बिधुत्मा रैका,
कोहलपुर, चैत्र १,
नेपाली कांग्रसका महामन्त्री गगन थापाले अबको पाँच वर्षका लागि देश बनाउने जिम्मा कांग्रेसलाई दिनुपर्ने बताएका छन् ।
कांग्रेस महामन्त्री थापाले कांग्रेसले अबको पाँच वर्षमा देशमा परिवर्तन ल्याउने ठोकुवा गर्दै कांग्रेसलाई अबको निर्वाचनमा बहुमतका साथ विजयी गराउन आग्रह गरे । उनले कम्युनिष्टहरुले पाँच वर्ष शासन गरिसक्दा पनि जनताले विकासको महशुस गर्न नपाएको बताए । यदि देश बनाउने हो भने नेपाली जनताले पाँच वर्षका लागि कांग्रेसलाई जिम्मेवारी दिनुपर्ने धारणा व्यक्त गरे ।
सोमबार बाँकेको कोहलपुरमा आयोजना गरिएको क्षेत्रिय भेलामा बोल्दै थापाले कम्युनिष्टहरुले एमसिसीका विषयमा सिर्जना गरेको भ्रम फैलाएको आरोप लगाए । एमसिसीको विषयमा फैलाइएको भ्रमका कारण अहिले साना बालबालिकाको समेत गलत बुझाई भइरहेको उनको भनाई थियो । कांग्रेस क्षेत्र नम्बर १ को आयोजनामा भएको कानर्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरु दीपक गिरी, सञ्जय गौतम, मैकुलाल बाल्मिकी, लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन क्षेत्रिय सभापति पोषण को.सी. लगायतले सभामा मन्तव्य राखेका थिए ।
स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर नेपाली कांग्रेसले देशभरि ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु गरेको छ । सोही अभियान अन्तरगत कोहलपुरमा कार्यक्रमको आयोजना गरिएको नेपाली कांग्रेस क्षेत्रिय समिति बाँकेले जनाएको छ । महामन्त्री थापाले कांग्रेस कोहलपुर नगर कार्य समितिको आयोजना कार्यालय उद्घाटन समेत गरेका छन् ।