकै हौ । त्यस्तै एक उदाहरण हुन् रामेछापकी रत्नकुमारी सुनुवार । उनले पनि ८० बर्षको उमेरमा कक्षा १२ को परीक्षा पास गरिन् । गत साउनमा प्रकाशित कक्षा १२ को परिक्षाको नतिजा आउँदा रत्नकुमारी पास भईन् । प्रेमदेवी पनि स्वास्थ्यले साथ दिएसम्म पढाईलाई विश्राम नलिने बताउँछिन् । उमेरले नातानातीना खेलाएर निवृत जीवन विताउने अधिकांश महिलाहरु भन्दा उनी फरक देखिएकी छिन् ।
कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्य, उपप्रमुख सैगीता सुबेदी, कोहलपुर ११ क वडाध्यक्ष कल्पना शर्मा, विद्यालयका शिक्षक, व्यवस्थापन समिति लगायतले उनलाई खादा लगायर सम्मान समेत गरेका छन् । प्रेमदेवीलाई शैक्षिक सफलता दिलाउन तपाई हाम्रो हौसला चाहिन्छ ।