बिधुत्मा रैका, कोहलपुर, पुष ६,
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ८ पिपिरीमा रहेको शिखा एकडेमीले अध्ययन अध्यापनमा मात्रै नभई विद्यार्थीहरुको क्षमताको वृद्धि विकासका लागि विभिन्न अतिरिक्त क्रियाकलाप गर्दै आएको छ ।
विद्यार्थीहरुले अतिरिक्त क्रियाकलापबाट अतिरिक्त ज्ञान बढाउन थालेका शिखा एकेडेमीले बताएको छ । जसका कारण शिखा एकेडेमीमा विभिन्न अतिरिक्र क्रियाकलाप हुँदै आएको प्रिन्सिपल टंक प्रसाद के.सी.ले बताएका छन् । शिक्षा नियमावलीमा नै विद्यार्थीहरूको सिर्जनात्मक प्रतिभाको विकासका लागि विद्यालयमा अतिरिक्त क्रियाकलापका कार्यक्रम सञ्चालन गर्नुपर्ने उल्लेख छ । सोही नियमावली अनुसार शिखा एकेडेमी विद्यार्थीहरुको अतिरिक्त क्षमता अभिवृद्धिमा लागेको छ ।
शिखा एकेडेमीमा विभिन्न समयमा विभिन्न अतिरिक्त क्रियाकलाप हुँदै आएका छन् । विद्यार्थीहरुको पढाईसँग–सँगै ज्ञान, सीप, बौद्धिक तथा व्यक्तित्व विकासलाई प्रभावकारी बनाउन शिखा एकेडेमीले प्रभावकारी कार्यक्रमहरु गर्दै आईरहेको शिखा एकेडेमीले दावी गरेको छ । सो विद्यालयमा २ सय ३५ विद्यार्थीहरु अध्ययनरत छन् । विद्यालयमा गायन, नृत्य, वक्तृत्वकला, हाजिरी जवाफ तथा खेलकुद प्रतियोगिताका साथै साहित्यिक र साँगितिक गतिविधिसँग सम्बन्धित विभिन्न क्रियाकलाप हुँदै आएको छ ।
विद्यालयमा अतिरिक्त क्रियाकलापमा भाग लिन पाएपछि खुसी लागेको विद्यार्थीहरु बताउँछन् । कक्षा ६ देखि ८ सम्म पढाइ हुने पेशा व्यवसाय किताबमा भएका क्रियाकलाप पनि विद्यार्थीलाई गराइँदा उनीहरूले धेरै सिकेको प्रिन्सिपल के.सी.ले बताए । वि.स २०६६ सालमा स्थापना भएको विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने हरसम्भव प्रयास गरिरहेको एकेडेमीका प्रशासकीय अधिकारी किरण परियारको भनाई छ । उनी भन्छन्,–‘किताबी ज्ञान भएर मात्रै हुदैंन । हामी अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीहरुलाई प्रोत्साहन गर्छौ’ ।