कोहलपुर, पुष ५,

सरकारले ‘कृषि क्षेत्रबाटै आर्थिक क्रान्ति सुरु गर्ने’ दाबी गर्दै आए पनि किसानले आवश्यकता अनुसार रासायनिक मल पाउन सकेका छैनन् ।

अहिले २५ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहे पनि धेरै ठाउँका किसानले आवश्यकता अनुसार मल नपाएको गुनासो गरेका छन् । धान काटेर तोरी लगायत हिउँदे बाली लगाउनुभएका नवलपूरका किसान चन्द्रकला सुवेदीले रासायनिक मल नपाएको गुनासो गर्नुभयो । भारतबाट आयात गरिने रासायनिक मल कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिवको अध्यक्षतामा रहेको मल अनुदान वितरण व्यवस्थापन समितिले खेतियोग्य जमिन रहेको आधारमा प्रदेशगत कोटा निर्धारण गरी छुट्याउने गरेको छ ।

स्थानीय तहले प्रदेशसँग मल माग गरेपछि सहकारी, कृषि सामग्री लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन मार्फत बिक्री हुँदै आएको छ । कृषि सामग्री लिमिटेड र साल्ट टे«डिङसँग अहिले करिब २५ हजार मेट्रिक टन युरिया, डीएपी र पोटास मल मौज्दात छ भने यहि साताभित्र ३० हजार मेट्रिक टन युरिया नेपाल आइपुग्दैछ । यस्तै, थप ७० हजार मेट्रिक टन मल आयात हुने निश्चित भइसकेको र थप ५० हजार मेट्रिक टन आयातका लागि सम्झौता भइसकेको सरकारको भनाइ छ ।

यो मात्रा हिउँदे बालीका लागि पर्याप्त हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले बताउनुभयो । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले तीनै तहका सरकारको समन्वयमा प्रत्येक स्थानीय तहमा प्राङ्गारिक मल उत्पादन तथा उपयोगलाई प्रोत्साहन गर्ने बताए पनि खासै काम अघि बढेको छैन ।

Leave a Reply

Your email address will not be published.