कोहलपुर, माघ १०,
बाँकेकी एकल महिला निर्मला कुर्मीको अपहरणपछि हत्या भएको दावी गर्दै छानबिन गर्न मागसहित काठमाडौँको माइतिघरमा ३५ दिनदेखि प्रदर्शन भइरहेको छ ।
निर्मलाको परिवारका सदस्यसहित अधिकारकर्मीको समूहले घटनाको छानबिन र दोषीलाई कारबाही गर्न माग गर्दै तेस्रो पटक काठमाडाँैको माइतिघर मण्डलामा प्रदर्शन गरिरहेको छ । झन्डै १६ महिनादेखि यो समूह आन्दोलनमा छ । गृहमन्त्री रवि लामिछानेले टेलिभिजन प्रस्तोता रहँदा निर्मला कुर्मीको मृत्युबारे न्यायोचित अनुसन्धान गर्न माग गर्नु भए पनि सिंहदरबार छिरेपछि बोलीसँगै व्यवहार पनि फेरिएको नागरिक अगुवा, खगेन्द्र सङ्ग्रौलाले बताए ।
निर्मला कुर्मीसहित उनको परिवारकै हत्याको आरोप खेपेका बादशाह कुर्मी, बाँकेबाट प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । हत्या आरोपी नै सांसद बनेपछि प्रभावितले न्याय पाउने सम्भावना झन् कमजोर भएको अधिकारकर्मीहरू बताउँछन् । २०७६ चैत १४ गते बाँकेका निर्मला कुर्मीको भारतमा शङ्कास्पद मृत्यु भएको थियो ।