कोहलपुर, साउन ३२,
बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ३ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा मास हिस्टेरिया भएका विद्यार्थीहरूलाई मानसिक परामर्श दिईएको छ ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई मास हिस्टेरिया हुन थालेपछि उनीहरूलाई परामर्श दिईएको हो । विद्यालयका करिब ७० जना विद्यार्थीहरूलाई मास हिस्टेरियाको समस्या देखा परेको थियो । रोटाराक्ट क्लब नेपालगंज मेडिकल कलेजका सहरोज सिद्धिकी, डिर्पाटमेन्ट अफ साईक्याट्रिक्स मोहम्मद अैनुद्दिन बागबान्सहितका ३ जना तथा बैजनाथ गाउँपालिका शाखा प्रमुख लक्ष्मण राज शाही सहितका ३ जनाले उनीहरूलाई परामर्श दिएका थिए ।
विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरू अचानक चिच्याउने, बेहोस हुने, उफ्रने, रूने, हाँस्ने गरेका थिए । मास हिस्टेरिया कुनैबेला ठिक हुने, फेरि अचानक ढल्ने, चिच्याउने, रूने, हाँस्ने लक्षणहरू हुने रोटाराक्ट क्लबका अध्यक्ष सिद्धिकीले बताएका छन् । उनले भने,–‘यस्ता बिरामीलाई भुतप्रेत लाग्यो भन्दै धामी झाँक्रीकोमा लैजाने गर्छन् । तर यो मानसिक रोग हो । धामी झाँक्रिले भन्दा पनि परामर्शले निको हुने रोग हो । हामीले पनि त्यो विद्यालयमा सामुहिक रूपमा देखिएको समस्याको समाधानका लागि परामर्श दिएका हौं ।’
उनले मानसिक क्षेत्रका तन्तुहरूमा अस्थायी रूपले विकृति उत्पन्न भएर सम्वेदनात्मक क्षेत्रबाट प्रत्यक्ष सम्पर्क टुट्ने वा उल्टो प्रभाव पर्न गई मानिस असन्तुलित हुने वा अत्याधिक समवेदना उत्पन हुने रोग नै मास हिस्टेरिया भएको बताए । हिस्टेरिया मनोवैज्ञानिक अवस्था भएको बताउँदै उनले इन्फेक्सनमा ज्वरो आउनु जस्तै हिस्टेरिया मनोवैज्ञानिक प्रतिरक्षा भएको बताए । बालिका, किशोरीहरूलाई अभिभावक वा अन्य आफन्त साथीभाइबाट उचित परामर्श नपाउँदा यो रोग लाग्ने सम्भावना बढी हुने उनको भनाइ छ ।
कुरीति, अशिक्षा, चेतनाको कमि, उचित परामर्शको पहुँच जस्ता कुराले हिस्टेरियाको उपचारमा ढिलाइ हुने गरेकाले मानसिक रोगको समस्या उत्पन्न हुँदै आएको छ । मास हिस्टेरियाको समस्या बालिका वा किशोरीमा बढी देखिने गरेको छ । सिद्धिकीले धामी झाँक्रीको भरमा नपरी मानसिक रोग विशेषज्ञ चिकित्सकको सल्लाहमा उपचार गराउन आग्रह गरे ।