कोहलपुर, फागुन १७,

बाँकेको कोहलपुर नगरपालिकाले जनताको समस्या बुझ्न जनतासँग मेयर कार्यक्रम लागू गरेको छ ।

नगरप्रमुख पूर्ण प्रसाद आचार्यले नगरभित्रका जनताको दुःख बुझ्न र जनाताले चाहे अनुसार विकासका कार्यक्रम गर्न जनतासँग मेयर कार्यक्रमको सुरुआत गरेको बताए । आचार्यले पालिकाको कार्यालयमा बसेर योजना बनाउँदा जनताको दुःख पीडाको जानकारी नभएको, समस्या सामाधान गर्न नसकेको र आवश्यक विकासको कामसमेत नभइरहेको गुनासो आउन थालेपछि नगरभित्रका प्रत्येक गाउँ टोलमा गएर जनताका समस्या बुझ्दै योजना बनाउन लागेको जानकारी दिए ।

नगरप्रमुख तथा जनप्रतिनिधिको टोलीले नगरवासीकै चाहना अनुरुप काम गर्ने प्रतिबद्धता जनाउँदै गाउँमै गएर राय सुझाव सङ्कलन गर्दै आएका छन् । कोहलपुरको वडा नम्बर ७ बाट सुरु भएको जनतासँग मेयर कार्यक्रम नगरका १५ वटै वडासम्म पुग्ने छ । जनतासँग मेयर कार्यक्रममा वडाका जनप्रतिनिधि, सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, स्थानीयवासी विद्यालय व्यवस्थापन समिति, वन उपभोक्ता लगायतमा आवद्ध व्यक्तिहरु न्गरका वडामा पुग्न थालेका छन् ।

नगरको आवश्यक जनशक्तिसहितको टोली नगरपालिकाको गाउँ–टोलमा पुग्न थालेपछि सर्वसाधारणले आफ्ना गुनासा तथा समस्या समाधान तथा विकासको माग गर्न थालेका छन् । गाउँमै योजना बनाउन थालेपछि स्थानीयले पनि आफ्नो टोलमा बाटो, नाला, किसानका समस्या समाधान, शिक्षामा देखिएको कमी कमजोरी र स्वास्थ्यचौकीमा पर्याप्त औषधि तथा सामाजिक जनजीवनको व्यवस्थापनका लागि आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published.