कोहलपुर, चैत्र १६,
बाँकेको कोहलपुरमा बसोबास गर्दै आएका मुस्लिम धर्मावलम्वीको एकमहिने रमजान ‘रोजा’ (व्रत) सुरु भएको छ ।
कोहलपुरमा बसोबास गर्ने मुस्लिम समुदायले १ महिने रोजा मनाईरहेका छन् । मुस्लिम धर्मावलम्बीको प्रमुख पर्व ईदको अवसरमा बुधबार पहिलो कोहलपुरका मुस्लिम समुदायले ‘रोजा’ मनाइरहेका हुन् । मुस्लिमहरुको यस पर्वमा हिन्दु धर्मावलम्बीहरु पनि रमजानमा सरिक हुने गरेका छन् ।
पहिलो दिन कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्य, जिल्ला समन्वय समिति उपसंयोजक सिता कार्की, नेकपा समाजवादी नेता अशोक कोईराला लगायतका जनप्रतिनिधि, राजनीतिज्ञ समाजसेवी लगायतले रोजा रफ्तार कार्यक्रममा सहभागी भएका थिए । रोजा रफ्तार कार्यक्रममा नगर प्रमुख आचार्यले रोजा मनाईरहेका सम्पूर्ण मुस्लिम समुदायहरुलाई शुभकामना व्यक्त गरेका छन् । उनले सबै इस्लाम धर्मावलम्बीहरुको रमजान अर्थात रोजाका अवसरमा सुख, शान्ति, अमन चयन, र समृद्धिको कामना गरेका छन् ।
आचार्यले रमजानले राष्ट्रिय एकता, अखण्डता, आपसी मित्रता, धार्मिक सहिष्णुता अझ बलियो र फराकीलो हुने विश्वास व्यक्त गरे । रमजान पर्वले सबै जात, जाती, भाषा, भाषि, समुदाय बीचको भाइचारा, एकता कायम गर्न सबैमा प्रेरणा प्रदान गर्ने उनको भनाई थियो । रमजान पर्वको महिना अवधिभर ब्रतालुहरुले बिधिपूर्वक दिनमा पाँच पटक नमाज पढ्नुका साथै रातीमा विशेष नमाज तरावी समेत पढ्ने गरेको ईस्लामिक अब्दुल हुसेन खानले बताए । त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमान समुदायले रोजा बस्नुलाई गर्व मान्ने खानले बताए ।
मुस्लीम धर्मावलम्बीहरुले दिनभर पानी समेत नखाएर शरिर पवित्र राखेर ब्रत बस्ने गर्दछन् । व्रत अवधिभर झूठोसमेत बोल्न नहुने बताइन्छ । रोजा ६ बर्ष उमेर पूरा भईसकेका मुस्लिम धर्मावलम्बी महिला पुरुष जोकोही पनि बस्न सक्छन् । रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्दछन । रमजान महिनामा नै मुसलमान समुदायको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास गरिन्छ । दान दिनु गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो ।