कोहलपुर, फागुन २०,
रुस र युक्रेनका प्रतिनिधिबीच भएको दोस्रो चरणको वार्ता सकिएको छ ।
दुवै पक्षले मानवीय सहायताका लागि सुरक्षित क्षेत्रको व्यवस्था गर्ने सहमित गर्दै दोस्रो चरणको वार्ता सकिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।युक्रेनका एक वरिष्ठ अधिकारीले आफूहरूले चाहे जस्तो नतिजा ननिस्के पनि मानवीय सहायताका लागि सुरक्षित क्षेत्रको व्यवस्था गर्ने गरी दोस्रो चरणको वार्ता सकिएको बताएका बीबीसीले जनाएको छ । रुसका प्रमुख वार्ताकार भ्लादिमिर मेडिन्स्कीले समेत मानवीय सहायताका लागि सुरक्षित मार्गको व्यवस्था गर्ने सहमति भएको पुष्टि गर्दै दोस्रो चरणको वार्तालाई ‘ठूलो प्रगति भनेका छन् ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग एक्लाएक्लै वार्ताका लागि प्रस्ताव गर्नुभएको छ । उहाँले युक्रेनमा जारी द्वन्द्व अन्त्यको लागि वार्ता एक मात्र उपाय भएको बताउनुभएको बीबीसीले जनाएको छ । युरोपेली संघले युद्धका कारण देश छोडेका युक्रेनी शरणार्थीलाई तीन वर्षसम्मको अस्थायी आवास अनुमति दिन सर्वसम्मतिले सहमति जनाएको छ ।