सिद्धार्थनगर, ३ फागुन । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अदालतमा विचाराधीन मुद्दामा कांग्रेसले धारणा नबनाउने बताउनुभएको छ ।कांग्रेस रुपन्देहीले भैरहवामा आज आयोजना गरेको विरोधसभामा पूर्वप्रधानमन्त्री देउवाले भन्नुभयो, “अदालतमा विचाराधीन मुद्दाको विषयमा हामी बोल्नु हुँदैन । अदालतले संसद् पुनःस्थापना गरे त्यहीअनुसार गरौँला, चुनाव गर भने चुनावमा जाऔँला ।’’

जुलुसको आधारमा अदालतले निर्णय गर्ने हो भने किन चाहियो कानून भन्दै सभापति देउवाले कम्युनिष्टको झगडाले कांग्रेसमा समस्या शुरु भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यिनको झगडाले हाम्रो पार्टीमा समेत समस्या आइरहेको छ ।”

उहाँले निर्वाचन आयोगको काम प्रभावकारी नभएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “निर्वाचन आयोग किन चुपचाप छ । कुनै पनि संसद्को विघटन भएको छ महिनाभित्र चुनाव गराउनैपर्छ तर निर्वाचन आयोगलाई वास्ता छैन ।”

पूर्वमन्त्री भरतकुमार शाहले प्रधानमन्त्री केपी शर्मा ओलीले जुलुसको लागि तयारी मान्छे तयार गरेर प्रर्दशन गराइरहेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “बुटवल, दरबारमार्ग र धनगढीमा रेडिमेड मान्छे जम्मा गरियो ।” सभामा कांग्रेस नेता बालकृष्ण खाँणले यो संविधानबाट कसैले पनि लोकतन्त्र, प्रजातन्त्रलाई रोक्न सक्दैन भन्नुभयो ।

Leave a Reply

Your email address will not be published.