कोहलपुर, फागुन २५,
नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणका लागि २५ खेलाडीलाई बोलाइएको छ ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले बन्द प्रशिक्षणका लागि २५ खेलाडी डाकेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । थाइल्याण्ड र थाइ क्लब चोनबरी एफसीसँगको मैत्रीपूर्ण खेलका लागि बन्द प्रशिक्षणमा २५ जना खेलाडीलाई बोलाइएको हो ।नेपालले थाइल्याण्डसँग मार्च २४ मा खेल्नेछ भने थाइल्याण्डको क्लब चोनबरी एफसीसँग पनि मैत्रीपूर्ण खेल खेल्नेछ ।
चेनबरीसँगको खेल मार्च २७ मा हुनेछ । दुबै खेल चोनबरीमा नै हुने एन्फाले जनाएको छ ।एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले थाइल्याण्डसँग खेल्न लागेको हो ।छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ।नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन पनि रहेका छन् । नेपालको समूहको छनोट खेलहरू कुवेतमा आयोजना हुनेछ ।एएफसीले छनोटमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरेको हो ।
हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन् । छनोट खेलहरू जुन ८ देखि १४ सम्म हुनेछ ।नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ ।दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ भने जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ ।