कोहलपुर, पुष ९,

चालु आर्थिक वर्षको ५ महिनामा पुँजीगत बजेट खर्च करिव ८ प्रतिशत मात्रै भएको छ ।

सरकारले लिएको लक्ष्य अनुसार हालसम्म पुँजीगत बजेट खर्च ३० प्रतिशत हुनुपर्ने भएपनि हालसम्म लक्ष्यभन्दा २२ प्रतिशत कम अर्थात ७.३४ प्रतिशत बजेट खर्च भएको छ । आर्थिक वर्षको अन्त्यमा पुँजीगत अर्थात विकास बजेट अत्यधिक मात्रामा खर्च हूँदा अनियमितता, भ्रष्टाचार र गुणस्तरहीन निर्माण हुने भन्दै सरकारले चालु आर्थिक वर्षको सुरुदेखि खर्च बढाउने लक्ष्य लिएको थियो ।

निर्माण सम्पन्न भएका योजनाको समयमै भुक्तानी नदिँदा पुँजीगत खर्च नबढेको निर्माण व्यवसायी महासङ्घका महासचिव रोशन दहालले बताए । बजारमा लगानीयोग्य रकमको अभाव हुनुलाई पनि विकास बजेट खर्चको लक्ष्य कार्यान्वयन नहुनुको कारण हो भन्ने एकथरीको मत छ । विगतका वर्षहरूको तथ्याङ्क हेर्दा पुस मसान्तसम्म पुँजीगत खर्च अधिकतम १५ प्रतिशतसम्म पुग्ने गरेको छ । साउनदेखि असोजसम्म कुल बजेटको १० प्रतिशत, कात्तिकदेखि प्रति महिना १० प्रतिशतका दरले खर्च गर्ने लक्ष्य नै महत्वाकाङ्क्षी भएको अर्थ मन्त्रालयका प्रवक्ता रितेश शाक्यले बताए ।

खरिद नियमावलीको संसोधन नभएका कारण पर्याप्त समय हुँदासम्म ठेका, छनौट प्रक्रियामै अल्झिने तर आर्थिक वर्षको अन्तमा विकासनिर्माणको गति र मात्रा बढाउनुपर्ने अवस्था रहेको विज्ञहरू बताउँछन् ।

 

Leave a Reply

Your email address will not be published.