कोहलपुर, फागुन १२,
रुकुम पूर्वमा टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् ।
जिल्लाको भूमे गाउँपालिका ४ को झिङ्गेटारमा आज बिहान बा २ क ७०१८ नम्बरको टिप्पर दुर्घटना हुँदा पुथाउत्तरगंगा गाउँपालिका १४ का अन्दाजी २५ वर्षका गोविन्द बुढा र भूमे गाउँपालिका ५ उपल्लो साकिमका २५ वर्षका दामु बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सुचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेन्द्र बाँनीयाले जानकारी दिनुभयो ।दुर्घटनामा घाईते भएका ४ जनालाई उपचारको लागि रुकुम पूर्व अस्पतालमा ल्याइएको थियो ।
गम्भीर घाईते भएका दुई जनाको उपचारको क्रममा मृत्यु भएको बाँनीयाले बताउनुभयो । दुर्घटनामा परी लामा कन्स्ट्रक्सनका सव इन्जिनीयर दोलखाका अन्दाजी ३५ वर्षका ध्रुव घिमिरे र उदयपुर चौबन्दिगढी नगरपालिका ५ का २३ वर्षका रामआशिस चौधरी घाइते भएका छन्। दुवै जनाको अहिले रुकुम पूर्व अस्पतालमा उपचार भइरहेको छ। घिमिरेको अवस्था गम्भीर रहेको प्रहरी जनाएको छ । प्रहरीले टिप्पर चालक दोलखाका ३२ वर्षका सन्तोष माझीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । टिप्पर सडकदेखि करिब १५ मिटर तल खसेको थियो ।