कोहलपुर, माघ २२,

नेपाल तेक्वान्दो संघ जिल्ला कार्य समिति बाँकेको दोस्रो जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम कोहलपुर नगरपालिका वडा न. १ स्थित सुपर स्टार तेक्वान्दो डोजाङ्गमा समापन भएको छ ।

कार्यक्रममा बाँके जिल्लाभरमा छरिएर रहेका तेक्वान्दो डोजाङ्गका प्रमुख तथा सहायक प्रमुखहरूलाई पुनर्ताजगी तालिम प्रदान गरिएको हो । पुनर्ताजगी तालिममा सहभागीहरुलाई प्रमाणपत्र समेत बितरण गरिएको थियो । नेपाल तेक्वान्दो संघ जिल्ला कार्य समिति बाँकेका अध्यक्ष प्रकाश लामिछानेको अध्यक्षमा भएको समापन कार्यक्रममा प्रमुख अतिथि रुपमा कोहलपुर नगरपालिका प्रमुख पूर्णप्रसाद आचार्य रहेका थिए ।

कार्यक्रममा बोल्दै आचार्यले आफूले सिकेका ज्ञान देशका विभिन्न स्थानसम्म पुग्ने विश्वास व्यक्त गर्दै तेक्वान्दोले बाँकेको खेलक्षेत्रमा गरेको प्रगति निकै प्रशंसनीय रहेको बताए । आचार्यले देशका लागि उत्कृष्ट खेलाडी उत्पादन गर्न प्रशिक्षकको महत्वपूर्ण भूमिका हुने भएकाले यस विशेष प्रशिक्षणलाई अवसरको रूपमा लिन आग्रह गरे ।

तालिममा ४१ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा प्रशिक्षकहरु नेत्रबहादुर थापा, महेश थापा र चन्द्रबहादुर श्रेष्ठले बिभिन्न बिधामा सहभागीहरुलाई प्रशिक्षण गराएका थिए । कार्यक्रममा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा तेक्वान्दो खेलका विभिन्न बिधामा बाँके जिल्लाको प्रतिनिधित्व गर्दै पदक ल्याउन सफल खेलाडीहरु क्रमशः कमल राना, रीतिका शाही र नीलिमा मल्ललाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य एवम् नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य श्रीमान थापामगर रहनु रहेका थिए । कार्यक्रमको संचालन जिल्ला कार्य समिति सह सचिव गोकर्णबहादुर शाहीले गरेका थिए । कार्यक्रममा जिल्ला कार्य समितिका अन्य पदाधिकारी तथा सदस्यहरुको समेत सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.