कोहलपुर, असार २४,
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले विकास र समृद्धिका लागि सबैको सहकार्य हुनुपर्ने बताएक छन् ।
बाँकेको कोहलपुर नगरपालिकाको चौराहमा निर्माण भएको लामोदुरीको बसपार्कको उद्घाटनका क्रममा मुख्यमन्त्री चौधरीले ‘एकता बल हुने भएका कारण सबै राजनितिक दलहरु एक ठाउँमा आउन जरुरी रहेको बताए । उनले कोहलपुरको मात्र नभई लुम्बिनी प्रदेशकै समृद्धि र विकासका लागि हातेमालो गर्न सुझाव दिए । यातायात कार्यालय समेत कोहलपुरमा ल्याउन पहल गर्ने मुख्यमन्त्री चौधरीको आश्वासन दिए ।
आइतबार औपचारिक कार्यक्रम गरी उद्घाटन भएको बसपार्क पश्चिम नेपालकै सुविधा सम्पन्न बसपार्क हो । बसपार्क निर्माणका लागि ६० प्रतिशत ऋण लगानी नगर विकास कोषले गरेको छ भने ४० प्रतिशत कोहलपुर नगरपालिका आफैँले लगानी गरेको छ । नगर विकास कोषलाई वार्षिक ८ प्रतिशत ब्याज रकम तिर्नेगरी २० वर्षका लागि कोषसँग ऋण सम्झौता गरिएको थियो ।
बसपार्कमा बस पार्किङ, टिकट काउण्टर, सपिङ कम्प्लेक्स, ३ वटा प्लेटफर्म र बसपार्कभित्रै व्यावसायिक सटरसँगै, स्तनपान कक्ष, धुम्रपान कक्ष, सुरक्षा कक्ष तथा विद्युतीय चाजिङ्ग स्टेशनको व्यवस्था मिलाइएको छ । लुम्बिनी प्रदेशका सभा सदस्य सञ्जु कुमारी चौधरी, दुर्गा चौधरी, बसन्ती अधिकारी, कृष्ण केसी ‘नमूना’ लगायतले कोहलपुरकै विकास र समृद्धिका लागि पहलकदमी गरिरहेको बताए । समग्र बाँके जिल्लाको विकास र समृद्धिका लागि सबै एकजुट भएर काम गर्ने प्रतिबद्धता गरे ।
कोहलपुर नगरपालिकाका पूर्व नगर प्रमुख लुट बहादुर रावतले निर्माण व्यवसायीहरुले काम नगर्ने र ठेक्काको म्याद बढाउने काम गरेको भन्दै आक्रोस पोखेका थिए । कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यले नगर विकासमा समन्वय र सहकार्य गरिरहेको बताए । ‘पहिलेको जस्तो मनपरी चल्दैन,’ उनले भने, ‘विकास र समृद्धिको राजनितिक आडमा विरोध र अवरोध गर्ने पाइदैन ।’ विकास र समृद्धिमा कुन ठाउँ के गर्ने, कसरी गर्ने कहाँबाट बजेटको व्यवस्थापन गर्ने विषयमा लक्षित हुन नगर प्रमुख आचार्यले आग्रह गरे ।
कोहलपुर नगरपालिका प्रमुख प्रशाकिय अधिकृत टिकाराम ढकालले सुविधा सम्पन्न लामोदुरीको बसपार्कको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । ‘३० करोड ६२ लाख ७ हजार ७ सय १ रुपैयामा लामोदुरीको बसपार्क निर्माण भएको छ,’ उनले भने ,’जसमध्ये नगर विकास कोषबाट ऋण १८ करोड ३७ लाख २४ हजार ६ सय २१ रुपैया र नगरपालिबाट १२ करोड २४ लाख ८३ हजार ८० रुपैया रहेको छ ।’ हाल बार्षिक रुपमा नगर विकास कोषलाई तिर्नुपर्ने बार्षिक साँवा व्याज २ करोड १६ लाख रहेको प्रमुख प्रशासकिय अधिकृत ढकालले बताए ।
लामोदुरीको बसपार्कको समग्र व्यवस्थापनको जिम्मा बागेश्वरी यातायात व्यवसायी प्रा.लि.ले पाएको छ । प्रालिले बसपार्क व्यवस्थापनका लागि प्रवेश, टिकट काउन्टर, शौचालय मर्मत सम्भार, ब्लक र पार्किङको सम्पूर्ण व्यवस्थापन गर्नेछ । बसपार्कमा व्यापारिक प्रयोजनका लागि ५९ वटा सटर छन् । प्रालिले बसपार्क व्यवस्थापनका लागि वार्षिक ७१ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ नगरपालिकालाई तिर्नेछ ।