कोहलपुर, माघ ८,
सभामुख, उपसभामुखको निर्वाचन सकिएसँगै सरकारमा रहेका र नरहेका राजनीतिक दलहरूको ध्यान राष्ट्रपति चयनमा केन्द्रीत भएको छ ।
नेपाली काँग्रेसका प्रवक्ता प्रकाशसरण महतले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू अनुकुलका व्यक्तिलाई सभामुख, उपसभामुख बनाएको र यसले संविधानमाथि खतरा रहेको दाबी गरे । प्रवक्ता महतले राष्ट्रपतिको निर्वाचनमा प्रधानमन्त्री प्रचण्डको परीक्षा हुने टिप्पणी गरे । काँग्रेसका अरु नेताले पनि राष्ट्रपतिमा समर्थन गर्ने शर्तमा प्रधानमन्त्री प्रचण्डलाई आफ्नो पार्टीले समर्थन गरेको दाबी गरिरहेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले सकभर राष्ट्रपतिमा सहमति होस् भन्ने आफ्नो चाहाना भएको बताउँदै आएका छन् । सरकारमा रहेका दलले संवैधानिक पद बाँडफाँड गर्दा प्रधानमन्त्री माओवादी केन्द्रलाई, राष्ट्रपति र सभामुख एमालेलाई दिने सहमति गरेका छन् । उक्त सहमतिपछि पनि प्रधानमन्त्रीले राष्ट्रपतिमा सहमति भइदिए राम्रो हुने थियो भन्दै आउनुलाई सरकारमा रहेका दलले पनि शङ्काको दृष्टिले हेर्दै आएका छन् ।