कोहलपुर, पुष २२,

कोहलपुर सब वन डिभिजन कार्यालय बाँकेले दाउरा बेच्न सुरु गरेको जनाएको छ ।

वन कार्यालयले बिहीबारदेखी सर्वसाधारणलाई कार्यालयको परिसरबाटै दाउरा बेच्न सुरु गरेको हो । सब डिभिजन वन कार्यालयले बेच्ने दाउरा प्रतिकिलो ९ रुपैया पर्ने कोहलपुर सब डिभिजन वन कार्यालयका सहायक वन अधिकृत राज बहादुर चौधरीले बताएका छन् । चौधरीले गत वर्ष प्रतिकिलो ८ रुपैयाँ पर्ने दाउरालाई यस वर्ष १ रुपैयाँ बढाएर ९ रुपैयाँमा बेचेको बताए ।

उनले लामो समयसम्म राखेको दाउरा धेरै सुकेको हुनाले तौल कम पर्ने तथा गाडीभाडा सहित जोडेर ९ रुपैयाँमा बेच्न परेको बताए । विगत केही दिनदेखि चिसो ह्वात्तै बढेको छ । शीतलहर र हुस्सुका कारण कोहलपुरको जनजीवन प्रभावित बनेको छ । बालबालिका, ज्येष्ठ नागरिक तथा अशक्त नागरिक बढी प्रभावित बनेका छन् । जिल्ला वन कार्यालयको समन्वयमा पैसा बुझएपछि दाउरा दिने गरेको र सोही दाउरा उपभोक्तालाई बेच्ने चौधरीले बताए । वन कार्यालयले ६ ट्रक दाउरा माग गरेको थियो जसमध्ये १ ट्रक दाउरा आईसकेको र बाँकी आउन बाँकी रहेको छ ।

हाल कोहलपुरमा निशुल्क दाउरा वितरणको भएको छैन । कुनै पनि स्थानीय तहले निशुल्क दाउरा वितरणको लागि कुनै कुरा नगरेका कारण निःशुल्क दाउरा नदिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.