बिधुत्मा रैका,
कोहलपुर, फागुन २१,

कोहलपुर नगरपालिका वडा नम्बर ८ बाबानगरमा रहेको नमुना विद्या सदन माद्यामिक विद्यालयमा फूड एण्ड कल्चर फेस्टिवल सम्पन्न भएको छ ।

विद्यालयको वार्षिक कार्यतालिका अन्तर्गत आईबार फुड एण्ड कल्चर फेस्टिवल आयोजना गरिएको हो । फेस्टिवलमा स्कुलको कक्षा नर्सरीदेखि १० सम्म अध्ययनरत विद्यार्थीहरुले स्टल राखेर आफै पकाएका परिकारहरु प्रर्दशन गरेका थिए । ती स्टलहरुमा विद्यार्थीहरुले सामान्य रेष्टुरेन्टमा पाइने फरक फरक परिकारका खाना बनाएर अभिभावक तथा अवलोकनकर्ताहरुलाई खुवाएका थिए । विद्यार्थीहरुलाई व्यवहारिक शिक्षा प्रदान गर्नका लागि कार्यकम आयोजना गरिएको विद्यालयका कार्यकारी निर्देशक शिव प्रसाद डागीले जनाकारी दिए ।

बिहान ११ बजेदेखि सुरु भएको फेस्टिवलको कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले फूलको गमलामा पानी हालेर दीप प्रज्वलन गरि उद्घाटन गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथीसमेत रहेका नगर प्रमुख आचार्यले कार्यक्रमले विद्यार्थीहरुलाई व्यापार व्यवसायमा सन्तुलन कायम गर्ने बारे व्यवहारिक ज्ञान प्राप्त हुने अपेक्षा गरिएको बताएका छन् । फूड एण्ड कल्चर फेस्टिवलले विद्यार्थीको क्षमता विकासका हुने तथा आफ्नो कला संस्कृतिमाथी अपनत्व कायम हुने आचार्यको भनाई थियो ।

विद्यार्थी आँफैले खानाका परिकार तयार गरेको हुँदा खाना बनाउन लाग्ने मेहेनत र खानाको महत्व बारे बुझ्न पनि कार्यक्रमले मद्घत मिल्ने कार्यकारी निर्देशक डागीको भनाइ छ । वर्षभरी अभिभावकले बनाएको खाना खाने विद्यार्थीले एक दिन आफैले खाना बनाएर अभिभावकलाई खुवाउने दिनको रुपमा पनि यसलाई लिईएको उनले बताए ।

खाना बनाउनका लागि आवश्यक सामाग्रीको प्रवन्ध विद्यार्थीहरुले स्वयंले गरेका थिए । कार्यक्रममा खानाका स्टलसँगै साँस्कृतिक प्रस्तुति पनि थियो । विद्यार्थीहरुले आ–आफ्नो प्रस्तुतिमार्फत सहभागीहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा स्कुलका शिक्षक, विद्यार्थी, अभिभावक र अन्य स्कुलका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । कार्यक्रममा कोहलपुर नगरपालिका ७ का अध्यक्ष ठग्गा थारु, ८ का अध्यक्ष लाल बहादुर राणा, ९ का अध्यक्ष ओपेन्द्रनाथ योगी, १४ का अध्यक्ष नम बहादुर आले, कार्यपालिका सदस्य अनिता बुढाथोकी लगायतको अतिथी रहेका थिए ।

Leave a Reply

Your email address will not be published.