बुद्ध शब्द सुन्न साथ अहिंसा, करुणा, प्रेम, दया र दान आदि प्राणी हितसँग जोडिएर आउँछ । बुद्ध दर्शनमा शील, समाधि र प्रज्ञाको क्रमिक अध्ययन र अभ्यासबाट बुद्ध हुन्छ । शील नभए समाधि हुँदैन, समाधि नभए प्रज्ञा आउदैन र प्रज्ञा नभए बुद्ध हुँदैन ।
त्यसैले शील राम्रोसँग पालन गर्नु अपरिहार्य छ । बौद्ध दर्शनमा मानिसको क्षमता अनुसार धेरै प्रकारको शीलहरु । शील भनेको आफू र अरु प्राणीहरुलाई हानी नपुर्याउने मात्र नभई मन, वचन र कर्म(काम)ले हित उत्तम र सत्य व्यवहार, नियम, अनुशासन हो । शीलमा नरहेसम्म मनलाई शुद्ध बनाउन सकिन्न । शुद्ध मन भनेको अज्ञानता, रिस, राग, ईष्र्या र घमण्ड जस्ता क्लेश, अवगुण वा दोषहरु कम हुँदै अन्तमा पुरा हट्नु हो । शील क्लेशहरुबाट मुक्त हुने जग अथवा आधार हो । धेरै प्रकारको शीलहरु भए तापनि केही शीलहरु शाकाहारीसङ्ग संबंधित भएको यहाँ छोटकरीमा चर्चा गर्न चाहान्छु ।
प्रतिमोक्ष शीलः
१. पन्चशील अथवा उपसाक उपसिका शीलः
क. हत्या नगर्नु । ख। चोरी नगर्नु । ग। व्यभिचार नगर्नु । घ। झुठो नबोल्नु । ङ। मादक पदार्थ सेवन नगर्नु ।
२. आठ शीलः
क. हत्या नगर्नु । ख. चोरी नगर्नु । ग. व्यभिचार नगर्नु । घ. झुठो नबोल्नु । ङ. मादक पदार्थ सेवन नगर्नु । च. अकाल(दिउसो १२ बजेपछि)भोजन नगर्नु । छ. उच्च आसानमा नबस्नु । ज. गित, सङ्गीत, नृत्य नगर्नु र सुगन्ध, माला आदि नलगाउनु ।
३. श्रमणेर र श्रमणेरिका शीलः
यो शीलमा मुख्य चारवटा र सहायक छवटा छन् । यसलाई थप वर्गीकरण गर्दा छत्तिससम्म गर्न सकिन्छ ।
मुख्य चारवटाः
क. हत्या नगर्नु । ख. चोरी नगर्नु । ग. झुठो नबोल्नु ङ. यौन क्रिया नगर्नु ।
सहायक ६ वटाः
च. मादक पदार्थ सेवन नगर्नु । छ. अकाल(दिउसो १२ बजेपछि)भोजन नगर्नु । ज. उच्च आसानमा नबस्नु । झ. असक्तिका साथ गित, सङ्गीत, नृत्य नगर्नु । ञ. गरगहना तथा सुगन्ध नलगाउनु । ट. सुन, चाँदी तथा ठुलो रकम नराख्नु ।
४. भिक्षु र भिक्षुणी शीलः
श्रमणेर र श्रमणेरिका शील माथी थापेर जम्मा २५३ शीलहरु छ्न । अहिले यी सबै शील पालन गर्ने अपवादमा मात्र पाइन्छ भन्दा फरक नखाला भने पनि हुने अवस्थ छ ।
यी माथी उल्लेखित शीलहरु प्राय प्रतिमोक्षको शीलहरु हुन । यी शीलहरु शरीर र वचनले मात्र पालन गरे हुन्छ । मनले सोचेर शील नजाने भएको हुनाले सजिलो छ । तर विचार नगर्दा महायान (बोधिचित र वज्रयान)को शील भन्दा गाह्रो सम्झिन्छन । बोधिचित र वज्रयानको शील मनले अरु प्राणीहरुलाई सहयोग गर्न सकिने अवस्थ हुँदाहुँदै सहयोग नगर्ने सोच आउन साथ जाने वा नगए पनि खोट लाग्छन् । त्यसैले यो शील गएको पत्तै नपाउन पनि सक्छ र पालन गर्न वास्तवमा अति गह्रौ छ । तर मर्मत गर्न र पुनः लिन सकिन्छ । प्रतिमोक्षको शील यो जीवनमा एकपटक गएपछि पुनः लिन सकिन्न ।
शाकाहारी जीवनसँग जोडेर माथिको शीलहरु मध्ये सबैको पहिलो पाँचवटा शीलहरु साझा छन् ।
क. हत्या नगर्नु । ख. चोरी नगर्नु । ग. व्यभिचार नगर्नु । घ. झुठो नबोल्नु । ङ. मादक पदर्थ सेवन नगर्नु ।
क. हत्या नगर्नुः
कतिपयले सोच्ने गर्छन् मैले मारेको होइन । आजकाल हत्या नगरी माछा मासु प्राप्त गर्न सकिन्न भन्ने सबैलाई थाहा छन् । मार्नेले मासु किन्न आउनेहरुको लागि भनेर मारेको हुनाले उसको लागि मारेको नै हो । कतिले त मेरा लागि यति किलो माछा र मासु भनेर राखेको हुन्छ । त्यसैले मासु खाएमा एक नम्बरको हत्या नगर्ने शीलमा खोट वा दोष लाग्दछ ।
ख. चोरी नगर्नुः
त्यो जनावरले हाम्रो जस्तो सबैभन्दा अमुल्य शरीर खाउ भनेर नदिएको हुनाले चोरी मात्र नभएर डाका नै गरेको दोष लाग्दछ ।
ग. झुठो नबोल्नुः
हत्या र डाकाबाट प्राप्त मासु खाएर पनि पाप लाग्दैन भनेपछि ठूलो झुठो बोलेको हो ।
घ. व्यभिचार वा यौन नगर्नुः
कतिपय मासुले यौन शक्ति र ईच्छा जगाउने भएको हुनाले वलात्कार र हत्यासम्म गर्न प्रेरित गर्छन् ।
ङ. मादक पदर्थ सेवन नगर्नुः
मासु भएमा मादक पदार्थ सेवन गर्नमा सहयोग पुग्दछ ।
बोधिचित शीलः
बोधीचित शील मन, वचन र कर्म सबैले अरु सम्पुर्ण प्राणीहरुलाई दुःख नदिने मात्र नभई सुख दिने र अन्तमा बुद्धको भूमी वा स्थान प्राप्त गराउने सोच र ब्यवहार गर्ने वाचा हुन् ।
५. शरणमा जाने शीलः
बुद्ध धर्मावलम्बी हुनाको लागि बुद्ध, धर्म र संघको शरणमा जाने शील लिनै पर्दछ । बुद्धको शरणमा जानू भनेको बुद्ध हुनु हो । बुद्ध हुनाको लागि बुद्ध बाहेक अरुको शरणमा गए बुद्ध हुन सकिदैन । त्यसैले बुद्ध बाहेक अरुको शरण जानू हुदैन भनेको हो । धर्मको शरणमा गएपछि अरु प्राणीहरुलाई हानी हुने काम गर्नु हुदैन । हत्याहिंसाबाट मात्र माछा मासु प्राप्त हुने भएकोले मासु खाएमा धर्मको शरण गएको शील विपरीत हुन्छ । तर कतिले यो कुरामा मनन गर्न सकिरहेको हुदैन । संघको शरणमा गएपछि बुद्धको संघ बाहेक अन्यँसँग गहिरो मित्रता बनाएमा बुद्ध दर्शन भन्दा फरक शिक्षा पाएर बुद्ध हुने मार्गबाट बिचलित हुने हुन्छ ।
महायान भन्नुको अर्थ आफू भन्दा अरु प्राणीहरुलाई बढी ध्यान दिने र हित गर्ने सोच र व्यवहार गर्ने अभ्यास हो । सम्पुर्ण प्राणीहरु हाम्रो अघिल्लो जीवनका जन्महरुमा नर्क र सांसारिक देवलोक बाहेक अन्य लोकहरुमा जन्म लिदा आमाको कोखबाट हुने भएकोले सबै प्राणीहरु एकअर्काको आमा असंख्य पटक भइसकेका छन् । त्यसबखत अहिलेकै आमाले झै आफू भन्दा प्यारो गरि हुर्काएको गुण लगाउनु भएको छ । त्यसैले कुनैपनि ती आमा जनावरहरुको हत्या हुन मासु खानले सहयोग गर्दछ ।
बोधिचित शील अन्तरगत धेरै भए तापनि केही यहाँ उल्लेख गर्न चाहान्छु ।
६. प्राणिधिन बोधिचित
मनले नसोचेसम्म शरीर र वचनले मात्र पाप कर्म र पुन्य कर्म गर्न सक्दैन । पापबाट बच्न र पुन्य कामाउन सम्पुर्ण आमा प्राणीहरुलाई मनले हित गर्ने वाचालाई प्राणिधिन बोधिचित भनिन्छ ।
क. आफू र अरु बीच समान सोचको अभ्यास ।
ख. आफ्नो सुख अरुलाई र अरुको दुःख आफुले लिने सोचको अभ्यास ।
ग. आफू भन्दापनि अरु प्रिय र महत्व दिने सोचको अभ्यास ।
यस्तो अति पवित्र सोचाइको अभ्यास गर्ने हो भने कसरी माछा मासु खान सकिन्छ ?
लेखकः भिक्षु आङ फुरि शेर्पा
७. प्रस्थान बोधिचित
प्रस्थान बोधिचित भनेको व्यवहारमा नै अभ्यास गर्नु हो । जसमा छ पारमिता, दस कुशल कर्म, चार अतुलनीय सोच आदि पर्दछ ।
६ पारमिताहरुः
दान, शील, क्षान्ती (सहनु), विर्य (मेहनत), समाधि र प्रज्ञा ।
दान भित्र भौतिक सामग्री, धर्म र जीवनदान अर्थात अरुको ज्यान जोगाउनु पर्दछ । माछा मासु खाएमा जीवन दानको विपरीत ज्यान लिन सहयोग पुगेर दान दिने शीलमा खोट लाग्दछ । मासु नभई खाना नरुच्नेले क्षान्ती वा सहने अभ्यास गर्न सकिन्न । त्यसरी नै विर्य, समाधि र प्रज्ञाको अभ्यास गर्न वाधा पुग्दछ ।
दस कुशल कर्महरुः
क. हत्या नगर्नु । ख. चोरी नगर्नु । ग. अनैतिक यौन सम्बन्ध नराख्नु ङ. झुठो नबोल्नु च. चुक्ली नलगाउनु । छ. अपशब्द नबोल्नु ज. धार्मिक बाहेक फाल्तु गफ नगर्नु । झ. लोभ नगर्नु ञ. हानी गर्ने सोच नगर्नु । ट. मिथ्या दृष्टि नराख्नु ।
दस कुशल कर्म मध्ये क. हत्या नगर्नु । ख. चोरी नगर्नु । ग.अनैतिक यौन सम्बन्ध नराख्नु । घ. झुठो नबोल्नु ङ. लोभ नगर्नु । च. मिथ्या दृष्टि नराख्नु आदि माथी प्रतिमोक्षमा व्याख्या गरे झै माछा मासु खाएमा यी सबैमा दोष लग्दछन् र पाप कमाउछन् ।
चार अतुलनीय भावना र सोचहरुः
क. मैत्री भावः सबै आमा प्राणीहरु सुख र सुखको कारणमा रहिरहुन् ।
ख. करुणाः सबै आमा प्राणीहरु दुःख र दुःखको कारणबाट मुक्त रहिरहुन् ।
ग. मुदिताः सबै आमा प्राणीहरु दुःख रहित परम सुखबाट कहिल्यै अलग नरहुन ।
घ. उपेक्षाः सबै आमा प्राणीहरु पक्षपात, राग र रिस रहित महान समता भावमा रहिरहुन् ।
यो महान अभ्यास गर्ने हो भने माछा मासु खाने कुरा सपनामा आए पनि माफी माग्नु पर्ने हुन्छ ।
८. महायान अन्तरगत वज्रयान शील(समय):
महायानको वज्रयान, तन्त्रयान र मन्त्रयान अभ्यास अभिषेक प्राप्त गरेर मात्र गर्न योग्य हुन्छ । अभिशेक सँगै काय, वाक र चित्तको शील प्राप्त हुन्छ । जसमा प्रतिमोक्ष र बोधिचितको सबै शीलहरु स्वत समाबेश हुन्छ । वज्रयान अभ्यासलाई फलको अभ्यास पनि भनिन्छ । मतलव बुद्ध भएको अवस्थाको अभ्यास अहिले नै गरिने भएकोले फलको अभ्यास भनेको हो । सबै प्राणीहरुमा बुद्ध बीउ रहनु मात्र नभएर बुद्ध बोधिसत्वको रूपमा अभ्यास गरिन्छ । सहिरूपमा अभ्यास गरेमा यस मार्गले अति नै छिटो फल र बुद्ध प्राप्त गर्न सकिन्छ । प्रतिमोक्ष र महायान सुत्रको मार्गलाई कारण वा बीउको यान अथवा कारणको यान र मार्ग भनिन्छ । त्यो बुद्ध प्राप्त गर्ने लामो बाटो हो । यो बिउ वा कारणको यान र फलको यानको फरक उदाहरणको लागि बीउ रोपेर फल खानु र सिधै फल किनेर खानु जस्तै हो ।
वज्रयान अभ्यासमा सबै प्राणीहरुलाई बुद्ध र बोधिसत्वको रूपमा हेरिन्छ भने कसरी उनीहरुको मासु खान सकिन्छ ?
बौद्ध दर्शनमा यस्तो महान उपदेश वा दर्शन भए तापनि किन मासु खाई रहन्छ त भन्दा माछा मासु प्रतिको आशक्ति र गहिरोसँग दर्शन नबुझ्नुले हो । कसैले ती जनावरको मासु खाएर उनीहरुसँग सम्बन्ध कायम गरि मन्त्र जप गरेर ती प्राणीहरु मुक्त गर्छु भन्छ भने त्यो झुठो हो । त्यस्तो शक्ति भएको भए आफ्नो मातापिता, सन्तान र आफन्तको रगत निकालेर र अप्रेसन गरेर मासु खाएर उनीहरुको मुक्त गरे हुन्छ नि । तर कसैको पनि त्यस्तो गर्न सक्ने हिम्मत छैन । ती प्राणीहरुसँग सम्बन्धको कुरा गर्ने हो भने ’झ सबै हाम्रो अघिल्लो जीवनको असंख्य पटक आमा भएर गुण लगाउनु भएको छ । उनीहरुको मासु नखाए पनि मन्त्र जप गरेर मुक्त गर्न सकिन्छ । मासु खाएमा भित्री रूपमा स्वभाविक मैत्री, करुणा र बोधिचित उत्पन्न हुन सकिन्न । बाँच्नु र बचाउनु सबै अधिकार छ । मार्नु र मारेर खानु कसैको अधिकार छैन ।