बिधुत्मा रैका,
कोहलपुर, जेठ ३१,
गुर्भाकोट ८ मेलकुना सुर्खेतका तुफान बि.क. जेठ २० गते साँझ ८ बजेतिर आफ्नो परिवार सहित टिभि हेरिरहेका थिए । उनका १७ महिने छोरा खाटमा एक्लै खेलिरहेका थिए । खेल्दा खेल्दै भुँईमा लडे । उनी लडेको छेवैको प्लेटमा सिमि राखिएको थियो । उनी लड्दा उनको मुखमा सिमिको दाना पर्याे । दाना अड्किएपछि उनलाई श्वास फेर्न गारो भयो र बेस्सरी रुन थाले । तुफानका परिवारले टाउँकोमा नराम्रोसँग चोट लागेको संका गरे । उनका परिवार आफ्नो बच्चाको नाजुक अवस्था देखेर डराए । रोईरहेको बच्चा च्यापेस मेलकुना स्वास्थ्य चौकी पुगे ।
स्वास्थ्य चौकी पुगेपछि त्यहाँका स्वास्थ्यकर्मीले टाउकोमा गहिरो चोट लागेको हुन सक्ने भन्दै सिटि स्क्यान गर्नुपर्ने भन्दै प्रदेश अस्पताल लान सुझाव दिए । लगतै उनीहरु रातिको ११ बजे प्रदेश हस्पिटल गए । हस्पिटलको आकस्मिक कक्षमा राखियो । त्यहाँका चिकित्सकको सल्लाह अनुसार बच्चाको टाउको सिटि स्क्यान गर्ने भनियो । तर फेरी मेसिन बिग्रेको बाहना पार्दै स्क्यान बिहान मात्रै सम्भव हुने भनेपछि उनीहरु झनै आत्तिए । त्यो राति तुफानको छोरालाई स्लाई पानी चढाईयो, मुखमा वाफ लगाईयो । तर पनि उनका छोराले रुन छाडेनन् । बेला बेलामा उनको छोराको श्वास रोकिने खुल्ने भैरह्यो । जति उनी आत्तिन्थे रुन्थे त्यति नै उनका बाआमा पनि आत्तिरहेका थिए ।
बिहान बच्चालाई झनै असजिलो हुन थाल्यो । उनी छिटो छिटो श्वास फेर्न थाले । बच्चाको यस्तो अवस्था देखेपछि त्यहाँका स्वास्थ्यकर्मीहरुले बच्चालाई आईसियुमा राखे । तर पनि उनलाई २० को १९ भएन त्यसपछि डाक्टरहरुले यहाँ उपचार सम्भव नभएको बताए । काठमण्डौ या त लखनउ लैजान भन्न थाले । ९९ प्रतिशत उपचार मुस्किल छ भनेपछि उनको परिवारमा चिन्ता तथा रुवाबासी नै चल्न थाल्यो । बिहान उनको सिटि स्क्यान भयो । सिटि स्क्यानमा हेर्दा दाहिने फोक्सोमा केही चिज अड्किएको जस्तो देखिएको डाक्टरले बताए । त्यसपछि उनको अप्रेशनका लागि काठमाण्डौ या नेपालगंज लान भन्न थाले । तर उनको आफ्नो छोराको उपचारका लागि नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरलाई रोजे । त्यसपछि तुफानले छोरा श्रीमती र बहिनीसँग कोहलपुर आए ।
कोहलपुर अस्पताल पुगेपछि आफ्नो छोराको उपचारका लागि चिकित्सकको सक्रियता देखेर आफ्नो छोराको उपचार सम्भव छ र छोरा बाँच्छ भन्ने आशा पलायो । डाक्टरहरुले उनको चेकअप गरे र अप्रेशन थिएटरमा लगे । करिब आधा घण्टामा उनको शल्यक्रिया भयो । डा.ढुण्डीराज पौडेलको नेतृत्वमा उनको शल्यक्रिया भएको थियो । शल्यक्रिया मार्फत दाँया फोक्सोमा अड्किएको सिमिको दाना निकालियो । फोक्सोमा अड्किएको सिमि निकालिए पछि बच्चालाई आराम भयो ।
तुफान र उनकी श्रीमतीसहित सबै परिवारमा खुशी छायो । शल्यक्रियापछि हर्षित मुद्रामा देखिएका बि.क.ले नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर प्रति कृतज्ञ हुँदै भने,–‘बच्चाको माया मारीसकेका थियौं । बच्चालाई घर लान पनि तयार भएका थियौं । तर यो अस्पतालले मेरो छोरालाई पुर्नजीवनदान दियो । विरामीको उपचार गर्ने मात्र हैन, उनका अभिभावकहरुको पीडामा मल्हम लगाउँने अस्पताल पनि रहेछ ।’ अहिले उनका छोराको अवस्थामा सुधार भएर अस्पतालबाट घर फर्किसकेका छन् ।