बिधुत्मा रैका,
कोहलपुर, असार १९,

बाँके अर्थात् पश्चिम नेपालको एउटा सुन्दर जिल्ला । लुम्बिनी प्रदेशमा पर्ने बाँके जिल्ला तराई क्षेत्रको उत्तर–पश्चिमको भूगोलमा अवस्थित छ । इतिहासदेखि वर्तमानसम्म आइपुग्दा जे–जस्तो स्वरुपमा आफ्नो अस्तित्व बोकेर उभिएको छ बाँकेको कोहलपुर । बाँकेमा भएकै कारणले कोहलपुर परिचित छ । वि.सं २०७१ वैशाख, २५ मा बसेको नेपाल सरकारको मन्त्रीपरिषद्को निर्णयबाट साविकका रझेना र कोहलपुर गाविस समायोजन भई कोहलपुर नगरपालिका बनेको हो । राणा कालदेखि नै चटार र त्यस वरपर काठका कोल थिए । जसमा तोरी पेलेर तेल निकालिन्थ्यो । थारू जातिले उक्त कोललाई ‘कोलपुरवा’ भन्थे । यसरी कोलपुरवाबाट अपभ्रंश हुँदाहुँदै कालान्तरमा यसको नाम नै ‘कोहलपुर’ रहन गयो । बाँकेको मुटु पनि हो कोहलपुर । कोहलपुर भएरै चारैतिर पुग्न सकिने भएकाले यसलाई मुटुकै रूपमा लिन सकिन्छ ।

यसै कोहलपुरको एक अंग हो वडा नम्बर १० चटार । राणा प्रधानमन्त्री जङ्गबहादुरका केही सन्तान हालको कोहलपुर नगरपालिकाको वडा नम्बर १० को चटार भन्ने ठाउँमा आएर बसे । त्यहाँ साल, खयरलगायतका ठूल्ठूला बोट वृक्ष थिए । तिनै वृक्षलाई काटेर त्यसका काट चट्टा लगाएर राख्ने गर्दथे । यसरी त्यसको नाम ‘चटार’ ग्राम पञ्चायत भयो । कोहलपुरको पुरानो बस्ती भएको वडाका नामले पनि चिनिएको छ कोहलपुर नगरपालिका वडा नं.–१० । यो वडामा स्थानीय तहको निर्वाचन पछि वडाको विकास निर्माण कार्य पनि द्रुत गतिमा अगाडि बढिरहेको छ । स्थानीय सरकार संचालन ऐन २०७४ को मार्ग दर्शन अनुसार वडामा काम गर्ने प्रयत्नका साथ जनप्रतिनिधिहरु निर्वाचित भएर आए । स्थानीय सरकार संचालन ऐन तथा वडा समितिले दिएको अधिकार क्षेत्र भित्र रहेर जनप्रतिनिधिहरुले काम गर्नु पर्छ । यहाँ सबैले देखिने गरि आर्थिक, सामाजिक, पूर्वाधार तथा भौतिक निर्माणदेखि अन्य विकासका कामहरु तिव्र रुपमा भैरहेका छन् । बाटो घाटो, पुलपुलेसा, सडक कालोपत्रे शिक्षा स्वास्थ्य जस्ता क्षेत्रको विकास वडामा तिव्र रुपमा भैरहेको छ ।

सिक्टा सिंचाइ आयोजानाको मुल नहर यसै वडामा रहेको छ । यो सिंचाइ आयोजनाको मूल नहर वडा भएर पश्चिमतिर गएको छ । वडाको सम्पूर्ण भु–भागलाई सिंक्टा नहरले छोएको हुँदा कृषि उत्पादनका लागि राम्रो सम्भावना रहेको छ । वडामा कृषि योग्य जमिन प्रशस्त छ । यो नहरबाट प्रत्यक किसानका गरादेखि जरासम्म पानी पु¥याउन सकिन्छ । जनप्रतिनिधिहरुले कृषि क्षेत्रको अनुगत निरीक्षणलाई नियमित बनाएका छन् । कृषिसँगै पशु पालनको सम्भावना पनि उत्तिकै छ । सामुदायिक वनले छोएको वडा भएका कारण घाँस, स्याउला सजिलै प्राप्त गर्न सकिन्छ । पुश पालन मार्फत पनि यो वडाको जनजीवनमा आयआर्जन गर्न सकिने सजिलो छ । वडामा धार्मिक तथा पर्यटनको सम्भावना छ । मठमन्दिर तथा पर्यटकिय क्षेत्रमा पनि यो वडा निकै धनी छ । यस वडामा पुरा प्राचिन कालका मठमन्दिरहरु थुप्रै रहेका छन् ।

वडामा हाल ढल नाला ग्रावेल र केही बाटाहरु कालोपत्रे भएका छन् । पहिलेभन्दा अहिले वडाका हरेक सडकहरुको मुहार फेरिदिएको छ । सामान्य स्वास्थ्य चेकजाँचका लागि टाढा पुग्नु पर्ने यो वडाका नागरिकहरुको बाध्यता हटेको छ । वडाका नागरिकहरुको स्वास्थ्यमा सहज पहुँच पु¥याउने उद्देश्यका साथ आधारभुत स्वास्थ्य चौकी भवनको निर्माण गर्दै विभिन्न स्वास्थ्य सेवा प्रवाह हुँदैं आएको छ । वडामा शान्ति सुरक्षा अम नचयन कायम राख्न प्रहरी बिट छ । प्रहरी बिटका कारण वडाका नागरिकहरु आफू सुरक्षित रहेको महशुस गर्छन् । वडामा अध्ययन तथा अध्यापनका साथै गुणस्तरीय शिक्षा आर्जनका लागि पनि उत्तिकै सुविधा छ । शैक्षिक क्षेत्रका लागि पनि यो वडालाई एक खम्बाका रुपमा लिन सकिन्छ । यस वडामा २ सामुदायिक विद्यालय ५ निजि स्तरका विद्यालयहरु स्थापित छन् । वडाको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक, अभिभावक तथा विद्यार्थीहरु बिच नियमित अन्तरक्रिया भैरहन्छ ।

वडामा पर्यटनका विभिन्न क्षेत्रहरु छन् ति मध्यका एक प्रमुख क्षेत्र हो डुडुवा खोलामा निर्माण भएको बन्दा । धेरै वर्ष अघि निर्माण गरिएको बन्दा केही समयदेखि जिर्ण अवस्थामा रहेको बन्दालाई गएको स्थानीय सरकारले केही मर्मत सम्भार गरेको थियो । हाल वडाले पुनःनिर्माणको तयारी छ । यस्तै पर्यटन प्रवद्र्धन तथा पर्यटकिय क्षेत्रका रुपमा विकास गर्न २६ विगाह जमिनको डिपिआर भएको छ । वडा नम्बर १० मा कोहलपुर–नेपालगञ्ज सडक खण्डले छोएको छ । यो सडक निकै व्यस्त सडक पनि हो । यो सडकको नजिकै त्रिभुवन मावि रहेको छ । जहाँ दुर्घटनाको उच्च मानिन्छ । बेला बेलामा भैरहने सडक दुर्घटना न्युनिकरणका लागि त्रिभुवन चोकमा आकाशे पुल निर्माणको योजना विभिन्न कारणले सुचारु हुन सकेको छैन । गत असार १७ गते भएको कोहलपुर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले नेपालगंजबाट आकाशे पुल बनाउँदै आउनु पर्ने तर त्यहाँ निर्माण नभएका कारण कोहलपुरमा ढिलाई भैरहेको बताएका थिए ।

१० नम्बर वडामा पर्ने मुख्य सडकमा हाईम्याक्ट लाईट राखिएको छ । वडामा बाढी, डुवान तथा कटानको निकै समस्या रहेको छ । यसको समाधानका लागि सम्भावित क्षेत्रमा हरेका वर्ष तटबन्धन तथा तारजाली लगाईन्छ । वडामा सामाजिक सुरक्षाका कार्यक्रमहरु प्नि संचालनमा छन् । जेष्ठ नागरिकहरुको मनोरञ्जनका लागि मन्नापुरमा रहेको ५ विगाह जमिनमा जेष्ठ नागरिक पार्क निर्माणको तयारी थालिएको छ । सुरक्षा भत्ता अन्तरगत बैंकसम्म पुग्न नसक्ने वृद्धवृद्धाहरुलाई वडाका जनप्रतिनिधिहरु आफै गएर घरमै सामाजिक सुरक्ष भत्ता दिने गरेका छन् । वडाका अपांगता भएका व्यक्तिहरुलाई ह्वीलचिअर सहयोग गरिएको छ । वडामा मिश्रित बसोवास रहेको भएपनि थारु समुदायको वाहुल्यता रहेको छ । तर पनि समुदायका मानिसहरु एकअर्कासँग मिलेर भाइचाराको सम्बन्ध स्थापित गरेका छन् । यस नगरपालिकाबाट क्षमता अभिवृद्धि, आयआर्जनमुखी तालिमबाट धेरै मानिसहरू लाभान्वित भएका छन् । विकास निर्माणका हरेक कामहरु जनप्रतिनिधि एक्लैले गर्न सम्भव छैन । यहाँका सबै नगरबासीहरू काँधमा काँध र हातमा हात मिलाएर अगाडि बढ्ने हो भने अवश्य पनि कोहलपुर देशकै नमुना नगरपालिका बन्नेछ ।

Leave a Reply

Your email address will not be published.