कोहलपुर, साउन ३२,

कोहलपुर नगरपालिका वडा न ११ मा अवस्थित श्री ज्ञानज्योती माध्यामिक विद्यालयमा विद्यार्थीसँग मेयर कार्यक्रम सम्पन्न भएको छ ।

ज्ञानज्योती माध्यामिक विद्यालयको आयोजना तथा एसएएमए, एसजीसिपी नेपाल, एनसिएस बाँकेको सहकार्यमा विद्यार्थीसँग मेयर कार्यक्रमको आयोजना गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवलाल बोहोराको अध्यक्षतामा भएको कार्यक्रममा कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्य प्रमुख अतिथी रहेको थिए भने उपप्रमुख संगीता सुबेदी विशिष्ट अतिथी रहेकी थिईन् । विद्यार्थीसँग मेयर कार्यक्रममा शैक्षिक सुधार र गुणस्तरीय शिक्षाका लागि भएका गतिविधिबारे मेयर, उपमेयर र नगरशिक्षा शाखा प्रमुख, वडाध्यक्ष लगायतका व्यत्तिःहरुसँग प्रश्नोत्तर गरिएको थियो ।

विद्यालयका विद्यार्थीहरुले नगरले शिक्षा क्षेत्रमा गरेका गतिविधि, लगानी, शैक्षिक सुधार, व्यवस्थापन, अनुगमन र नतिजाको विषयमा सवाल उठाएका थिए । बिद्यालयमा खानेपानीको समस्या, शौचालयको सरसफाई, शिक्षक दरबन्दी, बिद्यालयमा पर्खाल, सिसीटिभी क्यामेरा लगाएत समस्या रहदै आएको बिद्यार्थीहरुले सुनाएका थिए । विद्यार्थीहरुले उठाएका विविध सवालको जवाफ दिँदै आचार्यले कोहलपुर नगरले शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै सीमित साधन र स्रोतका बाबजुद पनि शैक्षिक सुधारको थालनी भइरहेको उल्लेख गरे । उनले भने,–‘शैक्षिक क्षेत्रमा भएका विकृति र त्रुटिहरुलाई सचेत विद्यार्थीले औँल्याउन सक्नुपर्छ । शैक्षिक क्षेत्रको कमीकमजोरी हटाउन र समस्या समाधान गर्न हामी चौबिसै घन्टा तत्पर छौँ ।’

उनले अध्ययन अध्यापनका क्रममा आइपर्ने कुनै पनि समस्या भएमा आफूलाई जानकारी गराउन अनुरोध गरे । शिक्षा र स्वास्थ्य क्षेत्र निजीकरणका कारण महँगो बन्दै गएको बताउँदै उनले सामुदायिक विद्यालयलाई सुधार गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने ध्यय स्थानीय सरकारको हैसियतले नगरपालिकाको रहेको उल्लेख गरे । विद्यार्थीहरु लागूऔषध, मद्यपान र धूमपानको कुलतमा फस्दै गएको समस्याबारे सोधिएको जिज्ञासामा आचार्यले यस विषयमा नगरपालिका चिन्तित रहेको र कुलतमा फसेका युवाहरुलाई सचेतना फैलाईरहेको बताए । उनले छिल्लो समय विद्यालयका भवनहरु अपाङ्गमैत्री बन्दै गएको र अपाङ्गता भएका विद्यार्थीका लागि नगरपालिकाले पढ्ने व्यवस्था मिलाएको बताए । अब अपाङ्गताकै कारण कोही पनि अध्ययन गर्नबाट बञ्चित हुनु नपर्ने उनको भनाइ थियो ।

उनले विद्यालयमा भएको शुद्ध खानेपानीको समस्या समाधान गरिने तथा सौचालय व्यवस्थापन गरिने बताए । विद्यालयको पाठ्यपुस्तकमा स्थानीय निकाय, यसको गठन प्रक्रिया देखि काम, कर्तव्य र अधिकार समेत पठनपाठन हुने गरेको स्मरण गर्दै नगर प्रमुख आचार्यले यसरी गरिने अन्तरक्रियात्मक कार्यक्रमबाट विद्यार्थीले व्यवहारिक ज्ञान हासिल गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा बोल्दै उपप्रमुख सुवेदीले विद्यालयको शैक्षिक गुणस्तर विकासका लागि नगरपालिकाबाट कुनैपनि कसर बाँकी नराखिने बताउँदै सम्पूर्ण प्रधानाध्यापक तथा शिक्षकहरुले आ–आफ्नो कार्यक्षेत्रमा इमान्दार भएर जिम्मेवारी निभाउन आग्रह गरिन् ।

उनले यस विद्यालयमा रहेका आवश्यकता तथा समस्याहरु समाधान गर्ने प्रतिवद्धता व्यक्त गरिन् । विद्यालयको भौतिक सुधारदेखि शिक्षकहरुको क्षमता अभिवृद्धिका लागि पालिकाबाट विभिन्न शीर्षकमा बजेटहरु उपलब्ध गराइएको र सो को सदुपयोग गर्न पनि आग्रह गरिन् । कार्यक्रममा कक्षा ६ मा अध्ययन गर्दै आएकी ६१ वर्षिय प्रेमदेवी गिरीलाई सम्मान गरिएको थियो । कार्यक्रममा वडा नम्बर ११ का वडाध्यक्ष कल्पना अधिकारी, सदस्य सारा नेपाली लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन शिक्षक तथा पत्रकार बिनोद भट्टराईले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.