बिधुत्मा रैका,
कोहलपुर, पुष ५,

बारबर्दिया नगरपालिका वडा नम्बर ४ पदनाह बर्दियाकी दीपा भट्टराईको जीवन संघर्ष हो यो । दीपालाई जीवन के हो रु थाह छैन । उनी जन्मेको ११ वर्ष बित्यो तर पनि उनलाई ११ दिनको पनि महशुस भएको छैन । वि.सं. ०६८ सान ६ गते आमा बाल कुमारी कंडेल तथा बुवा लिला बल्लौ भट्टराईको काखबाट पहिलो सन्तानका रुपमा जन्मिएकी थिईन् । पहिलो सन्तान जन्मिएकोमा उनीहरु लगाएत हजुरआमा सावित्रा भट्टराई र अन्य परिवार खुशी भए । तर दीपाको जन्मले खुशी भएका उनीहरुलाई सधै दुखाईरहेको छ । उनी कहिल्यै बस्न सकिनन्, कहिल्यै पाईला चालिनन्, कहिल्यै तोते बोली बोलिनन्, न त कहिल्यै हाँसिन् ।

दीपा मुढाझैं ओछ्याउनमै लडिरहेकी हुन्छिन् । घरको दलानमा एउटा खाट राखिएको छ । उनको सम्पूर्ण समय दलानको खाटमा सुतेरै बितिरहेको छ । बाटो छेउमै घर, आगनमा ईट्टाहरुको थुप्रो छ । आगनभरी फूलहरु छन् । उनी सुतेको दलानमा सबेरै घाम पर्छ । घामको प्रकाशले संसार उज्यालो भए पनि दीपाको जीवन भने अँध्यारो छ । हात, छाती, पिँठ्यु, पैतालासहित सबै अंग बेलाबेलामा बाँगिरहन्छन् । त्यसैले उठेर हिँड्डुल त के बस्न र बोल्न पनि सक्दिनन् । टाउको ठाडो हुँदैन । हातखुट्टा चल्दैनन् । मुढाझैं लडिरहने दीपालाई बेला–बेला अरूले ओल्टाइपल्टाइ गर्नुपर्छ । दिसापिसाब पनि ओछ्यानमै गर्छिन् । अरूले सोहोर्नुपर्छ ।

ओछ्यानमै बेस्सरी बर्बराउँछिन्, काप्छिन् , छिन्छिन्मा बेशोस् हुन्छिन् । उनको उपचारको लागि नेपालगञ्ज, काठमाण्डौ, भारत लगायतका विभिन्न अस्पाताल लगियो तर पनि निको हुन सकेन । लाउँ–लाउँ, खाउँ–खाउँ गर्ने उमेर छ । तर, ओछ्यानबाट उठ्न सक्दिनन् । जन्मिँदै शारीरिक अपाङ्ग भएकी उनी ओछ्यानमा मुढो लडेजस्तै लडेकी थिईन् । उनीहरुको घरको आर्थिक अवस्था निकै कमजोर भएका कारण उनको उपचारमा निकै समस्या भएको उनकी आमा बाल कुमारीले बताईन् । उनी भन्छिन्,–‘बाहिर जस्तो देखिन्छ मान्छे भित्र त्यस्तो नहुने रहेछ । आर्थिक अवस्था कमजोर भएकाले ठूलो अस्पतालमा लैजान सकेनौं । अब त निको पनि हुँदैन होला । छोरीले ओछ्यानमै दिशा पिसाब गर्नाले सारै दुःख छ । कही कतैबाट डाईपरको व्यवस्था भैदिएको भए हुन्थ्यो भन्ने लाग्छ ।’

डाक्टरहरूले बिरामीको तालुमा पानी नभएकोले शारीरिक अपांगता भएको बताएका छन् । उनकी हजुरआमा सावित्राले नातिनीको कपाल मुसार्दै भनिन्,–‘उठेर बस्नेसम्म भए पनि सजिलो हुने थियो । ढुक्कले मर्न पाइन्थ्यो । कति दिन मुढाझै लडेकी हेरी राख्नु ?’ उनको यो प्रश्नको उत्तर कसैले दिन सकेका छैनन् । उमेरले डाँडाँपारीको घाम जस्तै बनेकी सावित्रा बिहानदेखि राति नसुतेसम्म नातिनीको हेरचाह गर्छिन् । खाटमा लडिरहने दीपालई बेला–बेला ओल्टो–कोल्टो फर्काउनुपर्छ । उनलाई अरूले खाना ख्वाउनुपर्छ । नुहाइदिन तीन जना चाहिन्छ । यो काम उनकी ठूलीआमाले गर्दै आएकी छन् ।

उपचार गर्न मन छ तर धन छैन । यस्तै पीडाले दीपाको परिवार छटपटाइरहेको छ । ‘खोइ अब के गर्ने होला रु हजुरआमा सावित्रा भन्छिन्,–‘एउटा घर देखाउँदै आफैंसँग प्रश्न गरे, ‘भएको सम्पत्ति यही घर हो । कसरी कहाँबाट पैसा ल्याउनु कसरी नातिनिको ओखती गर्नु ?’ दीपाले वडाको सिफारिस र डाक्टरले जाँच गरेर छुट्ट्याइदिएको अपांगताको वर्गका आधारमा भत्ता ‘क’ वर्गको पाउँदै आएकी छिन् । वडा अध्यक्ष मान बहादुर थारुका अनुसार परिवारको आर्थिक अवस्था तथा बिरामीको शारिरिक अपाङ्गताको अवस्थाका आधारमा उनलाई ‘क’ वर्गको भत्ताको लागि सिफारिस गरेको बताउँछन् । वडा अध्यक्ष थारु भन्छन्,–‘म बिरामीको अवस्था बुझ्न आईएरहन्छनु । हामीले अहिले ह्वील चिअर मात्रै दिन सकेका छौ । बाँकी सहयोगको लागि पनि पहल गरिरहेका छौं ।’

कसलाई हुँदैन र बाँच्ने रहर । ओछ्यानमा संघर्षरत दीपालाई आफू बाँचे नबाँचेको पनि पत्तै छैन । खाटमा बर्बराईरहने उनी राम्ररी होस् आएको बेला भने उनका आँखा नाच्न थाल्छन् । आँखाकै भाखामा बोल्न खोज्छन् । आँखा झिम्क्याउँदा लाग्छ, ‘मलाई बचाउनुस् म नयाँ जिन्दगी बाँच्न चाहन्छु ।’ नातिनीको अवस्था दिनदिनै दयनीय हुँदै गएकाले बचाइदिन आग्रह गरेकी छन् । आफूसंँग सम्पत्ति नभएकाले सबैले सहयोग गरे नातिनीले नयाँ जिन्दगी पाउने आशा रहेको सावित्राको भनाई छ । आफन्त छरछिमेकी सबैले उनीहरुलाई चिन्ता नलिन भनिरहन्छन् । तर, परिवारको मन मान्दैन । हजुरआमा भन्छिन्,–‘सबै जना चिन्ता नलिनु भन्छन् । तर, नातिनीको यस्तो हविगत हेरेर कसरी मन थाम्नु’ उनको आशा छ, कसैले सहयोग गरे त नाति उपचार पाएर हिँड्डुल गर्न सक्ने हुनेछन् । तर, घरमा पैसा नै छैन । ‘यही ओछ्यानमै जिन्दगी जाने भयो’, उनले भनिन्, ‘मर्नु न बाँच्नुका दीपालाई सहयोगी हातको खाँचो छ ।’

Leave a Reply

Your email address will not be published.