कोहलपुर, माघ ७,

जुम्लामा इटालियन जातको फूजी स्याउ खेतिमा किसानको आकर्षण बढेको छ ।

रोपेको एक वर्षमै फल दिने भएपछि किसानहरू फुजी स्याउको खेतिमा आकर्षित भएका हुन् । ६ वर्षअघि जुम्ला खलङ्गामा पहिलो पटक रोपिएको फूजी स्याउ अहिले ग्रामिण क्षेत्रमा पनि पुगेको छ । जिल्लाको चन्दननाथ मन्दिरसँग जोडिएको सेरा ज्यूलोमा १४ हजार वर्ग मिटर क्षेत्रफलमा ७ हजार फूजी स्याउका बिरुवा रोपिएका छन् । छोटो समयमै आम्दानी गर्न सकिने फूजी स्याउमा किसानको आर्कषण बढीरहेको छ ।

यो वर्ष स्याउ सुपर जोनले फूजी स्याउका २० हजार बिरुवा ५० प्रतिशत अनुदानमा र कृषि विकास कार्यालयले ६ हजार बिरुवा ७५ प्रतिशत अनुदानमा किसानलाई दिने कार्यक्रम बनाएको छ । स्याउ सुपरजोन जुम्लाका प्रमुख खेमराज शाहिका अनुसार जुम्लाको २२ हेक्टरमा फूजी स्याउ खेति गरिएको छ । २० वटा व्यावसायिक बगैँचा छन् । यो स्याउ प्रति हेक्टर १६ मेट्रिक टनसम्म उत्पादन हुन्छ । अहिले १२ हजार हेक्टरको फूजी स्याउले फल दिइरहेको छ । यो वर्ष एक सय ९२ मेट्रिकटन फूजी उत्पादन भएकोमा ७० प्रतिशत जिल्ला बाहिर निर्यात भएका छन् ।

मौसममा प्रतिकिलो एक सय ४० रुपैयाँमाबिक्री हुने फूजी स्याउबाट यो वर्ष जुम्लामा एक करोड ८७ लाख रुपैँया भित्रिएको छ । ६ वर्षमा ६६ हजार बिरुवा रोपिएको जुम्लामा यो वर्ष मात्रै २६ हजार बिरुवा रोपिँदै छ ।

Leave a Reply

Your email address will not be published.