कोहलपुर, फागुन २८,
आफ्नो बालबालिकाहरुको शैक्षिक भविष्य उज्वल रहोस् भन्ने सबै अभिभावकहरुको चाहना हुन्छ । आफ्नो बच्चाले शैक्षिक प्रगति गरोस्, ज्ञान सिकोस् र आफ्नो व्यावहारिक जीवनमा लागू गरोस् भन्ने हरेक आमाबुबाको चाहनाहरु हुन्छ । आफ्नो बच्चाको राम्रो शिक्षाका लागि सकेसम्म प्रतिष्ठित विद्यालय अविभावकको पहिलो रोजाई हुने गर्छ । तर विद्यालय प्रतिष्ठित भएर मात्रै हुँदैन अध्ययन तथा अध्यापनमा भर पर्छ । कोहलपुर नगरपालिका वडा नम्बर ११ लोकनगरमा रहेको कोहलपुर सिटि एकेडेमी स्थापनाको सातौं वर्ष पार गरिसक्दा बालबालिका तथा अभिभावकका लागि पहिलो रोजाई तथा ज्ञानको पहिलो पाठशाला बन्न सफल भएको छ ।
विसं २०७२ मा स्थापना भएको कोहलपुर सिटि एकेडेमी विद्यालय गुणस्तरीय शिक्षाका लागि सक्षम बन्दै गईरहेको छ । शैक्षिक गुणस्तरमा अभिभावकको मन जितेर स्वस्फूर्त रुपमा प्रत्येक वर्ष शैक्षिक सफलता हात पार्दै आएको छ । यस विद्यालयका शिक्षकहरु विद्यार्थीहरुका लागि शिक्षणको केन्द्रबिन्दु बनेका छन् । बिद्यार्थीहरुलाई दिशानिर्देश गर्दै शिक्षकले देखाउने व्यवहारको आधारमा बिद्यार्थीहरु सिकाइप्रति केन्द्रित हुँदैं आएका छन् । गएको शनिबास यस विद्यालयको सातौं वार्षिक उत्सव उत्सवका अवसरमा विद्यालयका संस्थापक तथा प्रिन्सिपल प्रशान्त रिजालले सातौं वार्षिक उत्सवमा उपस्थित सबैलाई कृतज्ञता प्रकत गर्दैं विद्यालयको सम्पूर्ण विवरण प्रस्तुत गरेका थिए ।
विद्यालयको प्रगति विवरण प्रस्तुत गर्दै रिजालले घरभाडा लिएर संचालन गरेको विद्यालयमा ६६ विद्यार्थी, ७ जना कर्मचारीले पठन पाठन सुरु गरिएको जानकारी दिए । रिजाल भन्छन्,–‘यस विद्यालयलाई आजको यस अवस्थामा पुयाउन अब मिहिनेत र लगनशीलता रहेको छ । त्यो मिहिनेत र त्यो कडा परिश्रमले कोहलपुर सिटी नगरकै उत्कृष्ट पहिचान बनाउन सफल भएको छ ।’ उनले एउटा रिक्साको माध्यमबाट बच्चा ओसारपसार गरी बालबालिकाको यातायातको सुविधालाई व्यवस्थित गरिएको विद्यालयमा हाल ३ वटा स्कुल बस रहेको उल्लेख गरे । सुरुवाती चरणमा लोकनगर र बसपार्कलाई मात्र आफ्नो सेवा क्षेत्र बनाएको विद्यालयको सेवा क्षेत्र हाल कोहलपुर नगरपालिकाको अधिकाश क्षेत्रमा विस्तार भैरहको प्रति खुशी व्यक्त गरे ।
मन्टेश्वरी वेशका लागि छुट्टै बाल मैत्री भवन र खेल सामग्रीको व्यवस्था गरिएको रिजालले बताए । खानेपानी शौचालय, खाजा घर आदिको व्यवस्थित व्यवस्थापन गरिएको उनको भनाई थियो । कम्प्यूटर ल्याबका लागि छुट्टै कक्षा कोठा, गर्मी समयमा विद्युत तथा जेनेरेटरको व्यवस्था, बालबालिकालाई मनोरञ्जनात्मक तवरले अध्ययन प्रति उत्प्रेरणा प्रदान, किताबी मात्रै नभई व्यवहारीक, वैज्ञानीक तथा प्राविधिक ज्ञान दिदैं आएको उनले बताए ।
एकेडेमीको आगामी योजना आउने शैक्षिक सत्रमा कक्षा आठ हुँदै माध्यमिक तह कक्षा १२ सम्म अध्ययन गराउने, विद्यार्थी संख्या १२ सय पु¥याउने र ६० जनालाई रोजगारी दिने भावी योजना रहेको उनले बताए । यस्तै केही वर्षमा सुविधासम्पन्न खेलमैदानको व्यवस्था गर्नेसमेत विद्यालयको योजना रहेको रिजालले सुनाए । कोहलपुर सिटि एकेडेमीमा शैक्षिक अवलोकन भ्रमण वनमोज, ऐतिहासिक तथा प्राकृतिक स्थलको भ्रमण, प्रोजेक्ट निर्माण, हाजिरी जवाफ, नृत्य, गीत, वक्तृत्वकला खेल आदि विविध प्रकारका पद्धति र क्रियाकलाप संचालन गरिदैं आएको छ । विद्यालय स्तरीय, नगर स्तरीय र जिल्ला स्तरीय विभिन्न प्रतियोगितामा सहभागी गराई बालवालिकाको व्यक्तित्व विकासका लागि सहभागी बनाउने काम गरिदैं आएको छ ।
सडक दुर्घटना विमाको व्यवस्था पनि विद्यालयले गरेको वार्षिक उत्सव कार्यक्रममा जानकारी दिईएको हो । एकेडेमीको ७ औं वार्षिकोत्सव तथा भवन उद्घाटन कार्यक्रममा शनिबार एक औपचारिक कार्यक्रमका बीच भएको थियो । एकेडेमीको ७ औं वार्षिकोत्सवका अवसरमा भवन उद्घाटनसमेत गरिएको छ । कोहलपुर नगरपालिका शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख रामबहादुर हमालले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए । सो कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका हमालले एकेडेमीको नयाँ मन्टेश्वरी भवनसमेत रिवन काटेर उद्घाटन गरे । उद्घाटनसँगै अब उक्त भवन विद्यार्थीको पठनपाठनका लागि प्रयोगमा आउने भएको छ । उक्त अवसरमा बोल्दै प्रमुख अतिथि हमालले शैक्षिक क्षेत्रमा गुणस्तर कायम गर्ने अहिलेको मुख्य आवश्यकता भएको बताए ।
उनका अनुसार कोहलपुर नगरपालिकामा रहेको संस्थागत विद्यालयले कोहलपुरको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पु¥याएका छन् । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष कल्पना अधिकारीले अभिभावकले विद्यार्थीको विशेष ख्याल गर्नुपर्ने बताइन् । वडा नम्बर ११ मा रहेको स्कूललाई वडाको तर्फबाट गर्नुपर्ने सहयोग गर्न आफू सधै तयार रहेको उनको भनाइ थियो । यस्तै नेशलन प्यासवन बाँकेका अध्यक्ष श्याम कुँवरले शुभकामना मन्तव्य व्यक्त गर्दै कोहलपुरलाई शैक्षिक हब बनाउने अभियानमा संस्थागत विद्यालयको भूमिका महत्वपूर्ण रहेको बताए ।
अब विद्यालयको शैक्षिक गुणस्तर कायम गर्नुपर्नेमा उनले जोड दिए । उक्त अवसरमा कोहलपुर सिटी एकेडेमीका संस्थापक म्यानेजिङ डाइरेक्टर डम्बरबहादुर खत्रीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । ७ औं वार्षिकोत्सव तथा भवन उद्घाटन कार्यक्रम समारोहका विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुती देखाइएको थियो । यस्तै कार्यक्रममा २०७५ सालेदेखि २०७८ सम्म वार्षिक परिक्षामा उत्कृष्ट विद्यार्थीहरुलाई मेडलद्धारा पुरस्कृत गरिएको प्रिन्सिपल रिजालले मिसन टुडे दैनिकलाई जानकारी दिए । एकेडेमीमा हाल हाल कक्षा सातसम्म ९ सय जना विद्यार्थीहरु अध्ययनतर छन् । आगामी शैक्षिक सत्रमा १२ सय पुर्याउने लक्ष्य रहेको विद्यालयले जनाएको छ । यस विद्यालयले ४५ जनालाई रोजगारी दिईरहेको छ ।