बिधुत्मा रैका,
कोहलपुर, चैत्र १५,
नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका परम्परागत तथा शास्त्रीय संगीत विभाग परम्परागत लोपोन्मुख अवस्थामा रहेका मौलिक पहिचान तथा मौलिक संस्कृति जगेर्नाका लागि सक्रिय छ । पछिल्लो समयमा पहाडी तथा थारू समुदायमा रहेको मौलिक संस्कृति हराउँदै गएपछि नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका परम्परागत तथा शास्त्रीय संगीत विभागले मौलिक संस्कृति झल्किने कार्यक्रमको आयोजना गरिरहेको थियो ।
गएको शनिबार बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २ वर्दहवामा नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठान बालुवाटार काठमाण्डौको आयोजना तथा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान बाँकेको समन्वय/सहकार्यमा थारु समुदायको संस्कृति झल्किने गीत, नाँचका साथै पहाडी समुदायको संस्कृति तथा सांस्कृतिक पहिचान झल्किने सांगितिक कार्यक्रमको आयोजना गरिएको थियो । लुम्बिनी प्रदेशको बाँके जिल्लामा देखाईने स्थानीयस्तरका थारु कला र संस्कृतिलाई राष्ट्रियस्तरमा चिनाउन यो कार्यक्रम राखिएको आयोजनाकले जनाएको छ । कार्यक्रमका माध्यमबाट परम्परागत पहाडी तथा थारु जातिको लोककला र संस्कृतिको जगेर्ना, संरक्षण र संम्वर्धनसंलाई सहयोग पुग्ने उद्देश्यका साथ कार्यक्रमको आयेजना गरिएको थियो ।
नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका परम्परागत तथा शास्त्रीय संगीत विभाग प्रमुख प्राज्ञ धीरेन्द्र प्रेमर्षिले आफ्नो विभागबाट लोपोन्मुख अवस्थामा रहेका कला संस्कृतिको जगेर्ना गर्न यस्ता कार्यक्रमहरु गर्दै आएको बताए । उनले विषेश गरी थारु जातिको बरका नाँच लोपोन्मुख अवस्थामा रहेको हुनाले त्यसको संरक्षणका लागि स्वयम थारु समुदाय नै अग्रसर हुनुपर्ने र त्यसका लागि राज्यले पनि संरक्षण तथा संम्वर्धन गर्नु पर्ने बताए । कार्यक्रममा थारु नाँचसँगसँगै सुर्खेत, सल्यान, जाजरकोट जिल्लाहरुमा प्रचलित कुरकुटी नाँच पनि प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा कोहलपुर नगरपालिकाका उप-प्रमुख सञ्जु कुमारी चौधरीले आफ्नो पुर्खाले संरक्षण गर्दै आएको संस्कृति लोप हुन नदिन र त्यसलाई जोगाउन सबैलाई आग्रह गरिन् । उनले थारु जातिको लोप हुने अवस्थामा रहेको बरका नाँच पछिल्लो समय कमै देख्न पाईने गरेको बताउँदै थारुहरुले पहिलेदेखि मान्दै आएका चालचलन अहिले विस्तारै लोप हुने खतरा देखिएको प्रति चिन्ता व्यक्त गरिन् । उनले भनिन,–‘कोहलपुर नगरपालिकाले पनि लोक कला, साहित्य जगेर्नाका लागि पहल गर्दै आईरहेको छ । तराईका आदिवासी र भूमि पुत्र थारु जाति भएकोले पनि नगरपालिका थारु जातिको संस्कृतिको संरक्षण गर्दै आईरहेको छ ।’
साहित्यकार सुशील चौधरीले बरका नाँचको कार्यपत्र प्रस्तुत गरेका थिए । बरका नाँच लोकप्रिय महाभारत कथामा आधारित नाँच भएकाले यसको छुट्टै विषेशता रहेको कार्यपत्रमा उल्लेख गरिएको छ । कार्यपत्र माथी टिप्पणी गर्दै छविलाल कोपिलाले बरका नाँचलाई जोगाउनु पर्ने धारणा व्यक्त गरे । कोहलपुर नगरपालिका वडा नम्बर २ का अध्यक्ष कर्णसिहं बि.सी.ले थारु संस्कृति जोगाउज वडाले विषेश पहल गरेको बताएका छन् । त्यसका लागि वडातह मात्रै नभई समग्र राज्य नै लाग्नु पर्ने उनको धारणा थियो ।
कार्यक्रममा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान बाँकेका अध्यक्ष कपिल अञ्जानले साहित्यिक गतिविधि सँगसँगै कला संस्कृतिलाई पनि संरक्षण गर्ने उद्देश्यका साथ आफूहरुले यो कार्यक्रम आयोजना गरिएको बताए । उनले यस पश्चिम क्षेत्र तथा बाँके जिल्लामा बसोबास गर्दै आएका चिडिमार, कुसवधिया, सोनाह, खोनाह लगायतका जातिहरुको लोक कला संस्कृतिलाई जगेर्ना गर्न आफूहरु तयार रहेको र त्यसका लागि उनीहरु बसोवास गर्ने स्थानीय तह तथा सम्बन्धित सरोकारवाला निकायहरुले पनि सहयोग गर्नुपर्ने बताए ।
बाँकेको कोहलपुरमा ‘एक प्रदेश, एक परम्परा’ अन्तरगत थारु जातिको नृत्य संगीत परम्परा कार्यक्रममा गएको शनिबार सम्पन्न भएको छ । कार्यक्रममा साहित्यकार रुपमा झा, सागर गैरे, अञ्जु न्यौपाने, सुमित्रा न्यौपाने, खोपीराम वली, पुष्कर रिजाल, महानन्द ढकाल, विक्रम शिशिर लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा साहित्यकार छविलाल खड्काको कृति आर्शिवाद र साहित्यकार बिष्णु पादुकाको कविता संग्रह बिन्दुको वृत्त विमोचन गरिएको छ ।