काठमाडौं- चितवनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकट रंगशाला बनाइरहेका हास्य कलाकार सीताराम कट्टेल धुर्मुसले सरकारको यथेष्ट सहयोगको जरुरत परेको बताएका छन् ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग बिहीबार भेट संवाद गर्दै धुर्मुसले नागरिकहरूको सहयोग, सद्भावले मात्रै क्रिकेट रंगशाला ठडिन गाह्रो भएकाले सरकारले नै सहयोग गनुपर्ने खाँचो औंल्याएका हुन् ।भेटका क्रममा धुर्मुसले आफूहरू राज्यलाई सघाउने अभियन्ता भएको र क्रिकेट रंगशाला पनि सरकारको समृद्धिको अभियानको एउटा अंग भएको जिकिर गरेका थिए ।
भेटका क्रममा धुर्मुस निकै भावुक भएको पोखरेलको सचिवालय बतायो । “म त टुहुरोजस्तो अनुभूत गरिरहेको थिएँ, बल्ल ‘बल्ल सरकार छ, राज्य छ भन्ने महसुस भयो, हामीेले निकै पीडा भोग्यौं, धेरैपटक बुढाबूढी रोएका छौँ,” धुर्मुसको भनाइ उद्धृत गर्दै पोखरेलको सचिवालयले भन्यो ।
उपप्रधानमन्त्री पोखरेलले प्रेरणादायी, प्रसंशनीय कार्य गरेको भन्दै धुर्मस–सुन्तली फाउन्डेशनलाई सहयोगको वचन दिएको सचिवालयले बताएको छ ।“अनुकरणीय काम गर्नुभएको छ, जुन सपना देख्नुभयो, त्यसमा चुनौती पनि आउँछन्, तर दृढतापूर्वक लाग्नुपर्छ, सबै उठेका प्रश्नको जवाफ कामले दिनुपर्छ,” पोखरेलको भनाइ उद्धृत गर्दै सचिवालयले भन्यो ।
अहिलेसम्म विभिन्न क्षेत्र र दाताबाट ३३ करोड संकलन भएकोमा ४६ करोड भन्दा बढी खर्च भइसकेकाले १३ करोड ऋण रहेको धुर्मुसले बताएका थिए ।रकमको जोहो भए ६ महिनादेखि एक वर्षसम्ममा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तयार हुने उनले विश्वास व्यक्त गरेका थिए ।
“हाम्रो कुनै स्वार्थ छैन । विशुद्ध कलाकार हो । जे गरेका छौँ, राष्ट्रका लागि गरेका हौँ । अन्तर्राष्ट्रियस्तरको सबै मापदण्ड पालना गरेर रंगशाला निर्माण गरिरहेका छौं ।सहयोगी मनहरूको सदभावले अगाडि बढ्न धेरै ठूलो ऊर्जा लिइरहेको छ । त्यसैले कोरोनाको विषम परिस्थितिमा पनि काम रोकिएको छैन्,” भेटमा धुर्मुसले भनेका थिए ।