बिधुत्मा रैका,
कोहलपुर, चैत्र २,

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख तथा प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले कोहलपुरको शान्ति सुरक्षाका लागि महत्वपूर्ण योजनाहरु सार्वजनिक गरेका छन् ।

बिहीबार कोहलपुर लगायत बाँकेका पत्रकारहरुसँगको भेटघाटका क्रममा आफ्नो कार्यक्षेत्रको सुरक्षाका लागि विभिन्न महत्वपूर्ण योजना निर्माण गरेको डिएसपी तिवारीले बताएका छन् । तिवारीले मानव अधिकारको संरक्षण, शान्ति र सुव्यवस्थाका लागि कोहलपुर प्रहरीले हालसम्म खेलेको भूमिका उल्लेखनीय रहेको बताउँदै आफू आएदेखि थुप्रै क्रियाकलाप गरिसकेको जानकारी दिएका थिए । उनले भने,–‘हामी जनताको शान्ति सुरक्षाका लागि खटिएका हौं । हामीले आम जनतालाई गर्ने व्यवहार शिष्ट हुनेछ । हामी कानुन कार्यान्वयन गराउने क्रममा निर्मम तरिकाले पक्षपात नगरी सबैलाई समानरूपमा प्रस्तुत हुनेछौं । समुदाय प्रहरी साझेदारीमार्फत शान्ति सुरक्षासँग सम्बन्धित समस्या गुनासोको सुनुवाइ गर्नु हाम्रो कर्तव्य हो । प्रहरी र जनताले एक–अर्काको विश्वास जित्ने गरी काम गरेमा सम्बन्ध सधैं सुमधुर बनाउने छौं ।’

उनले समग्ररूपमा यस क्षेत्रको शान्ति सुरक्षालाई चुस्त र दुरुस्त बनाउँदै स्थानीय निकाय तथा सरोकारवालासँग पेसागत सहकार्य गर्न आफू प्रतिवद्ध रहेको उल्लेख गरे । अपराध अनुसन्धानलाई आधुनिकीकरण गर्ने, बढीभन्दा बढी सीसी क्यामेरा जडान गर्ने, वन पैदवार तथा चोरी निकासी बन्द गर्ने, अवैध उत्खनन्लाई नियन्त्रण गर्ने, फरार प्रतिवादीहरुलाई कानुनी दायरामा ल्याउने, पुराना मुद्दाहरुको अनुसन्धान गर्ने तथा आन्तरिक शुद्धीकरण गर्दै संगठनको लक्ष्यअनुसार अगाडि बढ्ने योजना रहेको कार्यक्रममा जानकारी गराएका थिए । उनी भन्छन्,–‘हामीले ‘सुरक्षित कोहलपुर अभियान’ समेत ल्याएका छौं । गुन्डागर्दी तथा अराजक गतिविधिको नियन्त्रण, कारबाही, आत्महत्या न्यूनीकरण गर्न विशेष कार्यक्रम, अवैध हातहतियार, मापसे, ट्राफिक चेकिङ्गमा कडाई, लागुऔषध दुव्यर्सन तथा ओसारपोसार रोक्न समुदाय प्रहरी साझेदारी अन्तर्गत सचेतना फैलाउने, आपूर्ति रोक्ने, सेवनकर्तालाई मनोसामाजिक परामर्श र लागुऔषधविरुद्ध सचेतना फैलाउने कार्यक्रम गर्ने योजना छ ।’

सडक दुर्घटनाको उच्च जोखिम रहेकोले दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षा योजना, र सचेतनालाई प्राथमिकता दिइएको तथा पैदल यात्रु र साईकल चालकलाई लक्षित सचेतना मुलक कार्यक्रम ल्याएको तिवारीले बताए । उनले आफ्नो कार्यकालको सुरक्षा रणनीतिमार्फत प्रहरीको कार्यशैलीप्रति आमनागरिकमा जनविश्वास वृद्धि, स्वच्छ छविको मर्यादित सभ्य प्रहरी सेवा स्थापित भई संस्थागत विकासमा टेवा, हरेक तहका प्रहरी कर्मचारीहरुमा जवाफदेहीता, उत्तरदायित्व र जिम्मेवारीको बोध, प्रहरी र आमनागरिकको सम्बन्ध सुमधुर बनाई जनविश्वास फराकिलो, ट्राफिक व्यवस्थापनमा सुधार एवं सवारी दुर्घटनामा न्यूनीकरण, अपराध अनुसन्धान तथा नियन्त्रणमा प्रभावकारीता ल्याउने बताए ।

कार्यक्रममा सहभागि पत्रकार कपिल अञ्जान, संगीन शर्मा, शुभाकर विश्वकर्मा, लगायतले नेपाल प्रहरी राज्यको आन्तरिक सुरक्षाको मेरुदण्ड र देशको गौरव भएकोले आन्तरिक सुरक्षा, चोरी, डकैती, महिला तथा घरेलु हिंसा, लागुऔषध ओसार पसार, यौन व्यवसाय जस्ता पक्षहरुको नियन्त्रण तथा निरुत्साहित गर्न सुझाव दिएका थिए ।

Leave a Reply

Your email address will not be published.