कोहलपुर, बैशाख १०,
जातीय भेदभाव निराकरण गर्ने उद्देश्यले महाकाली मेची अभियानमा साइकल यात्रामा निस्कनु भएका महिला पत्रकारलाई कोहलपुरमा स्वागत गरिएको छ ।
शनिबार कोहलपुरमा दलित मोर्चा तथा अन्य विभिन्न संघसंस्थाहरुद्धारा महाकाली मेची अभियानमा हिँडेका महिला पत्रकारलाई स्वागत गरिएको हो । जातीय भेदभाव निराकरण गर्ने सन्देश फैलाउने र चेतना जगाउने उद्देश्यले महाकाली मेची अभियानमा निस्कनुभएका महिला पत्रकारहरू रीता बुढाथोकी, इन्दिरा विश्वकर्मा र सङ्गीता नेपालीलाई कोहलपुरमा स्वागत गरिएको हो ।
अभियानलाई पत्रकार शिव सुनारलगायतको टिमले स्वागत गरेको थियो । स्वागत गर्दै सुनारले अभियानमा हिँडेका महिला पत्रकारले समाजमा रहेको विभिन्न किसिमका विभेदका घटना तथा परिघटनालाई न्यूनीकरण गर्ने उद्देश्यका साथ हिँडेकोमा खुशी लागेको बताए । यस्ता अभियानहरू निरन्तर सञ्चालन भएमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास लिएको उनले जानकारी दिए ।
मेची महाकाली अभियानमा साइकल यात्रामा निस्कनुभएका महिला पत्रकार इन्दिरा विश्वकर्माले अहिलेको यो युगमा समेत जातीय भेदभाव समाजमा कायमै रहेकाले त्यसबाट आफूहरू निकै दुःखी भएको जनाउँदै सो विरुद्ध सचेतना फैलाउन मेची महाकाली साइकल यात्रामा निस्केको बताइन् । उनले यो यात्रालाई ठाउँ ठाउँमा अति नै राम्रो समर्थन र सहयोग प्राप्त भइरहेकोले आफूहरू निकै उत्साहित बनेको पनि जानकारी दिइन् ।