सरला सुवेदी
कोहलपुर, वैशाख १२,
कोहलपुर, बाँके । २०६२÷६३ जनआन्दोलनमा होमिँदै गर्दा राजनीति यात्रा सुरु गरेकी चमेली बाकाबल नेकपा एमालेको बाँके जिल्ला सदस्य हुन् । आसन्न वैशाख ३० गते हुन गैरहेको स्थानीय निर्वाचनको राप्ति सोनारी गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवार हुन् । २०७४ सालको स्थानीय तहको निर्वाचन मा पनि नेकपा एमालेबाट राप्ति सोनारी गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवार बनेकी उनी त्यतिबेला विभिन्न कारणवश दोस्रो पोजिसनमा आएकी थिइन् ।
बुवा ताराबहादुर बाकाबल र आमा तारादेवी बाकाबलको कोखबाट २०४४ सालमा जन्मनुभएकी चमेली अध्ययनको क्रममा र अध्ययनसँगै राजनीतिक यात्राको थालनी गर्दै २०६५ सालमा अनेरास्ववियुको ईकाइ कमिटीको उपाध्यक्ष भएर आबद्ध भएकी हुन् । २०६५सालदेखि विद्यार्थी संगठनमा आबद्ध हुँदै २०७१ सालमा पार्टीको गाउँ कमिटीको सचिव हँुदै निर्वाचन क्षेत्र १ क को सचिव राप्ति सोनारी ६ को पार्टीको वडा इन्चार्ज हुँदै उनको राजनीति यात्रा अगाडि बढेको हो । उनी विभिन्न संघ संस्थामा रही काम गर्दै समाज सेवा गर्दै आएकी छिन् । चमेली स्कुल पढ्दा देखि नै बुवाआमा र शिक्षकको प्रेरणाले राजनीतिमा लागेकी हुन् । राजनीतिमा महिला सहभागिता बढाउनका निम्ति महिला स्वयम्को अग्रसरता र पार्टीले महिलालाई अवसर जिम्मेवारी सुम्पने गरेमा पुरुषसरह महिलाले पनि राजनीति गर्न सक्छन् भन्ने सोच राख्ने चमेलीको जीवन यात्रा यस्तो छ ।
कक्षा ११ मा अध्ययन गर्दा देखि नै राजनीति क्षेत्रमा प्रवेश गरेकी चमेलीले शिक्षामा स्वास्थ विषयबाट स्नातक गरेकी छिन् । विभिन्न कारणले अध्ययनलाई अगाडि बडाउन नसकेको र अब समय अनुकूल मिलाएर आफ्नो अध्ययनलाई पुनः अगाडि बढाउने बताइन् । कलेजमा पढाउने शिक्षकले अनि आफूभन्दा अग्रज दाजु दिदीहरूले राजनीति बुझ्न जरुरी छ भन्दै राजनीति नै देशको मूल नीति हो भनी पढाउनु र सिकाउनुहुन्थ्यो । त्यसपछि त्यही शिक्षालाई प्रसाद ठानी मैले राजनीतिमा पाइला टेक्न थालेँ । राजनीति क्षेत्रमा लागेको १५ वर्ष भइसक्यो विगतको तुलनामा अहिले महिलालाई राजनीति गर्न केही सजिलो छ । पार्टीमा पुरुषवादी सोच कायमै रहनु आदि कारणले गर्दा महिला राजनीतिमा आउन सक्दैनथे । महिलाको हातमा आर्थिक अवस्था बलियो हँुदैन, राजनीति गर्न पैसा चाहिन्छ हिम्मत चाहिन्छ भन्ने थियो तर अहिले समयको माग फेरिएको छ, मानिसको सोच बदलिएको छ । त्यसैले अहिले मलाई सबैले विश्वास गरेर मैले गरेको कामको मूल्याङ्कन गरेर पार्टीले मलाई पुनः उम्मेदवार बनाएको छ । अहिलेको अवस्थामा भन्दा पहिले मलाई नि केही मात्रामा कठिन त पथ्र्यो नै ।
आर्थिक कारणले मैले पनि विभिन्न घरायसी कामको खर्चबाट बचाएर पैसा बचत गर्ने, विभिन्न संस्थामा काम गर्दै अर्थ जुटाएर राजनीति गरेकी हुँ । यात्रा गर्ने क्रममा होस् वा गाउँ समाज र राजनीतिमा अझै पनि कहिँकतै पुरुष मानसिकता कायमै रहेको हुँदा राजनीतिमा लागेका महिलाहरूले हिंसागत सामना त गर्नुपर्दछ । यिनै विभिन्न कारणले गर्दा राजनिति क्षेत्रमा महिला सहभागिता कम छ । राजनीति चेतनाको अभाव ग्रामीण क्षेत्रका महिलाहरूलाई घरायसी कार्य र आर्थिकको अभाव, राज्यले महिलाहरूलाई हरेक क्षेत्रमा अगाडि बढाउन विशेष प्याकेज नल्याउनु, यदि ल्याए तापनि कार्यान्वयन नगर्नु आदि हुन् ।
राजनीतिमा लागेर २०७४ साल पहिलोपटक एकैचोटि स्थानीय तहको निर्वाचनमा गाउँपालिकाको उपाध्यक्ष पदको टिकट पाउँदा एकदमै खुसी भएकी थिएँ । त्यो बेला झिनो मतले हार स्विकार्न प¥यो । हार भए नि मैले कहिले हार महसुस गरिनँ । दिनरात पार्टी अनि जनताको सेवामा खटि नै रहेँ । त्यसैले मेरो कामको उचित मूल्याङ्कन गरी पार्टीले पुन मलाई गाउँपालिकाको उपाध्यक्षमा टिकट दिँदा म एकदमै खुशी छु । सायद यो मेरो लागि राजनीतिक यात्राको सबैभन्दा सुनौलो अवसर हो । तर पनि अझै पार्टीमा दिनरात मरी मरी काम गर्दा पनि निर्णायक तहमा महिलाहरूलाई मुख्य पद नदिने र महिलाको काममा सहि मूल्याङ्कन अझै पनि पूर्ण रूपमा हुन नसकेको हुँदा दुख लाग्छ । त्यसैले अब महिलाहरू राज्यका हरेक क्षेत्रमा अघि बढ्न राजनीतिमा लाग्न आवश्यक छ । जबसम्म महिलाहरू राजनीति क्षेत्रमा आउन सक्दैनन् तबसम्म महिलाका अधिकारहरू पनि सुनिश्चित हुन सक्दैनन् ।
त्यसैले राज्यले पनि महिलालाई अगाडि बढाउन शिक्षा चेतना प्रशिक्षण अवसर आर्थिक सहयोग गर्न खाँचो र कार्यान्वयन गर्न जरुरी छ । महिलाका मुद्दामा सबै पार्टीका महिलाहरू एकजुट भई अगाडि बढ्ने आफ्नो अधिकारका लागि पार्टीभित्र पनि निर्णायक तहको पदमा लड्ने पार्टीले महिला पुरुष दुवैलाई समान अधिकार दिन कन्जुस्याइँ नगर्ने राज्यले पनि प्रोत्साहन सहयोग अधिकार दिन जरुरी छ । अब सम्पूर्ण पार्टीका महिलाहरू दलगत स्वार्थभन्दा माथि उठेर महिलाका मुद्दामा एकजुट भएर महिला मैत्री सरकार निर्माण गर्न सक्नुपर्दछ ।
गाउँ त्यो पनि बाँके जिल्लाको एकदमै विकट पालिका विगतमा खुलेर राजनीति गर्न नपाइने अवस्थामा पनि आमाबुवा र स्कुलमा पढाउने शिक्षकको प्रेरणाले राजनितिमा लागेकी चमेली हाल राजनिति गर्न सजिलो र खुल्ला भए पनि महिलालाई लैङ्गिक विभेद राजनितिक हिंसा, चेतना प्रशिक्षण र अवसरको कमी भएको महसुस गरेकी छिन् । त्यसैले अबको स्थानीय चुनावमा महिलाका मुद्दा, शैक्षिक क्षेत्र, बालबालिकाका मुद्दालाई विशेष योजनामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाएकी छन् ।