कोहलपुर, माघ ६,
जुम्ला हिमाली क्षेत्रका किसानहरूले जलवायु परिवर्तनका कारण कृषिजन्य उत्पादन घट्दै गएको बताएका छन् ।
जुम्लामा केहि वर्ष यता हिउँ समयमा नपर्ने, परेपनि कम पर्ने, कुनै वर्ष पर्दै नपर्ने र अधिक वर्षा हुने लगायतका कारण कृषिजन्य उत्पादन घट्दै गएको हो । हिउँले ढाकिएका जमिनमा माटो रसिलो हुने र मल खेतबारीमा भिज्ने हुँदा बाली फस्टाउने गरेको थियो । पहिले चाँदीझै टल्कने जुम्लाका डाँडापाखा अहिले उराठलाग्दा देखिएका छन् । जुम्लाको सिंजा गाउँपालिका २ का ६८ वर्षका खडानन्द आचार्यले आफु सानै छँदा घरको पहिलो तला हिउँले डुबाउने भएकाले कार्तिक महिनामै पर्याप्त अन्न कुटानी पिसानी गरेर राख्नुपर्ने, घाँस दाउराको जोहो गर्नुपर्ने भएपनि अहिले मुस्किलले एक फिट पर्ने हिउँ एक साता पनि नटिक्ने बताए ।
सामान्य तया स्याउ वैशाख मा फुल्नेभएपनि केहि वर्षयता कार्तिक महिनामा पनि स्याउ फुल्न थालेपछि यो जलवायु परिवर्तनबाट परेको असरको प्रमाण भएको कतिपय बताउँछन्। जुम्लामा स्याउ खेती शुरु गरिएको आधा शताब्दी नाघिसकेको छ । स्याउ खेति गर्ने क्षेत्रफल बढेपनि स्याउ उत्पादन घटिरहेको छ । भिरालो जमिनमा सिंचाईको सुविधा पनि नहुने सँगै वर्षेनी हिमपात पनि घट्दै गएपछि, विगतमा लगाइएका स्याउ र ओखरका विरुवा सुक्दै गएका छन् । जसको कारण बढ्दो खडेरीलाई मानिएको छ ।