कोहलपुर, फागुन ३०,

बाँकेको कोहलपुर नगरपालिका जडा नम्बर १५ चन्नहवामा कृषक दिवस भव्यताका साथ सम्पन्न भएको छ ।

कोहलपुर नगरपालिकाको नगर कृषि शाखाको आयोजना तथा चन्नहवा आईपिएम कृषक पाठशाला तथा गोहवा आईपिएम कृषक पाठशालाको सहआयोजनामा दिवस मनाईएको हो । कोहलपुर नगरपालिकाका आर्थिक विकास संयोजक अनिता बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख संगीता सुवेदी प्रमुख अतिथी रहेकी थिईन् ।

प्रमुख अतिथी सुवेदीले दीप प्रज्वलन गर्दै कार्यक्रमको उद्घाटन गरेकी हुन् । दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै सुवेदीले कृषकहरुको प्रोत्साहन र सम्मानको लागि कोहलपुर नगरपालिकाले विभिन्न कार्यक्रम नीतिगत रुपमा नगर क्षेत्रमा संचालन गर्दै आईरहेको बताईन् । उनले खाद्यान्न तरकारी फलफूल मा रासायनिक विषादीको प्रयोगलाई कम गराई वाली संरक्षणको लागी स्थानीय बानस्पतिक विषादीको प्रयोगलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताइन् । कार्यक्रमका विशिष्ट अतिथी प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले स्वस्थ बाली उत्पादन गर्न र स्थानीय स्तरमा रहेका कृषि प्राविधिकको कमीलाई पूर्ति गर्न आईपीएम कृषक सहजकर्ताहरू मार्फत यस्ता कार्यक्रमहरू स्थानीय सरकारले नियमित रूपमा आफ्नो नीति तथा कार्यक्रममा राखी वडा वडामा सञ्चलन गर्न आवश्यक रहेको पनि बताए ।

ढकालले किसानका यावत समस्या सम्बोधन हुने गरी कोहलपुर नगरपालिकाले कृषि ऐन निर्माण गर्दै किसानसँग सहकार्य गर्दै आईरहेको बताए । उनले आईपीएम मार्फत उत्पादन परीक्षण गरिएको बालीको उपलब्धि अनुसार किसानहरुले उत्पादन तर्फ लाग्न आग्रह गरे । आई पी एम कार्यक्रमलाई आफ्नो नीति तथा कार्यक्रममा प्राथमिकतामा राख्ने नगर कृषि शाखा प्रमुख चन्द्र बुढाले बताए । बुढाले बाली संरक्षणको लागी र किसानसँग प्रत्यक्ष प्राविधिक सेवा पुराउने यो आई पी एम कार्यक्रम किसानको लागी निकै उपयोगी भएको बताए । उनले स्थानीय सरकारले यसलाई प्राथमिकतामा राख्नु पर्ने बताए ।

आर्थिक विकास शाखा संयोजक अनिता बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा १६ हप्तासम्म संचालन भएको पाठशालाको प्रगति विवरण प्रस्तुत गरिएको थियो । प्रगति विवरण प्रस्तुत गर्ने क्रममा किसानहरुले कृषक दिवसका अवसरमा किसानहरुले विभिन्न समस्या समेत राखेका थिए । उनीहरुले किसानहरुका समस्या र ती समस्याको प्राविधिक समाधान हुन जरुरी रहेको बताएका थिए । कोहलपुर नगर कृषि शाखाको आर्थिक सहयोगमा नगरका वडा नम्ब्र ४ र १५ मा कृषक पाठशाला संचालन गरिएको थियो ।

बसन्ते सिजनको बालीमा सञ्चालित सक्रिय कृषक पाठशालाको कृषक दिवस कार्यक्रममा १६ हप्ते पाठशाला पनि समापन गरिएको छ । कार्यक्रममा कृषि प्राविधिक अंगराज बुण, सहजकर्ता छत्र बहादुर खत्री, दुई वटै वडाका कृषकहरु, स्थानीय, जनप्रतिनिधि, दुई वटै वडाका वडाध्यक्षहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बाली अवधि भर पाठशालामा सिकेका ज्ञान सिपलाई सहभागीहरूले गीत तथा नाँच मार्फत सबैलाई जानकारी सहित स्वास्थ्य बाली उत्पादनको सन्देश दिएका थिए । कार्यक्रमको संचालन कृषि प्राविधिक यज्ञ रोकायाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.