बिधुत्मा रैका,
कोहलपुर, चैत्र २१,
बाँके प्राकृतिक सम्पदा, जैविक विविधताका लागि निकै धनी छ । प्राकृतिक स्रोत, जैविक विविधता, प्राकृतिक सुन्दरता तथा यहाँका जडीबुटीले भरीपूर्ण छ । यहाँका वरिपरिका सौन्दर्य दृश्यावलोकनका लागि उत्कृष्ठ छ । यहाँ विभिन्न किसिमका वनस्पति तथा प्राणीहरु रहेका छन् । जैविक विविधताको सम्बन्ध बहुआयामिक भएकै कारण जीवन निर्वाह, आय आर्जन, औधोगीक कच्चा पदार्थ, जडीबुटीका लागि उपयुक्त छ । यहाँका हजारौं विरुवाहरु जडीबुटी हुन् । त्यसैको एक अंश हो कुचिला । विषेश गरि यो विरुवा दक्षिण भारत, मद्रास, ट्रावंकोर, कोचीन तथा कोरोमंडल तटमा धेरै पाउने गरेको छ । यसको विरुवा देख्नमा ठुलो तथा सुन्दर देखिन्छ ।
कुचिलाको नाम धेरैले सुनेको पनि नहुन सक्छ । नेपालको एउटा स्थानमा मात्रै पाउने एक महत्वपूर्ण वनस्पति हो कुचिला । राप्ति सोनारी गाउँपालिकाको ढकेरी वनस्पति उद्यानमा अवस्थित कुचिलालाई महत्वपूर्ण वनस्पतिका रुपमा लिने गरिन्छ । ढकेरी वनस्पति उद्यानमा भारतको लखनउबाट विरुवा ल्याईएको थियो । कुचिला निकै विषालु हुन्छ । कुचिलाको बोक्रा पात, फल समेत विषालु हुन्छ । चिकित्सकको सल्लाह विना यसको अत्याधिक सेवनले जनावर तथा मानिसको ज्यान जान सक्ने उच्च सम्भावना हुन्छ । कुचिलाको फल क्यान्सरको औषधी बनाउनमा प्रयोग गरिन्छ । नेपाल भन्दा पनि विदेश तिर यसको माग बढि हुने गरेको छ ।
असोज महिनादेखि फूल फूलेर फल्न सुरु हुने कुचिला फागुन महिनामा परिपक्क हुने गरेको छ । चैत्र बैशाखमा मात्रै परिपक्क भएको फल निकाल्न सकिन्छ । यसको दानालाई बिउँका रुपमा प्रयोग गर्न सकिन्छ । नेपाली बजारमा यो विरुवा तथा यसको फल किनबेच हुँदैन । यसको महत्वका बारेमा धेरैलाई जानकारी पनि छैन । यस उद्यानमा कुचिलाका दुईवटा रुख छन् । यो उद्यानमा यो विरुवा लगाएको अनुमानित १५ वर्ष जति भएको छ । यसको उत्पादन वृद्धि गरि विदेशमा निर्यात गर्न सके राम्रो आर्थिक लाभ लिन सकिन्छ । कुचिलाको माग विश्व बजारमा धेरै भएकोले यहाँ कुचिलाको उत्पादन बढाई व्यापारिक सम्भावना पनि प्रचुर छ । कुचिलाको प्रशोधन गरी निर्यात गर्न सके मनग्य फाइदा लिन सकिन्छ ।
यो विरुवा धेरै उत्पादन गरि विदेशमा निर्यात गर्ने उद्यानको लक्ष्य छ । तर यसको फल निकाल्नु अघि चराले खाईदिने गरेको हुँदा बिउँ उत्पादनमा समस्या हुने गरेको ढकेरी वनस्पति उद्यान प्रमुख राम कृष्ण भण्डारीले बताएका छन् । उनले भने,–‘यसको एक दानामा एउटा मात्रै बिउँ हुन्छ । केही समय पहिले हामीले बिउँ उत्पादन गरेर गमलामा रोपेका थियौं । करिब ७ वटा विरुवा जति हामीसँग छन् । सार्न मिल्ने भएपछि रोप्नेछौं ।’ अहिले उद्यानमा रहेका कुचिलाबाट उत्पादन भएका फलहरु उद्यान अवलोकन गर्न आउने अवलोकन कर्ता तथा पर्यटकहरुलाई विरुवाको बारेमा जानकारी दिने तथा यसको संरक्षण गर्ने काम गरिरहेको भण्डारीले बताए । उनले कुचिलाको फल निकै महङ्गो मूल्यमा विक्रि हुने गरेको बताए ।
यस वनस्पति उद्यानमा कुचिला मात्रै नभएर थुप्रै किसिमका जडिबुटीका विरुवाहरु देख्न पाईन्छ । उद्यानले वनस्पतिको अध्ययन, जडिबुटी एवं गैरकाष्ठ वनपैदवार सर्भेक्षण, सम्र्वद्धन तथा वनस्पतिको रासायनिक गुणहरूको प्रतिफल स्थानीय स्तरमा पुर्याउने काम गरिरहेको छ । २०५६ सालमा स्थापित उद्यान वनस्पतिको सबै जातका लोपउन्मुख अवस्थामा रहेका बोट विरुवा, जडिबुटीहरुको संरक्षण हुँदै आएको छ । यस उद्यानलाई संरक्षण स्थल, शैक्षिक उद्यान तथा वनस्पतिको क्षेत्रमा अध्ययन गर्नेहरूको लागि महत्वपूर्ण मानिन्छ । यहाँ फूलबिरुवाको अनुसन्धान गर्न सकिन्छ भने मौसमी फूलबिरुवा बेर्ना उत्पादन पनि हुँदै आएको भण्डारीले बताए ।
वनस्पतिक पारिवारीक बगैचा, उद्यानभित्र श्रीखण्ड बगैचा, शैक्षिक बाटिका, जडिबुटी नर्सरी, क्याक्टस हाउसहरु छन् । यहाँ वनस्पतिको अवलोकन गर्न विद्यार्थी, अनुसन्धानकर्ता तथा सम्बन्धित पेशाकर्मी एवम् मनोरञ्जन स्थलको रुपमा घुम्न मानिसहरु पुग्ने गरेका छन् । उद्यानभित्र संरक्षित मुख्य प्रजातिमा कुचिला, सर्पगन्धा, सिकाकाई, श्रीखण्ड, अपामार्ग, बेल, बोझो, अमला, बेतलौरी, कुरिलो, आँक, राजबृक्ष, कालो मुस्ली, तेजपात, सितलचिनी, सोनटाटा, सिन्दुर, खयर, अनन्तमुल, गुडमार, सिमलतरुल, विजयसाल, सतिसाल, अर्जुन, गुर्जो लगायत वनस्पति रहेका छन् ।