बिधुत्मा रैका,
कोहलपुर, जेठ २५,
नेपालको लुम्बिनी प्रदेश अन्तर्गत एक भू–स्वर्गिय आनन्द दिन सक्ने सुन्दर जिल्ला हो बर्दिया । सुदूरपश्चिम प्रदेशसँग सिमा जोडिएको बर्दिया जिल्ला लुम्बिनी प्रदेशको पश्चिमी प्रवेशद्धार पनि हो । बर्दिया जिल्लाको पश्चिमी भागमा कर्णाली नदी र जिल्लाको मध्यभागमा बबई नदी बग्दछन् । बर्दिया जिल्लालाई नेपालको अन्नभण्डारका रूपमा पनि चिनिन्छ । बर्दिया राष्ट्रिय निकुञ्ज, ठाकुरबाबा मन्दिर, लोपोन्मुख पाटेबाघ, संरक्षित कृष्णसार लगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रले बर्दियालाई चिनाएको छ । विगतमा आदीबासी थारूहरूको बाहुल्यता रहेको यो जिल्ला पछिल्ला दिनहरूमा बाहिरी जिल्लाहरूबाट बसाईसराईको क्रम बढेसंगै जातिय र साँस्कृतिक विविधता रहेको छ । यसै एकको एक अभिन्न अंग हो बारबर्दिया नगरपालिका
ऐतिहासिक, सांस्कृतिक धरोहरको चिनिएको बारबर्दिया बारबर्दिया शब्द थारू समुदायको बाह्र जना बर्दिवाहरू (ग्वालाहरू) सँग सम्बन्धित रहेको जनविश्वास रहेको छ । यस क्षेत्रमा थारू समुदायको बाह्र जना बर्दिवाहरू गाई, गोरु चराउन जंगलमा गए र देउतालाई वलि दिने भनी नाटक गर्दा दश जना बर्दिवाहरू लोप भए । बाँकी दुईजना बर्दिवाहरू गाउँलेको डरले आ–आफ्नो घाँटी रेटी मृत्युवरण गरेको किंम्वदन्ती रहेको छ । बाह्र जना बर्दिवाहरू मरेको उक्त स्थानमा गाउँलेहरू बरहो बरदिया मण्डप निर्माण गरी पुजापाठ गर्न थाले । वडाको ऐतिहासिक, सांस्कृतिक धरोहरको रूपमा रहेको उक्त बरहो बरदिया (बारबर्दिया) मण्डपकै नामलाई आधार मानी स्थानीय समुदायको माग बमोजिम नै नगरपालिकाको नाम बारबर्दिया नामाकरण हुन गएको स्थानीयहरूको भनाई रहेको छ ।
पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको यो नगरपालिको आधा क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्जले ओगेटेको छ । नगरपालिकामा विभिन्न जातजाति तथा धर्म मान्ने व्यक्तिहरूको बसोबास रहेको छ । विषेश गरि यस नगरपालिकामा थारू समुदायको बाहुल्यता रहेको छ । यहाँ प्राचिन कालका पौराणिक क्षेत्रहरू, मठमन्दिर, प्राकृतिक श्रोत तथा सामाजिक महत्वका क्षेत्रहरू प्रशस्त भएकाले पर्यटनका लागि निकै उपयुक्त छ । दशैँ, तिहार, माघि, होलि, कृष्णजन्माष्टमी, बकरइद, आईतबारी, छठपर्व, बुद्धजयन्ती, क्रिष्मस आदि यहाँका प्रमुख चाडपर्वहरू हुन् । प्राकृतिक तथा सांस्कृतिक पाटोबाट यहाँको विकासलाई जोड्न सकिने थुप्रै आधारहरू भएकाले पर्यटनको हबका रूपमा विकास गर्न सकिन्छ ।
बर्दिया राष्ट्रिय निकुञ्जले छोएकाले पनि यस नगरपालिकामा थुप्रै पर्यटकीय सम्भावनाहरू रहेका छन् । नगरपालिकामा दुई वटा होमस्टेको स्थापना गरिएको छ । सतखलुवा ताल, रानी जरूवा पार्क, खैरेनी होमस्टे तथा रम्मापुर होमस्टे आन्तरिक तथा वाह्य पर्यटकहरूलाई स्वागतका लागि जहिल्यै मुस्कुराई रहन्छ । पर्यटन विकासका लागि बाँके राष्ट्रिय निकुञ्जभित्र रहेको सतखलुवा ताल पर्यटनको अर्काे गन्तव्य बनेको छ । अघिल्तिर घना जङ्गल छ । पछिल्तिर पहाडी र थारूहरूको बाक्लो बस्ती छ । जङ्गलसँगै सटेको सतखलुवा ताल, तालको पूर्वतिर ग्याङ्ग र पश्चिममा भादा खोला छ । पूर्वपश्चिम राजमार्गको बैदीचोकबाट साढे तीन किलोमिटर उत्तर लागेपछि सतखलुवा ताल पर्छ । ताल पुग्नु अगावै फराकिला बाटा, सफा मनोरम दृश्यका बीचमा सतखलुवा होमस्टे छ, जहाँ आउने पाहुनालाई हार्दिकताका साथ स्वागत गरिन्छ ।
बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका–९ स्थित सतखलुवा पुग्ने जो कोही पर्यटक आनन्दित नभई रहन सक्दैनन् । खैरेनी होमस्टे हुँदै १० मिनेट पैदल हिँडेपछि सिमसार जङ्गलमै उक्त ताल देखापर्छ । जैविक विविधताले भरिपूर्ण यो क्षेत्रमा विभिन्न २५० भन्दा बढी प्रजातिका चराचुरूङ्गी, पुतलीका साथै जङ्गली पाटेबाघ, चित्तल, बँदेल लगायतका जनावर तालमा देख्न पाइन्छ । बाटोमा होमस्टे र साना चिया पसल भेटिन्छन् । अर्गानिक तरकारी, फलफूल र दुग्धजन्य पदार्थ ठाउँ–ठाउँमा किन्न पाइन्छ । सतखलुवा ताल पर्यटकीय दृष्टिकोणले निकै रमणीय छ । सामुदायिक वनभित्रको तालमा डुङ्गा सयरको व्यवस्था छ । बाँके राष्ट्रिय निकुञ्ज त झनै यहाँको पर्यटनको प्रमुख आधार हो । निकुञ्जमा पाटे बाघ, हात्ति, चित्तल, मयुर, मृग लगायतका चराचुरुङ्गी जनावर, तथा घाँसे मैदानहरु देख्न पाईन्छ ।
रानी जरूवा पार्क पाक पनि यहाँको पर्यटनका लागि उचित स्थान हो । यहाँ धार्मिक तथा सांस्कृतिक विविधता पाईने भएको हुँदा यसलाई पनि आकर्षक पर्यटकिय माध्यम मान्न सकिन्छ । बहुजातीय, बहुभाषिक एवं लामो ऐतिहासिक पृष्ठभूमि भएको समाजमा संस्कृति, रहनसहन, भेषभुषामा पनि विविधता पाइन्छ । तिनै धार्मिक तथा सांस्कृतिक कुराको समिश्रण बारबर्दिया नगरपालिका । थारू बाहुल्यता रहेको हुनाले विशेष गरि माघीमा यहाँका मठ मन्दिरहरूका धार्मिक धर्मावलम्वी, भक्तजनहरूको घुँइचो लाग्ने गर्दछ । साथै अन्य जिल्लाबाट बसाई सरी आएका मानिसहरूको पनि बसोबास भएको हुनाले यहाँका धार्मिक, सांस्कृतिक, ऐतिहासिक कुराहरूलार्य संरक्षण, सम्वद्र्धन को प्रयासहरु भैरहेका छन् ।
नगरमा अवस्थित फेनापति मन्दिर, वरोह मरूवा मन्दिर, कृष्ण प्रणामी, राधाकृष्ण मन्दिर, बुढि भवानी मन्दिर, शिव तथा हनुमान मन्दिर, दुर्गा भवानी मन्दिर, पाँचधाम, कालिकास्थान, सोनपुर, शान्ति, सन्देश चर्च लगायत धार्मिक मठमन्दिरहरू यहाँका परापूर्व कालदेखिका ऐतिहासिक क्षेत्रहरू छन् । बारबर्दिया नगरपालिका थारु बाहसल्यतासँगै यहाँ हिमाली तथा पहाडी मानिसहरूको मिश्रित बसोबास भएपनि थारु जाती यहाँको रैथाने समुदाय हो । त्यसैले पनि यहाँ थारु जातिहरूका कला, संस्कृति, भेषभुषा, सिपहरूको अवलोकनका साथै खानाका परिकारहरूको स्वाद लिन पाईन्छ । यति मात्र नभई यो नगरपालिकामा थारु संग्राहलयको स्थापना भएका छन् भने अधिकांश स्थानमा संग्राहलयको स्थापना भैरहेका छन् । यहाँका थारु संग्रहालय आन्तरिक पर्यटक तथा वाह्य पर्यटकहरूका लागि आकर्षकको केन्द्र बन्दै गएका छन् ।
यो नगरपालिकाका स्थानीय तहहरू पनि थारु जातिको कला र संस्कृति जगेर्ना गर्नको लागि दाङमा थारु संग्राहलय निर्माणमा व्यस्त रहेका छन् । यहाँ रहेका संग्राहलयमा आदिवासी थारु जातिका कला संस्कृति झल्कने भेषभूषा, गरगहना, रितिरीवाज, परम्परा, कपडा, पैसा, काठका चप्पल, माटाका भाँडा, ढकिया, भाषाको ज्ञानसँगै थारु जातिको जीवनशैली, उनीहरूले प्रयोग गर्ने विभिन्न कृषि उपकरणसमेत राखिएका छन् । बारबर्दियालाई थारु कला संस्कृतिको नमूना नगरका रूपमा परिचय स्थापित गर्न तथा आन्तरिक र बाह्य पर्यटक भित्र्याउने उद्धेश्यले थारु संग्राहलय निर्माण भएका हुन् । पर्यटकलाई लक्षित गरी थारु समुदायले आफ्नो संस्कृति झल्कने नाचगान, भेषभूषा र खानपान प्रदर्शन गर्ने गरेका छन् । बारबार्दिया नगरपालिका पर्यटनका लागि निकै आकर्षक मानिन्छ । यहाँ दैनिक १०० भन्दा बढि पर्यटकहरू यहाँका पर्यटकीय क्षेत्र अवलोकनका लागि आउने गर्छन् ।
यो नगरपालिकामा २ वटा सामुदायिक होमस्टको स्थापना भएका छन् । आन्तरिक तथा बाह्य पर्यटकलाई रैथाने कला, संस्कृति, रहनसहन, भेषभूषा, खानपान तथा पर्यावरणका विविध आयामसँग जोडेर पर्यटन व्यवसायका लागि होमस्टे संचालन भएका छन् । नगर क्षेत्रमा रहेका खैरेनी सामुदायिक होमस्टे तथा रम्मापुर सामुदायिक होमस्टे पर्यटकका मुख्य गन्तव्यहरू हुन् । होमस्टे अर्थात् घरबास कार्यक्रम ग्रामीण पर्यटन विकासका लागि महत्वपूर्ण पूर्वाधार पनि हो । यहाँका होमस्टेहरूले यहाँ घुम्न आउने पर्यटकहरूलाई आवास, खाना र अन्य सेवा प्रदान गर्ने गर्छन् ।
यहाँका होमस्टेले वातावरण तथा जैविक विविधता संरक्षण गरेर गुणस्तरीय सेवा प्रदान गर्न र स्थानीय तहमा उत्पादित घरायसी उत्पादनमा आत्मनिर्भर बन्न समेत सघाउ पुगेको छ । स्थानीय सांस्कृतिक नाँचगान तथा फुलमालाका साथ पर्यटकको स्वागत गर्ने, पर्यटकहरूलाई सामुदायिक होमस्टे वा खुला ठाउँमा मौलिक परम्परा वा सांस्कृतिमा आधारित सांस्कृतिक कार्यक्रमहरूको प्रस्तुति मेला, जात्रा जस्ता गतिविधीहरू आयोजना गरी सहभागी गराउँछन् । सांस्कृतिक सम्पदा, संग्राहलय, घरेलु तथा हस्तकलाका सामाग्री, जंगल, वन्यजन्तु, चरा अवलोकन, जीवनशैली, कला संस्कृति आदी विषयमा अनुभव तथा ज्ञानको आदानप्रदान गराउने गर्छन् । यसका लागि नगरपालिकाले होमेस्टेको विकास तथा प्रचारप्रसारका लागि सहयोग गर्दै आएको छ ।