कोहलपुर, फागुन १२,
रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको छ ।
रुसी सेनाले बिहीबार बिहानदेखि नै युक्रेनको विभिन्न क्षेत्रमा आक्रमण सुरु गरेको छ । युक्रेनस्थित विमानस्थलमा रुसले पहिलो हवाई आक्रमण गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले खबर लेखेका छन् । हालसम्मको अवस्थामा आक्रमणमा परेर ९ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । रुसले युक्रेनको राजधानी किवमा अहिले आक्रमण गरिरहेको छ भने सीमानामा रहेका युक्रेनी सेनाले रुसी सेना युक्रेनमा प्रवेश गरिसकेको बताएको छ । यसैबीच रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि विश्वका विभिन्न मुलुक र निकायले प्रतिक्रिया जनाएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडनलेरुसले गरेको कारबाहीको कुनै कारण नभएको र यो अनुचित भएको बताउनुभएको छ भने बेलायतका प्रधानमन्त्री बोरिस जोन्सोनले रुसको यो आक्रमण युरोपका लागि सह्य नहुने र यसको जवाफ दिने बताए छ । यस्तै संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेर्रसले मानवताका आधारमा रुसलाई आफ्नो सैनिक फिर्ता बोलाउनका लागि अपिल गर्नुभएको छ । नेटोले पनि रुसले युक्रेनमाथि गरेको आक्रमण अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन भएको बताएको छ ।