कोहलपुर, माघ १२,
राष्ट्रियसभा सदस्यको लागि बुधबार मतदान हुँदैछ ।
१९ सिटका लागि सात प्रदेशका १४ मतदान केन्द्रमा बिहान ९ देखि ३ बजेसम्म मतदान हुन लागेको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सात प्रदेशबाट दुई हजार २५ जनाले मतदान गर्ने जानकारी दिए । उनका अनुसार पाँच सय ३२ जना प्रदेशसभा सदस्य र १४ सय ९३ जना स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् ।
राष्ट्रिय सभामा रिक्त १९ पदका लागि ४३ जनाको उम्मेदवारी परेको छ । चुनावमा सत्ता गठबन्धनका पाँच दलले संयुक्त उम्मेदवारी दिएका छन् । प्रमुख प्रतिपक्षी दल एमालेले मधेस प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग सहकार्य गरे पनि अन्य प्रदेशमा एकल उम्मेदवारी दिएको छ । महामारीको समय भएकाले मतदानका लागि स्वास्थ्य मापदण्ड लागू भएको आयोगले जनाएको छ ।
आयोगले लागू गरेका सम्पूर्ण स्वास्थ्य मापदण्ड पूरा गर्न सबै मतदातालाई अनुरोधसमेत गरेको छ । राष्ट्रिय सभाका १९ सांसदको फागुन २० गते पदावधि सकिँदैछ । पदावधि सकिनु भन्दा एक महिना अगाडि नै चुनाव हुन लागेको हो ।