बिधुत्मा रैका,
कोहलपुर, चैत्र २९,
कोहलपुर–बैजनाथमा ऐलानी जग्गा वितरण गरेको भन्दै फैलाएको अफवाहमा कुनै सत्यता नभएको बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाहीले बताएका छन् ।
यस्तो किसिमको झुटा तथा भ्रामक अफवाहले मानिसहरुलाई दुःख दिएको भन्दै आफ्नो ध्यानाकर्षण भएको पालिकाले जनाएको छ । यस विषयमा पालिकाले प्रेस विज्ञप्ती तथा सार्वजनिक सूचना जारी गर्दै यस्तो अफवाहको विरोध गरेको छ । बैजनाथ गाउँपालिका अन्तर्गत रहेका सार्वजनिक जग्गामा विभिन्न जिल्लाबाट अनाधिकृत व्यक्ति, समूह प्रवेश गरी सार्वजनिक जग्गा अनाधिकृत रुपमा अधिग्रहण गर्ने कार्य भएको भन्ने सन्दर्भमा बैजनाथ गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको प्रेस विज्ञप्तीमा भनिएको छ ।
गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीद्धारा हस्ताक्षेरित विज्ञप्तीमा लेखिएको छ,–‘यस बैजनाथ गाउँपालिका अन्तर्गत रहेका सार्वजनिक जग्गामा नयाँ सुकुम्बासी बस्ति बसाल्न भनि कुनै व्यक्ति, समुह, भू–माफिया, गिरोहले अमित समाचार फैलाई विभिन्न जिल्लाबाट व्यक्ति, समुह यस गाउँपालिकाको विभिन्न सामुदायिक वनक्षेत्रमा प्रवेश गरी सार्वजनिक जग्गा अनाधिकृत रुपमा अधिग्रहण गर्ने हरकत गरेको भन्ने सन्दर्भमा यस बैजनाथ गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।’
गाउँपालिका अध्यक्ष शाहीले कुनैपनी क्षेत्रको सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु सबैको दायित्व भएको बताउँदैं ठग, तथा भू–माफिया, गिरोहले फैलाएको भ्रमित समाचार , अफवाहमा भ्रमित नहुन आग्रह गरेका छन् । शाहीले साथै त्यस्ता अफवाहमा परी गाउँपालिका क्षेत्र अन्तर्गतका सार्वजनिक जग्गामा कुनैपनि व्यक्ति, समुह , संगठनले अनाधिकृत रुपमा अधिग्रहण गर्ने कार्यमा नलाग्न नलगाउन आग्रह गरे ।
यदी कोहि कसैबाट त्यस्तो कार्य भएको पाईएमा प्रचलित कानून अनुसार तत्काल आवश्यक कारवाही अघि बढाईने उनले बताए । यस्तै ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले यस्तो अफवाह फैलाउने २ जनालाई पक्राउ गरेको जानकारी दिएका छन् । उनले मंगलबार राति ठुलो संख्यामा पहाडदेखि मानिसहरुको आएको संख्या लागि पछि सोधपुछका क्रममा यस्तो भेटाएको बताएका हुन् । उनीहरुलाई सकुशल फिर्ता पाईएको बताउँदै डिएसपी तिवारीले यस विषयमा थप अनुसन्धान भैरहेको जानकारी दिए ।