काठमाडौं, ९ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीको दुईदिने बंगलादेश भ्रमणको क्रममा पर्यटन, कृषि र संस्कृतिका क्षेत्रमा आपसी सम्झौता भएको छ ।
दुईदेशको सम्बन्धलाई अझ प्रगाढ बनाउन यी सम्झौता फलदायी हुने विश्वास लिइएको छ । यसअघि राष्ट्रपति भण्डारीले त्यहाँका समकक्षी मोहम्द अब्दुल हमिदसँग भेटावर्ता गर्नुभयो । भेटवार्तामा आपसी हितका विषयमा छलफल भएको थियो ।
यस्तै राष्ट्रपति भण्डारीसँग त्यहाँकी प्रधानमन्त्री शेख हसिनाले पनि शिष्टाचार भेट गर्नुभएको थियो । दुबै भेटवार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बंगलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्र, बंगलादेशका विदेशमन्त्री डा. एके अब्दुल मोमेनसहित दुवै देशका उच्चस्तरीय प्रतिनिधि सहभागी थिए ।
भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध, पारस्परिक सहयोग र सहकार्यका विषयमा कुराकानी भएकोछ । सोमबार नै यहाँका विदेशमन्त्री डा. मोमेनले राष्ट्रपति भण्डारीसँग अलग्गै शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।
बंगलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दीका अवसरमा आयोजित विशेष समारोहमा बंगलादेशी राष्ट्रपति हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी ढाका पुग्नुभएको हो । नेपाल वायुसेवा निगमको विशेष विमानबाट ढाका पुग्नुभएकी राष्ट्रपति भण्डारीलाई बंगलादेशका राष्ट्रपति हमिदले हजरत सहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो ।
राष्ट्रपतिको भ्रमण दलमा राष्ट्रपतिकी सुपुत्री उषाकिरण भण्डारी, परराष्ट्रमन्त्री ज्ञवालीलगायत उच्च सरकारी अधिकारी सम्मिलित छन् । भ्रमण टोलीमा १९ कलाकर्मी र तीन सञ्चारकर्मीसहित ५४ जना सदस्य छन् ।