बिधुत्मा रैका, कोहलपुर, चैत्र २८
नेकपा(एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय युवा संघ नेकपा (एमाले)को बलियो खम्बा भएको बताएका छन् ।
बाँकेको नेपालगञ्जमा सोमबारदेखि सुरु भएको संघको नवौ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ओलीले नेकपा (एमाले)लाई सिध्याउने जालझेल र गठबन्धनलाई परास्त पार्दै सम्पूर्ण क्षेत्रमा पार्टीले सशक्त रुपमा प्रमुख हैसियत बनाउनुमा युवा संघको ठूलो भूमिका रहेको उल्लेख गरे ।
उनले भने,–‘राष्ट्रिय युवा संघ नेकपा (एमाले)को बलियो खम्बा हो । यसले पार्टीलाई अफ्ठेरो परेको बेला नेपाली जनतालाई अफ्ठेरो परेको बेला जोश र जाँगरका साथ आफ्नो जिम्मेवारी पुरा गर्दै आएको छ । महाधिवेशनमा पदका लागि होईन काम र जिम्मेवारी निर्वाह गर्ने सोंचका साथ दुई वर्षसम्म रात दिन सक्रियताका साथ खट्नसक्ने क्षमता हुन जरुरी छ ।’
२०४७ सालमा संविधान जारी हुने वा नहुने आशंका रहेको बेला संविधान जारी गराउन र जनताको पक्षमा गराउन युवा संघले भूमिका खेलेको स्मरण गर्दै अध्यक्ष ओलीले अहिले पनि युवा संघले राज्य सत्ताको दुरुपयोग हुन नदिन, आम निर्वाचन स्वच्छ बनाउन र जनताको पक्षमा गराउन भूमिका खेलेको भन्दै प्रशंसा गरे । विगतको गौरवमय इतिहासलाई अझ प्रभावकारी र सशक्त रुपमा अगाडि बढाउने जोश जांगर, क्षमता सिर्जनशिलता र पार्टीले सारेको नीति कार्यन्वयन गर्ने नेतृत्व महाधिवेशनले चयन गर्ने उल्लेख गर्दै उनले उनले भने,–‘युवालाई संगठित गर्ने, सहि बाटो देखाउने र असल मान्छे बनाउने काम युवा संघको हो ।’
राष्ट्रिय युवा संघ नेपालमा कुनै पनि प्रकारको गुटबन्दी हुन नहुने कुरामा जोड दिदै अध्यक्ष ओलीले नेकपा (एमाले) गुटबन्दी लगायत सबैखाले जालझेल सहेर उठेको पार्टी भएकोले अव युवा संघमा कुनै पनि वाहनामा पक्ष विपक्षको कुरा नहुने उल्लेख गरे । राजनीति सहि बाटोमा गरेमा देश बनाउन सकिने उल्लेख गर्दै पूर्व प्रधानमन्त्री ओलीले विगतमा आफु प्रधानमन्त्री हुँदा हुलाकी सडक, तुइन विस्थापन, नदी किनारमा करिडोर निर्माणको काम भएको बताए ।
सोही कार्यक्रममा बोल्दै पार्टी उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री विष्णु पौडेलले एमालेविरुद्ध जालझेल र षडयन्त्र गरेर अहिले बनेको गठबन्धनले मुलुकको निकास दिन नसक्ने बताए । पार्टी महासचिव शंकर पोखरेलले मुलुकको विकास र समृद्धिमा एमालेसँग अन्य कुनै पनि दलको तुलना हुन नसक्ने बताए । एमाले सरकारमा रहँदा विकासका सबै सूचकमा अगाडि रहेको तथ्य प्रस्तुत गर्दै उनले भने,–‘एमालेका लागि भविष्य सुनौलो छ, दश दलीय अहिलेको गठबन्धन असफल हुनेछन् त्यसबाहेक बाँकी एमालेमात्रै हुनेछ, त्यसैले एमालेले अहिले सत्तालाई नभई जनता र राष्टको उन्नतीलाई लक्ष्य बनाएको छ ।’
राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलको अध्यक्षतामा भएको महाधिवेशन उद्घाटन समारोहमा पार्टी पोलिटव्यूरो सदस्य, निरुदेवी पाल, केन्द्रीय सदस्य एवम् बाँके जिल्ला इन्चार्ज सूर्य ढकाल, अनेरास्ववियुका अध्यक्ष समिक बडाललगायतले मन्तव्य राखेका थिए । संघका महासचिव क्षितिज थेवेले सञ्चालन गरेको कार्यक्रममा नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेललाई रु. एक लाख राशीको केपी ओली प्रतिभा पुरस्कार र ट्रफी प्रदान गरिएको थियो ।
उद्घाटन समारोहमा कलाकारहरु अस्मिता अधिकारी, बद्री पंगेनी, विश्व नेपाली र प्रकाश तिमिल्सेनाले सांगीतिक प्रस्तुति गरेका थिए । महाधिवेशनको बन्द सत्रको तयारी भईरहेको संघका प्रचार विभाग प्रमुख एवम् प्रवक्ता माहाराज गुरुङले जानकारी दिए ।