कोहलपुर, फागुन २५,
साँफेबगर नगरपालिका वडा नम्बर २ अछामका सरोकारवालाहरुले लैङ्गिक समानता, महिला सशक्तीकरण, महिला अधिकारको सुनिश्चिततामा जोड दिएका छन् ।
११२औं नारी दिवस मनाउने क्रममा मंगलबार सरोकारवालाहरुले जब सम्म छोरी बुहारीमा विभेद रहन्छ महिला हिंसा अन्त्य नहुने बताएका हुन् । राज्यका हरेक निकायमा महिलालाई समानुपातिक, समावेशी सिद्धान्तका आधारमा सहभागी हुन पाउने अधिकार सुनिश्चित गर्नुका साथै सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हकको व्यवस्था गरिएको उल्लेख गरेका थिए ।
साँफेबगर नगरपालिका वडा नम्बर २ का महिला संजाल तथा वाक नेपालको आयोजना तथा वडा कार्यालयको समन्वयमा कार्यक्रम मनाईएको थियो । सिता कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष कालु सिंह कुँवर प्रमुख अतिथी रहेका थिए । प्रमुख अतिथी कुँवरले महिलामाथि हुने सबै किसिमका विभेदलाई जरैदेखि उन्मूलन गरी सभ्य र सुसंस्कृत समाज निर्माणको प्रयास सबैले गर्नुपर्ने बताएका थिए । कुँवरले परम्पराकै नाममा अद्यापि कायम रहेका कतिपय अन्धविश्वास र कुप्रथालाई अन्त्य गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा विशिष्ट अतिथी कांग्रेस महाधिवेशन सदस्य जयन्द्र स्वाँर, नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य सुरत भुल रहेका थिए भने । वडाका जनप्रतिनिधिहरु, कांग्रेस वडा सभापती मीन बहादुर कुँवर, नेकपा एमाले वडा कमिटी अध्यक्ष सुरेश स्वाँर, एकिकृत समाजबादीका हंस कुँवर अनेरास्ववियु जिल्ला कमिटी सदस्य जनता रैका, समाजसेवी सेत बहादुर आउजी, शान्ति मा.वि. का शिक्षक मोति लाल सुवेदी, सामाजिक रुपान्तरणका लागि महिला शशक्तिकरण परियोजनाका अधिकृत सत्य स्वाँर,कल्पना स्वाँर लगायतले दिवसका अवसरमा शुभकामना दिएका थिए ।