कोहलपुर, पुष २५,

नेकपा एमाले बाँकेको नयाँ नेतृत्व चयन गरिएको छ ।

नेपालगञ्जमा सम्पन्न ८ औं अधिवेशन मार्फत नयाँ नेतृत्व चयन भएको हो । एमाले बाँकेको अध्यक्षमा किस्मतकुमार कक्षपती चुनिएका छन् । यस्तै नेकपा एमालेका २० जिल्लामा नयाँ नेतृत्व छानिएको छ । नेकपा एमाले बाँकेको उपाध्यक्षमा पत्रकार डिल्ली बिसी निर्विरोध निर्वाचित भएका छन् । जिल्ला अधिवेशनको केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट एकसाथ उद्घाटन गरे ।

एमाले प्रचार विभाग उपप्रमुख नेता विष्णु रिजालका अनुसार ६४ जिल्लामा अधिवेशन चल्दै गर्दा कपिलवस्तुमा डम्बर शर्मा र नवलपरासी पश्चिममा दीपेन्द्र अधिकारी चुनावबाट अध्यक्षमा निर्वाचति भएका हुन् । बाँकी १८ जिल्लामा भने सहमतिबाटै अध्यक्ष छानिएको पनि नेता रिजालले बताए । उनका अनुसार एमालेको झापा अध्यक्षमा दीपक कार्की, पाल्पामा धनेन्द्रराज घिमिरे, दाङमा हुकुमबहादुर बस्नेत, डोल्पामा शेरबहादुर बुढा, सल्यानमा गोविन्द पुन र बर्दियामा लालबहादुर श्रेष्ठ सहमतिबाटै चुनिएका हुन् । धादिङमा भूमि त्रिपाठी, अर्घाखाँचीमा पीताम्बर भुसाल, मोरङमा ऋषिकेश पोखरेल, काभ्रेमा अशोक ब्याञ्जू, भक्तपुरमा बचन देउजा, गुल्मीमा बालसिंह काउछा अनि खोटाङमा रामप्रसाद दङ्गाल अध्यक्षमा चयन भएका छन् ।

सप्तरीमा ताराकान्त चौधरी, तनहुँमा श्रीप्रसाद श्रेष्ठ, धनकुटामा इन्द्रमणि पराजुली र रसुवामा कर्णेल लामा सहमतिबाटै अध्यक्ष चयन भएको पनि एमाले प्रचार विभाग उपप्रमुख विष्ष्णु रिजालले जानकारी दिए । आज साँझसम्ममा सबै जिल्लाको नेतृत्व छानिने अपेक्षा गरिएको नेकपा एमाले कार्यालय सचिब डा. भिष्म अधिकारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.