कोहलपुर, चैत्र १८,
पूर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाले स्वास्थ्य र शिक्षालाई पूर्णरुपमा निःशुल्क गरिनु पर्ने बताएका छन् ।
बाँकेको कोहलपुर नगरपालिका–१५ अकलघरुवास्थित नगर स्वास्थ्य प्रवद्र्धन केन्द्र र अपाङ्ग बाल अस्पताल पुनःस्थापना केन्द्रको शनिवार उद्घाटन गर्दै उनले स्वास्थ्य र शिक्षालाई पूर्णरुपमा निःशुल्क गर्दै त्यसलाई गुणस्तरीय र सर्वसुलभ पनि बनाइनु पर्नेमा जोड दिए ।
उनले कोहलपुर नगरपालिकाले सुरु गरेको नगर स्वास्थ्य प्रवद्र्धन केन्द्रको सेवालाई प्रभावकारी गराउन सुझाव दिए । नगर स्वास्थ्य प्रवद्र्धन केन्द्रको अवधारण भनेकै केन्द्र घरघरमा पुगेर जनताको स्वास्थ्य अवस्थाबारे जानकारी लिने, रोग लाग्नु भन्दा पहिल्यैं अपनाउन सकिने सजगताबारे जानकारी प्रवाह गर्ने र उपचारको पहुँच नभएकालाई पहुँचमा ल्याउने रहेको पूर्वमन्त्री थापाको भनाइ छ ।
उनले प्रवद्र्धन केन्द्रको सेवा प्रवाहलाई थप प्रभावकारी कसरी गराउन सकिन्छ भन्ने बारेमा आफ्नो टिमले सहकार्य गरेर अघि बढ्ने विश्वास समेत दिलाए । यसैगरी अपांगता भएका बालबालिकाहरुलाई लक्षित गरी संचालनमा ल्याइएको अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रले ठूलो मानवीय सेवा गरेको भन्दै प्रशंसा गरे । विपन्न समुदायका र त्यसमा पनि अपाङ्गता भएका बालबालिकाहरुको पहिचान गरी उनीहरुलाई उपचार गरेर समाजमा पुनःस्थापना गर्नु निकै ठूलो काम भएको भन्दै उहाँले कोहलपुरमा केन्द्र संचालनपछि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अपाङ्गता भएका बालबालिकाहरुलाई उपचारमा निकै सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
लुम्बिनी प्रदेश सभा सदस्य सञ्जु कुमारी चौधरीले थारु समुदायमा जनस्वास्थ्य समस्याको रुपमा रहेको सिकलसेल र थालेसेमियाका बिरामीको उपचारलाई निःशुल्क गरिनु पर्ने बताईन् । यस्तै लुम्विनी प्रदेश सभा सदस्य बसन्ती अधिकारीले पनि स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन आवश्यक रहेको बताईन् । कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले कोहलपुर नगरपालिकाले स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले स्वस्थ व्यक्तिबाट मात्रै विकास सम्भव भएकाले नगरपालिकाले स्वास्थ्य सेवालाई प्रभावकारी गराउने गरी काम गरिरहेको बताए ।