कोहलपुर, फागुन २०,
पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ ।
नेपाल आयल निगम सञ्चालक समितिको हिजोको बैठकले गएराति १२ बजेदेखि नै लागू हुने गरि पेट्रोल, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको हो । यो सँगै पेट्रोललिटरको १५० रुपैयाँ पुगेको छ भने डिजल र मट्टीतेल लिटरको१३३ रुपैयाँ कायम भएको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको वृद्धिले घाटाको दर ह्वात्तै बढेको भन्दै निगमले एकै पटकमा ५ रुपैयाँका दरले मूल्य बढाएको हो।खाना पकाउने ग्यासको मूल्य भने बढेको छैन ।
निगमले खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ६६५ रुपैयाँ ३४ पैसा घाटा भइरहे पनि मूल्य नबढाउने निर्णय गरेको जनाएको छ । हवाई इन्धनको मूल्य पनि समायोजन भएको छ । यो मूल्य समायोजनपछि पनि निगमलाई १५ दिनमा २ अर्ब ५० करोड घाटा हुने सह–प्रवक्ता पुष्कर कार्कीले बताए ।
निगम सञ्चालक समितिले आर्थिक संकट गहिरिएको भन्दै कर्मचारीलाई दिँदै आएको पोसाक संरक्षण खर्च कटौती गर्ने निर्णय पनि गरेको छ । रुस–युक्रेन युद्धका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य अकासिएको छ । अन्तर्राष्ट्रिय बजारमा हिजो कच्चा तेलको मूल्य प्रतिव्यारेल १२० डलर पुगेको छ ।